सुमी लोहनीवस्त्रम् कम गरम्
चलचित्रको कथा अनि याक्टिङ्गको किरो र हिरोइनको कपडाका बीचमा के दुश्मनी छ कुन्नि ? एक अर्कालाई देखी नसहने । अझै बुझेर बुझ्न नसक्या अर्को कुरो चैँ पर्दाका परीलाई मात्रै किन याक्टिङ्गको किरोले टोक्छ र कथाले ‘लुगा नलाऊ’ भन्छ ?

सुमी लोहनी :
आफू त परियो चिलिमानन्दको अति सोझो चेलो चरेसानन्द ! अब यस्तो हलुवाईको कराहीमा च्वाईं पार्या जिलेबीजस्तो सिधासोझो मानुषलाई धेरै दिनदेखि एउटा कुरिकुरी हुने कुरोले चित्तमा मौरीको खिलले झैँ चस्सचस्स गरेर चिलिरा’छ । अब तपैँसँग मनको बह कहँदा के नै पो बिग्रिन्छ होला र ! तपैँबाट यस्तो गुह्य कुरो ‘एक कान दुई कान मैदान’ हुने हैन क्यार ! वास्तवमा कुरो के हो भने नि चलचित्रका चुलबुले चीरयौवनाहरु किन चिरिएका, चिर्थाचार्थी होलीका चीरजस्ता वस्त्र धारण गरेर चिरिच्याट्ट परी चहकिन्छन् भन्ने कुरोको चेतना ज्यान जाला हुन सकेन । अब अबला चपलाहरुले पूरा आङ ढाक्ने वस्त्र किन्न नसकेर नला’का होलान् भन्न पनि अलि नमिल्ला । जे भए पनि रङ्गीन पर्दाका चित्ताकर्षक परीहरूको गोप्य कुरोको चुरो पत्ता लगाई पर्दाफास गर्न नसकुन्जेल चिलिमानन्दको चेलोको चित्त पनि बुझ्दैन ।
हुन त म पनि चानचुने मान्छे कहाँ हुँ र भन्या ! भोट दिन भुसुक्क भुले पनि खुसुक्क नोट लिन नभुल्ने रुपियाँको जमानाको बुद्धिमान् मान्छे पो हुँ त ! अब त्यही बुद्धि धेरै भएकाले होला झलमल्ल घाम लाग्या बेलामा पनि दिमागमा बुद्धिको बिजुली बत्ती झिलिक्क मिलिक्क गरेर बल्न पो थाल्यो ए बा ! हुन त बिचरा बिजुली बत्तीले पनि के गरोस् र ! ‘बेला न कुबेला बजी नेला’ भने झैँ लोडसेडिङ भइहाल्छ । त्यसैले बिचरा ! घाम लाग्या बेलामा नबले कहिले बलोस् त ! आ जे सुकै होस्, आफ्नो त बुद्धिको घैँटोको बिर्को उघ्रिँदै छ । अब त्यही घैँटामा भए पनि दिमागलाई पौडी खेलाउनु पर्यो अनि झिलिमिली पर्दाका आँखै तिरिमिरी पार्ने परीहरूको रहस्यमय दुनियाँमा प्रवेश गर्नु पर्यो क्यारे !
आ हा हा हा ! अब बल्ल मेरो ज्ञान चक्षु खुल्दै छ र मलाई महाज्ञान प्राप्त हुन सुरु भइरहेछ । साँच्चै हो रहेछ, यसमा पर्दापरीहरूको कुनै दोष वा गल्ती रहेनछ । बिचराहरु सारै पीडित पो र’छन् । के गर्नु र चित्रमा वा पर्दामा देखिने उनीहरूको सुकोमल सुन्दर शरीरलाई देख्यो कि याक्टिङको किरोले कताकताबाट सुटुक्क पसेर कुटुक्क टोक्न थालिहाल्दो रहेछ, अनि त बिचरा अबला चपलाहरू गरुन् त के गरुन् ? याक्टिङको किरोले कुटुक्क टोकेर चिलाएपछि सही नसक्नु भएर कन्याउनलाई याक्टिङस्याक्टिङ गर्न छोडेर आडको वस्त्र फुत्तफुत्त नफालीकन सुक्खै रहेनछ उनीहरूलाई । अब किरो पनि कम्ता मापाको रहेछ र भन्या ! चुलबुलीहरूको चर्तिकला देखेर चकित भएको ऊ उनीहरुको रगतको नसा नसामा पसेर टोकेर हत्तुहैरान गर्दोरहेछ ।
अब नसा नभएको ठाउँ त पूरा शरीरमा कही पनि छैन । अनि त याक्टिङ्गको बेसरम किरोलाई के चाहियो र ! छानी छानी मन लागेको ठाउँमा बेरोकटोक गएर स्वाद लिँदै चाख्दै टोक्न उसलाई कस्ले रोक्ने ? अनि किरोले टोकि नै सकेपछि पर्दाका परीहरुलाई कन्याउनका लागि लुगा खोल्न, फाल्न, छोट्याउन कस्ले रोक्ने, कस्ले छेक्ने ? आखिर आत्मनिणर्यको स्वअधिकार यो एक्काइसौँ शताब्दीको रकेट युगमा सबैलाई समान र बराबर छ । अब लामा-लामा अथवा पूरा आङ ढाक्ने लुगा लायो भने त खोल्न, फाल्न, कन्याउन ज्यादै अप्ठ्यारो भइहाल्छ नि ! त्यसैले मितव्ययिता गर्दै जति सक्यो छोटो र कम कपडाको धरो ज्यानमा भयो त्यति सजिलो अथवा टालाटुली बटुली कता कतै यसो टाँसटुस पारे त भइहाल्यो नि ! हैन त आधुनिक जमानाकी जनाना !
हैन, चलचित्रका पर्दाका परीहरुलाई दुःख पीर पनि के केले मात्रै दिन्छ भन्या ! अब हेनुस् त, कहिले चैँ कथाले नै अभिनेत्रीको शरीरमा कपडा भयो भने देख्नेको नेत्रलाई मन नपरी लफडा हुन्छ त्यसैले जति सक्दो ‘वस्त्रम् कम गरम्’ भन्दो रहेछ । चलचित्रको कथा अनि याक्टिङ्गको किरो र हिरोइनको कपडाका बीचमा के दुश्मनी छ कुन्नि ? एक अर्कालाई देखी नसहने । अझै बुझेर बुझ्न नसक्या अर्को कुरो चैँ पर्दाका परीलाई मात्रै किन याक्टिङ्गको किरोले टोक्छ र कथाले ‘लुगा नलाऊ’ भन्छ ? परा अर्थात् पुरुषलाई चै किन यसो भन्दैन ? खै केही बुझ्नै सकिएन बा ! यो रहस्यमय कुरोको चुरो ! तपैँलाई पो यसबारेमा केही थाहा छ कि ?
हुन त कसैलाई केही थाहा नभए नि केही छैन, हेर्ने बुझ्नेलाई चेतना भया ‘के जाती गर्नेलाई भन्दा देख्नेलाई लाज’ भने झैँ आफ्ना आँखा आफैँ छोपी लिया । नछोप्ने भया ‘हन्तकालीले पापा हेर्या’ झैँ हेर्दै रमाइलो र आनन्द मानी लिया । यी फिलिमी कुरा चिलिमानन्दको चेलाले चरेसको सर्को स्वाट्ट लिदै कह्या हुन् भनी बुझी लिया ।
०००
भाटभटेनी
– फित्काैली , अङ्क ४२ (२०८१)
Subscribe
Login
0 Comments
Oldest








































