माधव पोखरेल गोज्याङ्ग्रेमिलनसार उपहार
भोलिका दिनमा अझ कति उपहारका बन्डल, पोका, धोका पाइने हो त्यो गर्भभित्र बसेर तपस्या गरिरहेको होला । कुन दिन फुत्त बाहिर निस्केर हामी सबेको सात्तो खान्छ त्यसको ठेगान छैन ।

माधव पोखरेल ‘गोज्याङ्ग्रे’ :
आउनुस् हजुर यहाँ सबैसँग मिल्ने मिलनसार उपहार पाइन्छ । यो उपहार मिलेर पनि भत्किने, विछोडिन सक्नेलाई पनि उपलब्ध गराउन सकिन्छ । नेपालको राजनीतिमा कोही चिनी छन् त, कोही तिते करेला छन् त, कोही काउसो पनि छन् । ती सबैलाई दिन मिल्ने उपहार नेपाली किसानले उत्पादन गरेका छन् । सबैसँग सधैँ मिल्ने शाकाहारी उपहार लिनु छ भने मांसाहारीले पनि सम्पर्क गर्दा सोहै आना दानाका दाना काँचो, पाकेको, उसिनेको, फ्राई गरेको थरिथरिका परिकार सहितको उपहार शासनमा इज्जत नहुनेले मरेको शासन व्यूताउँछु भन्दै हिँड्नेकालागि विशेष ग्राह्यताका साथ वितरण गरिने बेहोरा अनुरोध ।
यो अवसरको भरपुर फाइदा घाटा तथा व्यथामा सहभागी भएर देशले राज्यले सरकारले उपलब्ध गराएको आलु मुला मुला आलु उपहार लिएर आफैँ धन्य भैदिनु हुन सबैमा हामी रुँदै हाँसो सहितको दुखेसो पोख्दछौँ । हाम्रो चालामालामा कालो तिलको गेडा टाँसिएको देख्ने भोग्ने ढोग्ने सबैमा उपहार लिएर पीडालाई कष्टमा लिएर दुःखलाई समस्या हैरानमा लिएर अघि बढिरहनुभएका पछि सर्न नजान्ने महानुभावहरूमा प्राप्त उपहारको जतन गरेर भए पनि पतन गराउनतिर बढी ध्यान दिनु हुन म गोज्याङ्ग्रे सबैमा हिस्स बूढी हरिया दाँतमा परिणत भैदिन अनुरोध गर्दछु ।
अब बेहोराविनाका बेहोरावालहरूले नेपालको टाउके लाउके फेटा गुँथेर हामी ठेउकेको हुर्मत लिएको कुरा गल्ती नगरे पनि सबैलाई थाहा छ । ढेउके वालाको जमानामा ठेउके पुड्के लेउकेले उपहार पाउने कुरा नै भएन । तर सबैले सधैँ पाउँदै आएको समझा पुरस्कार भने पाउनेछन् । त्यो साझा पुरस्कार भनौँ वा उपहार जे भने पनि सास्ती, दुःख पीडा चाहिँ सरकारले राज्यले दलका तर्फबाट पनि हामी सबेले सहजै रूपमा पाउने गरेकोमा मलाई औँधि झुसीका झुसी खुसी लागेको छ ।
हामी नेपाली पहिलो कुरा औँधी रमाइला मान्छे छौँ । सधैँ आफूले पाएको उपहार वा पुरस्कार पाएर पनि नरुने हाँसी रहने हाम्रो बानीले हामीलाई चुचुरोबाट पनि उपल्लो ठाउँ शिखरमा पुर्याएको छ । शिखरमा पुगेर तिख्खर भएका हामी हाम्रा पुर्खालाई सम्झँदै हाम्रो इतिहासलाई धुमिल्याएर बाग्मतीमा बगाउँदै गोहीको आँसु झार्न सफल भएका छौँ । विगतमा हामीले हामीलाई नै रुवाएर आफ्नै आँसु पिएको र आज पनि सो प्रक्रिया सबैका सामु हिस्सी परेर हिस्स बूढी हरियाँ दाँत भएर टोल्हाइरहेको देख्दै छौँ ।
हामी सरकार, राज्य र दलहरूबाट उपहार पुरस्कार र तिरस्कार पाउने भाग्यमानी नेपाली हुन पाउँदा छातीभित्र चस्स पोल्दैन बरु चिसो भएर मन अमिलो हुन्छ । यसो हुनु पनि हामीले सरकारबाट पाएको अमूल्य उपहार हो । यस्तो उपहार सबै देशका नागरिकले पाउँदैनन् हामी नेपाली अन्य देशका नागरिकभन्दा धेरै प्रकारले भाग्यमानी छौ भन्न मलाई भित्र काँडाले घोचे पनि दुख्छ । तर म नेपाली भएर अरू देशका नागरिकले हालसम्म पाउन नसकेको उपहार पुरस्कारका रूपमा तिरस्कार पाउँदा अत्यन्त अश्रुश्रासित बर्षित सहितको हर्षित पनि छु । यसरी हर्षित हुनेमा म एक्लो होइन सिङ्गो नेपालका नेपाली पनि हुन । यस्तो अवसर अन्य देशका सरकारले दिँदैनन् । नेपाल भन्ने देशको सरकार जस्तो चतुरो, बाठो, बुद्धिमानी र विश्व समुदायले उ ले भन्दा कु ल्याउने, कुम्ल्याउने अरू को पो होला र !भन्या ।
नेपाली सधैँ सबै कुरामा अन्य देशका नागरिकभन्दा धेरै गुणा बढी चढी मानीभन्दा कुनै फरक पर्दैन । किनकि भाग्यमानीको भुतै कमारो हुन्छ तर बढी चढी मानीको राज्य नै कमारो हुन्छ । राज्यले आफ्ना देशका धनी खान नपुग्ने जनताका लागि गरेको योगदान बलिदानभन्दा कम छैन र बलिदानले सिंहदरबारमा बस्ने ठाउँ छैन । यस्तो राम्रो मीठो स्वादकोआलो उपहार दिने सरकार राज्य र दलहरूलाई हामी नेपालीले कालो टालो उपहार नदिई रहन सकिन्न । जनताका तर्फबाट जनतालाई यति धेरै उचाइमा लैजाने सरकार, राज्य र दलहरूलाई फल प्राप्त होस् भन्ने कामना गर्न चाहन्छु । के फलभन्दा आफल उपहार र पुरस्कार दिएर गुन लाउनुपर्छ भन्ने ठानेको छु । यी पुरस्कार र उपहार हाम्रो समाजमा सबैभन्दा मिलनसार र सदाबहार पनि हुन भन्दा कुनै फरक पर्दैन ।
पुरस्कार र उपहारका नाममा वर्षौंदेखि तिरस्कार हात पार्न सफल हामी भाग्यमानी नेपालीको पुर्पुरो चाहिँ जति चोट खाए पनि नबाङ्गिने ननाङ्गिने सधै सोझोको सोझै भएर बस्ने अचम्मको छ । हुन् त हामी नेपाली नै विश्वका मानव भन्दा अचम्मका छौँ । विनास काले विपरीत बुद्धि भनेझैँ विकास काले अग्रगामी शुद्धिका पछौटे नायक भएर चिनिनुपरेको कुरा कही कतैबाट लुक्न नसक्नु पनि हाम्रो अहोभाग्य नै हो । सुन्दर देशका सुन्दर नेपाली नागरिक भएर बाँच्न पाउने अधिकार हामीले यस्तै कालामनका धनी सफा मनका गरिबहरूबाट लुटाएको, फुटाएको, नेप्ट्याएको, चेप्ट्याएको छौँ । अझ भन्ने हो भने हामीलाई घोप्ट्याएर राज्यले स्वागत सत्कार र उपहार पुरस्कार प्रदान गरेको छ ।
हामी यसतै खाले उपहार पुरस्कार र हाईहाईमा रमाएर आफैलाई बाई बाई भनिरहेका छौँ । आजको अवस्थासम्म आइपुग्दा पनि नचेतने हामी हामी हिजोभन्दा पनि अझ पछि फर्केका छौँ भन्ने बुद्धि र शुद्धि घाममा सुकाएर राख्छौँ र राखिरहेका छौँ । भोलिको आफ्नो र सन्ततिको भविष्यमा कालो पोतेर, तुवालो कुहिराले स्वागत गर्ने हामी आफैँलाई सरकारले दिँदै आएको आहतको पुरस्कार थापेर कहाँ अल्मलिरहेका छौँ ? हामी आफैलाई जानकारी छैन । लाटामा महालाटा पनि हामी नै बाठोमा महाबाठो, गोज्याङ्ग्रे र सद्धे पनि हामी नै छौँ । भिरको चिण्डो भएर खीर खाँदै बस्न रुचाउने हामीलाई थाङ्नामा सुताएर आफूहरू लाखौँको पलङमा पिङ खेल्नेहरूले सायद मिलनसार मानेर होला उपहारमाथि उपहार दिएको ।
बाँदरको पुच्छर लौरो न हतियार भनेझैँ हाम्रा लागि के चाहिने हो भन्ने कुरा थाहा नपाउने मुलन्खरेहरूले गरेको प्रतिवद्धता आफैँले कुल्चिएर धुलो बनाएका छन् । हामीलाई दिने उपहारमा पनि चोट र खोट मिसिएको हुन्छ । चोटमा खोट मिसिएकै कारणले गर्दा हामीलाई सत्ताको सातोले पोल्छ दुख्छ । सत्ताको खालमा परेर माला मालपछि बेहाल हुनेहरूले भोगे तर पनि चेत्न सकेको देखिँदैन । सत्ताको सातु मुखमा हालेर फुपू भन्नेहरूले कतिपय फुपूलाई नै निलेका छन् । एक पटकको सत्ताको सातुमा सात जुनीका लागि मसला तयार पार्छन हुन्डीराजहरूले ।
नेपालीले नेपालीलाई दिने सदाबहार उपहार सधैँ मिलनसार हुन्छ । किनभने उपहार भन्ने कुरा मिलेर मिलाउनकालागि दिइन्छ । नमिल्नेले यो उपहार पाउँदैन भने मनसुनको भनसुनले पनि बेला मौकामा यस्तो उपहार दिलाउँछ । उपहार दिने र लिनेको बिचको सम्बन्ध प्रगाढ, गाढा, साढा वा छाडा जे जस्तो भए पनि दिने र लिने समयमा नङ र मासु जोडिए झैँ जोडिएको हुनुपर्दछ । नेता वा अन्य क्षेत्रका जो कोहीले पाउने उपहारले समाजमा पार्ने प्रभाव दबाबले कतिपयको अभावलाई पूरा गर्न पनि सक्ला तर सत्य कुरा भने त्यहाँ देखा पर्दैन । हामीले देखेको भोगेको सुनेको कुराको कुरा गर्ने हो भने उपहारले कतिपयलाई रुवाएको पनि छ । अर्थात् जनतालाई राज्य वा सरकारले दिएको काइदाको सदावहार उपहार भनेको दुःख पीडा र सास्ती आहत मात्र हो । हामी नेपाली जनता यसकै लागि जन्मिएका रहेछौँ भन्ने कुरा प्रमाणित भैसकेको छ ।
राज्यका तर्फबाट पाउनु पर्ने उपहार सम्मान लगायतका मान पदवी सबै जनताले पाएर खुसी साथ दुःखमा पिल्सिएको सबैमा जग जाहेरै छ । राज्यले नगर्नु पर्ने मान सम्मान दिएर जनतामाथि ठूलो गुन लगाएर खल्लो नुन खुवाएकोमा, थाङ्नामा सुताएकोमा आकाशे छानोमा वास राख्न सफल भएकोमा धारे हातले धन्यवाद नदिइरहन सकिन्न । यस्तो जनहितकारी मनकारी खानकारी, दानकारी भकारी सरकार फेरि देशमा जन्मँदैन झैँ लागेको छ मलाई । म त नभेटिएको नदेखिएको तर सुनिएको सबैले पुजिएको भगवान नामका अदृश्य शक्तिलाई पनि यो सरकारलाई आफूसँगै लगेर राख भन्न चाहन्छु ।
सरकार जनतासँग सरोकार राख्दैन तर जन सरोकारका कुरा भने गर्न पछिबाट कुदेर अघि बढेर बोल्छ । जनतासँग ढाँटछलका कुरा गरे पनि आपसमा गाँसागाँस र टाँसाटाँसमा भने दान उपहार खोसाखोस गरेर जनता हँसाउन पछि परेका छैनन् । यो सर्व गुण भताभुङ दस टाउके सरकारको आहत प्रधान राहत र उपहार वितरण कार्यक्रममा जनाधीशहरूको जमातमा अश्रु वर्षाले प्राथमिकता पाएको छ । सरकारले समय पाएर पनि सस्तो उपहार महँगोमा दिन पाएको छैन । मलाई यस विषयमा सरकारसँग प्रशन् गर्न मन लागेको छ । तर प्रश्न गर्ने अवसर पाए पनि सरकारले उत्तर दिन समय पाएको छैन । सरकार यतिबेला आफ्नै धमाधममा लागेको छ जनाधीशहरूलाई उपहार दिनमा भ्याइ नभ्याई छ ।
अब ज्यादा बढी धेरै कुरा के लेखौँ । सरकारका बारेमा भएका यथार्थ कुरा गर्ने हैसियत बाहिरको मान्छे भएकोले हैसियत बनाउने प्रयासमा यति कुरा आँट गरेर कनेर लेख्दै छु । समाजको आशा भरोसा जनाधीशको करेसामा जन्मिएको उपहारका बारेमा बयान वा बखान जे जे भने पनि कति गरौँ । भोलिका दिनमा अझ कति उपहारका बन्डल, पोका, धोका पाइने हो त्यो गर्भभित्र बसेर तपस्या गरिरहेको होला । कुन दिन फुत्त बाहिर निस्केर हामी सबेको सात्तो खान्छ त्यसको ठेगान छैन । समाजभित्रको गुम्सिएको राँको कुन बलेर सबै नष्ट गर्ने हो पत्तो छैन । मलाई यी कुराहरूको साह्रै चासो लागेको छ । तर डर भने लागेको छैन किनभने मेरो हातमा भएको कलम कसैले पनि खोस्न सकदैन ।
मेरो कलमको करामतले म चिनिएको छु, हाँसेको छु । मेरो कलमले मलाई अघि बढाएको छ, खुसी हुन सिकाएको छ । दस जनाका अगाडि ठाउँ दिएर राखेको छ । त्यसैले यो मिलनसार उपहारसँग मेरो विमति छ । सकारात्मक सोंच राखेर नकारात्मकतालाई मिल्काएर हेर्ने हो भने यो उपहारको थैलो समय बित्दै जाँदा भरिँदै गएको आभास भएको छ । कुन दिन मिलनसार उपहार भरिएर पोखिन्छ त्यसको जिम्मेवारी सरकारी भकारीमा रमाउने दिन दुःखीहरू नै हुनेछन भन्ने मैले विश्वास लिएको छु । जय साहित्य जय व्यङ्ग्य ।
०००
गाईघाट, उदयपुर
Subscribe
Login
0 Comments
Oldest







































