रामप्रसाद पन्थीशिवरात्रिलाई गाँजा दिवस बनाइनु पर्छ
बिडम्वनाकाे कुरा छ प्रशासनिक निकायले बेलाबखत शिवभक्तहरूमाथि धावा बाेलेकाे छ । सुरक्षा निकायले शिवजीका उपासकहरूकाे हुर्मत लिने गरेकाे छ । लागू पदार्थ दुर्व्यसनीका नाममा दुर्व्यवहार गरेकाे छ ।

रामप्रसाद पन्थी :
धतुरे साइलाे शिवजीकाे परम भक्त हाे भन्ने कुरा कमैलाई थाहा हुन सक्छ । सामाजिक सञ्जालका जगतमा अनेकथरि मानिसहरू भाइरल भइरहदा धतुरे साइलाे ओझेलमा पर्नु आफैमा बिडम्बना हाे । याे दुनियाँ स्वार्थी छ । आफै अगाडि नबढेसम्म कसैले बढाइदेला भनी नचिताए हुन्छ । त्यसैले धतुरे साइलाले आज आफै आफ्ना कुराहरू सार्वजनिक गर्दैछ ।
शिवजीकाे उपासक धतुरे साइलालाई चार रात्रि कालरात्रि (बडादशैंकाेअष्टमी), माेहरात्रि (कृष्णाष्टमी), सुखरात्रि (कार्तिक ओैंशी/लक्ष्मी पूजा) र शिवरात्रि (फागुन कृष्ण चतुर्दशी) मध्ये शिवरात्रि अत्यन्तै प्रिय छ ।
भगवान शिवको उत्पत्ति भएको रातका नामबाट नामकरण भएको शिवरात्रि पर्व आशुतोष भगवान् शिवको अति प्यारो दिन हाे भन्ने कुरा धतुरे साइलालाले राम्ररी बुझेकाे छ । व्रत उत्सव मध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रीका दिन धतुरे साइलाे पनि पशुपतिनाथकाे मन्दिरमा पुग्याे । शिवजीकाे अगाडि एकछिन नतमस्तक भै नुग्याे । एकछिन ध्यान गर्याे । ध्यानमा जाँदा उसकाे मस्तिष्कमा झट्का लाग्याे ।धतुरे साइलाले ध्यान गर्दा पाएकाे तत्वज्ञान सबैसामु राख्न चाहन्छ –
“हेर् धतुरे ! याे दुनिया अति लाछी छ । समुद्र मन्थन हुँदा निस्किएको अमृतपान गर्न देवता र दैत्यका बीच तानातान भयाे । कालकुट बीस निस्कदा हानाहान भयाे । भगवान भाेलेनाथले विष पिएर संसारकाे कल्याण गर्नुभयाे । विषकाे प्रभावले कण्ठ नै नीलाे हुँदा नीलकण्ठ बन्नु पर्याे । अरू देवताहरू महलमा टहल गरेका छन् । भगवान भाेलेनाथ चीसाे कैलाश पर्वतमा बसेर विषकाे ओैडाहा शान्त पार्नु परेकाे छ ।भगवान् शिवजीलाई धनदाैलत, लत्ताकपडा र ऐशआारामकाे आवश्यकता छैन । खरानी घस्नु भएकाे छ । बाघकाे छाला कस्नु भएकाे छ ।
हेर् धतुरे ! शिव महिमा बुझेर नाग देवता घाँटीमा माला बनेर बस्नु भएकाे छ । गंगा मैयाँ र चन्द्रदेव जटाभित्र सजिएनु भएकाे छ । भूतप्रेत, नन्दी, भृङ्गी, चाैसठ्ठी याेगीनी शिवजीका साथमै छन् । वीरभद्र र महाकाली शिवजीकै आराधाना गर्छन् । भगवान भाेलेनाथ देवताहरूका पनि देवता देवादिदेव हुनुहुन्छ । भगवान पशुपतिनाथकाे तेराे देशमा शिव शंकर भाेलेनाथकाे अनादर बढेकाे छ । तेरा लठुवा अगुवाहरूले फिरङ्गीका तलुवा चाटेका छन् । धर्मसँग डलर साटेका छन् । बुझिस् धतुरे ! मिसिनरीहरूका चाहिदा नचाहिदा हर्कतले शिवजीकाे घाेर अपमान भएकाे छ । भाेलेनाथकाे तेस्राे नेत्र खुल्याे भने रूद्रदेवकाे राैद्र रूपले निम्त्याउने विनाश भाेग्नु पर्ला । याे कुरा तैंले पनि मनमा लिएस् लठुवाहरूलाई सच्चिने सल्लाह दिएस् ।”
शिवभक्त धतुरे साइलाे दिनभर विभिन्न शिवालयहरूमा घुम्याे । नागा बाबा, अघाेरी, साधु, सन्त, महात्माहरूाे दर्शन गर्याे । आशीर्वाद लियाे । भगवान् शिवको प्रिय वस्तु गाँजा, भाङ र धतुराे शिवजीलाई चढायाे । अलिकति प्रसाद आफैलाई पनि चढायाे ।सम्पूर्ण रूपमा शिव शरणमा दिन गयाे । प्रभु चरणमा लीन भयाे ।
हनुमान रामभक्त भएजस्तै धतुरे साइलाे शिवजीकाे प्रिय भक्त भएकाे कुरा सिद्ध भइसकेकाे छ । उसलाई राम्राेसँग थाहा छ आराध्यदेव महादेव नीलकण्ठकाे पीडा । दक्षप्रजापतिकाे हेपाइले मर्माहत महादेवजस्तै भाेगाइ छन् धतुरे साइलाका पनि । धतुराे सेवनकै कारण ससुरा दक्षकाे हेपाइ धतुरे साइलाले कसरी बिर्सन सक्छ र ? प्रिय अर्धाङ्गिनी सतिदेवीसँगकाे वियाेगकाे पीडाले पुर्याएकाे चाेटकाे खाेट उसकाे मुटुमा आलै छ । त्यसकारण पनि धतुरे साइलाले धतुराे छाेड्न सकेकाे छैन ।
धतुरे साइलाकाे वास्तविक परिचय खाेज्ने हाे भने नाम शिवशंकर थर शर्मा । साइलाे भनी पुकारिन्थ्याे गाउँ र घरमा । बिस्तारै धतुराेसँग लत बसेपछि नाम फेरियो धतुरे साइलाे । जाेगी, सन्यासी, नागा र अघाेरी बाबाहरूकाे संगत र सदस्यताले धतुरे साइलाकाे कद केही उँचाे भएकाे छ । आज धतुरे साइलाे धतुरे साइलाबाट एक कदम माथि उठेकाे छ । बाबा धतुरनाथबाट विभूषित छ ।
बाबा धतुरनाथ कुनै सेलीब्रेटी भन्दा कम छैन । फ्यानहरू बढ्दै गएका छन् । फ्लाेअर्सहरू दर्शनका लागि आतुर छन् । धतुरनाथ आश्रममा भक्तजन, अनुयायी र शिष्यहरूकाे आगमन बढ्दाे छ । स्कुले विद्यार्थीहरू पाठशाला जाँदा पनि शिव बुटी तानिरहेछन् । युवायुवतीहरू ढावादेखि लिएर पाँचतारे हाेटल र रेष्टुरेन्टहरूमा गाँजा तानिरहेछन् । धतुराे हानिरहेछन् । हुक्का र चिलिमहरूमा चरेशले हरेस खाएकाे छैन । मलाई त यस्ताे लाग्छ ; कहाँ मात्रै गाँजा, चरेस,भाङ र धतुराेले स्थान पाएकाे छैन ? शिवरात्रि यस्ताे पर्व हाे जुन दिन शिवभक्तहरू उन्मुक्त ढंगले शिवजीकाे प्रसाद ग्रहण गर्न सकेका छन् । तर बिडम्वनाकाे कुरा छ प्रशासनिक निकायले बेलाबखत शिवभक्तहरूमाथि धावा बाेलेकाे छ । सुरक्षा निकायले शिवजीका उपासकहरूकाे हुर्मत लिने गरेकाे छ । लागू पदार्थ दुर्व्यसनीका नाममा दुर्व्यवहार गरेकाे छ । म त भन्छु शिवभक्तहरूमाथिकाे यस्तो दुर्व्यवहार सनातन धर्मप्रतिकाे ठाडाे प्रहार हाे ।
बाबा धतुरनाथकाे आग्रह छ; संसारभरका शिव उपासकहरू अब एकजुट हुने बेला आएकाे छ । देशमा करिब दिनैपिच्छे अनेकथरि दिवसहरू मनाइन्छ । अब शिवरात्रिलाई पनि निसर्त रूपमा गाँजा दिवस बनाइनु पर्छ । सधैंभरि बिना हस्तक्षेप स्वतन्त्रतापूर्वक शिवजीका भक्तहरूलाई शिव बुटी सेवन गर्न दिइनु पर्छ ।
०००
रेसुङ्गा न पा २, गुल्मी
२०८१।११।१७









































… तर गाँजालाई खुल्लम खुल्ला गर्दा सामान्य व्यक्तिको दैनिकि चर्या र अपराधलाई नियन्त्रण गर्न सकिएला र? खाएर मातेका हुन्छन।