राजेन्द्रप्रसाद अधिकारीकाग र म : एक वार्तालाप
तिमीहरुको स्वभावबाट पनि म सिक्न खोज्दैछु- विष्टा खान सकिन्छ कि ? म सोच्दैछु ! मरेको दुर्गन्धित मुसा च्यापेर आकाशमा उड्न सकिन्छ कि ? त्यो पनि गम्दैछु !

राजेन्द्रप्रसाद अधिकारी :
शारदीय आकाशको एक बिहान
मैले कागलाई भनेँ-
तिमीलाई जे खानु छ खाऊ
तिम्रो स्वभावले दिन्छ, विष्टा पनि खाऊ
मरेको दुर्गन्धित मुसा च्यापेर
उड पनि खुला आकाशमा
तर, हल्ला चाहिँ नगरे हुन्थ्यो
साथीहरुलाई, माथि आकाश मै खुसुक्क भने हुन्थ्यो नि
कागले शिष्टतापूर्वक जवाफ दियो-
म आफ्नै आदतले मजबुर छु नि हजुर
म आफ्नै बथानको स्वभावले पीडित हुँ नि हजुर !
चिसोले जमेको शिशिरको एक बिहान
कागले मलाई प्रश्न गर्यो –
मैले जस्तै, किन तिमी
बारम्बार विष्टाकै वरिपरी घुम्ने गर्छौ
आकाशमा उड्न त सक्दैनौं तिमी
तल धर्तिमै मरेको दुर्गन्धित मुसा ढुकिरहेको देख्छु
मानिसको स्वभाव त त्यस्तो नहुन पर्ने हैन र ?
कालो कागको कुटील प्रश्न-
मानिस र विष्टा !
मानिस र मरेको दुर्गन्धित मुसा !!
धर्तिमा खुट्टा र टाउकोमाथि चिसोले जमेको आकाश !!!
मलाई सहन गाह्रो भयो, मेरो मुख रातो भयो
मैले शिष्टता भूले र रुखो स्वरमा जवाफ दिएँ-
मलाई नसिकाए हुन्छ, म बुद्धिमान प्राणी हुँ
त्यसैले त
तिमीहरुको स्वभावबाट पनि म सिक्न खोज्दैछु-
विष्टा खान सकिन्छ कि ? म सोच्दैछु !
मरेको दुर्गन्धित मुसा च्यापेर आकाशमा
उड्न सकिन्छ कि ? त्यो पनि गम्दैछु !
०००
चण्डोल, काठमाण्डौं
फोन : ९८५१०३८७८४








































अहा ! कविज्यू गजबको व्यंग्य छ ।
“… म बुद्धिमान प्राणी हुँ
त्यसैले त
तिमीहरुको स्वभावबाट पनि म सिक्न खोज्दैछु-
विष्टा खान सकिन्छ कि ? म सोच्दैछु !
मरेको दुर्गन्धित मुसा च्यापेर आकाशमा
उड्न सकिन्छ कि ? त्यो पनि गम्दैछु !”