साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सासू एसोसिएसन

त्यसै वेला बुहारीको हुल मञ्चमै चढ्यो र कङ्कला देवीलाई कसौँडी उतार्ने सनासाले घाँटीमा समातेर मञ्चबाट उतार्‍यो । माइक भाँचियो, ब्यानरहरू च्यातिए । केही सासूहरू भागे भने केहीले बुहारीका अगाडि गई त्वम् शरणम् गरे । अब त्यो सासूसभा बुहारीबैठकमा परिणत भयो ।

Nepal Telecom ad

रमेश समर्थन :

पुस्तौँपुस्तादेखि बुहारीमाथि निष्कण्टक आधिपत्य जमाउँदै आएका सासूहरूमाथि हालमा आएर ठुलै कुठाराघात भयो, बज्रपात भयो र मुक्कालात भयो । उनीहरूको सासूपनमा तुषारापात भयो, खडेरी पर्‍यो र पहिरो गयो । कोसेलीका सारा स्रोतहरू सुके । कहाँनिर के चुक भयो ? को कहाँ कसरी चुके । यता सासू भुके, उता बुहारी भुके । दुुवै पक्षका पुरुषहरू भने कुन दुलामा लुके लुके !

यस अप्रत्याशित विपत्तिले सासूसमुदायमा ठुलै खैलाबैला मच्चायो । आफ्नी सासूले आफूमाथि गरेको क्रूर शासनको बदला आफ्ना बुहारीमाथि शासन गर्न र उनीहरूको सातो काढ्न पाइएला भनेर छोराको नाल झरेदेखि नै बुहारी भित्र्याउने दिनको प्रतीक्षामा रहेका सासूहरूको अवस्था नयाँ बजेट भाषणमा तलब बढ्छ भनेर बैशाख महिनादेखि नै बजेट भाषणको दिनको प्रतीक्षामा रहेका कर्मचारीहरूको जोस बजेट भाषण सुनेपछि जसरी सेलाउँछ त्यसै गरी सेलायो । ढक्क रातो भएको भुङ्ग्रामा पानीको गाग्री नै घोप्ट्याएजस्तो भयो । अर्थात् हात्ती आयो हात्ती आयो फुस्सा ! सासूहरू आज काकाकुलीभन्दा दयनीय भए । आफ्नो उच्च र महान् आकाङ्क्षामा यसरी ठाडै असिना पर्ला भन्ने त उनीहरूले सपनामा पनि सोचेका थिएनन् । कठै ! बिचरा सासूहरूको आँसु कसले पुछिदेला ?

नहुनु थियो, भैगयो । अब हत्केलामा जमरा उमारेर वा दही जमाएर बस्नु त भएन । हाम्रो सर्वसत्तावादी शान्तिपूर्ण सुशासनमाथि आइलाग्नेउपर जाइलाग्नुपर्‍यो । हाम्रा साहसी पुर्खाले खडा गरेको त्यो बिरासत र स्थापना गरेको साम्राज्यलाई बचाइराख्न सकिएन भने इतिहासले हाम्रो नाउँमा टुकुचाको ढल पनि बगाउने छैन । तसर्थ नेपालभरिका सासूहरूको एउटा सङ्ठन खोल्ने उद्देश्यले एउटी नामुद अथवा कुख्यात सासूले सुलसुले पत्रिकामा मार्फत एउटा विज्ञप्ति प्रकाशित गराइन् जसमा निम्नबमोजिम आह्वान गरिएको थियो –

स्वाभिमानी सासूहरू !
परापूर्व कालदेखि नै नेपाली समाजको घरपरिवारभित्र सासूसाम्राज्ञीहरूको एकछत्र र निष्कण्टक साम्राज्य कायम रहेको तथ्य सबै सारीवाल, दारीवाल, टोपीवाल, धोतीवाल सबैलाई विदितै छ । सम्राट्को शेषपछि यसवराज सम्राट् बन्ने शाश्वत सिद्धान्तलाई ह्याकुलाले च्यापेर हामी सासूहरूले पनि बुहारीलाई ‘छेर् छेर् बाख्री कोदाको तेल’ गराई सक्दो हुर्मत लिन पाउनु हाम्रो नैसर्गिक अधिकार हो । तर वर्तमान मानवाधिकारवादी व्यवस्थाले बुहारीहरूलाई पनि मानवाधिकार दिलाउने नाममा हाम्रो सासूअधिकारको हनन गरेको छ । यस व्यवस्थाले सासूअधिकारको निर्मम हत्या गरी एकातिर ओढारमा निदाइरहेकी बघिनीलाई सिप्किनाले हानेर जगाउने धृष्टता गरेको छ भने अर्कातिर सासूका अगाडि पर्नासाथ ब्वाँसाको दाह्रामा च्यापिएको पाठाले झैँ म्याँ म्याँ गर्ने यी बुहारीहरूलाई अधिकारको बाघेछाला ओढाएर हामीलाई तर्साउने दुष्टता गरेको छ ।

आजका बुहारीहरू एकातिर हाम्रो अधिनायकत्वका निम्ति चुनौती बनेका छन् भने अर्कातिर हाम्रा मौखिक अध्यादेशको अवहेलना गरी पुरातन पारिवारिक व्यवस्थालाई खल्बल्याउँदै छन् । माछा मिठा काँडा तिता भनेझैँ हाम्रै भुँडीबाट भुइँ टेकेका र दुनियाँ देखेका हाम्रा छोरा यिनका आफ्ना रे ! अनि हामी भने जबरस्वाँठ रे ! यति मात्र हैन, यिनीहरूले हाम्रो एकाधिकारमाथि साङ्गठनिक हमला गर्ने बदनियत राखी बुहारी सङ्गठन पनि खोलिसकेका छन् । यदि यिनीहरूको यो षड्यन्त्र र कुचक्र सफल भयो भने हामी साम्राज्यवादमा आस्था राख्ने स्वाभिमानी सासूहरूले डाडुमा पानी तताएर सामूहिक आत्महत्या गर्न त्यसैमा हामफाले हुन्छ । याद रहोस्, हाम्रो सामूहिक आत्महत्यालाई योगमायाको जस्तो जलसमाधि भनेर प्रशंसा पनि गरिने छैन । मुकुटविनाको राजा, सत्ताविनाको राजनीति, कुसीविनाको नेता र प्रभुताविनाकी सासू सवै विषविनाका सर्पजस्तै हुन् । यिनलाई कसैले टेर्दैनन् ।

त्यसैले आफ्नो गुम्दो अस्तित्वरक्षाका निम्ति पनि एउटा सासू एसोसिएसन खोल्नु वाञ्छनीय रहेकाले आफ्नो अधिकार खोसिएका, खोसिँदै गरेका र निकट भविष्यमा वा सुदूर भविष्यमा भए पनि खोसिने सम्भावना रहेका सवै सासूहरूलाई सासूको नाममा उग्रचण्डी भनेर नेपालप्रसिद्ध श्रीमती कङ्कलादेवीको घरमा भेला भइदिनुहुन सबै सासूहरूको नाउँमा यो विज्ञप्ति लेखी धागो चुँडिएको चङ्गामा बाँधेर पठाइसकिएको छ । त्यो सूचना प्राप्त नभएमा (नहुने सम्भावना नै बढी छ ।) यसै विज्ञप्तिलाई आधिकारिक सूचना पनि मानी अधिकाधिक सङ्ख्यामा उपस्थित भई सासूशक्तिप्रदर्शनम सहभागी हुनुहोला । आतेजाते खर्चका हकमा बुहारीको बुर्के र सुर्के थैलीबाट सुटुक्क पैसा चोरेर ल्याउनुहोला । नभए बुहारीको असल सारी ल्याउनुभयो भने त्यसको न्यूनतम मूल्य दिइने छ ।
सङ्घर्षप्रेमी सासू
डङ्किनी देवी

यसरी विज्ञप्ति निस्केको कुरा सहरिया र पढेलेखेका सासूहरूले त थाहा पाएछनन् र भित्रभित्रै अवसरको खोजीमा लागेछन् तर पढ्न नजान्ने र गाउँले सासूहरूलाई भने तिनका बुहारीहरूले थाहा दिनु त कता कता उल्टै थाहा नपाउने गरी नजरकैद गरेछन् । त्यसैले त्यस भेलामा नाइँ सय नप्पाइसवटी नाप्पिएकी सासूहरू मात्र पुगेछन् । सम्मेलनमा विदेशहरूबाट पनि केही नाम चलेका सासूहरू पर्यवेक्षिकाका रूपमा आएका थिए । जसमा केही विशिष्टहरूको नाममानेसी यस प्रकार छ –
१. चरित्र अभिनेत्री ललिता पँवार भारतबाट ।
२. बेगम जलीला जलाला पाकिस्तानबाट ।
३. टेन्डुलकुट्टा प्रेमनाशा श्रीलङ्काबाट ।
४. आ ची ली सुङ चीनबाट ।
५. पछिपुछी अघिसफा जापानबाट ।

कार्यक्रमको समय भएपछि डङ्किनी देवीले भेलाको औचित्य बताई उद्घोषिका भइदिन जगल्टेनी बज्यैलाई निम्त्याइन् । जगल्टेनी बज्यैले जगल्टाको गाँठो पार्दै र गुन्युँको सप्को कम्मरमा बेर्दै पहलमानी गर्न अखाडामा उत्रेझैँ अगाडि आएर बुहारीका जुल्ठा समातेझै दुई हातले माइक समातेर फलाकिन् –

आफ्ना घरको भान्सा र भँडार चपरचन्डाल्नी बुहारीको भरमा छोडेर बडो साहसका साथ जम्म हुनुभएका सासूसैन्यहरू ! सबैभन्दा पहिले त तपाईंहरूले आआफ्नो बैठककोठा र काठे सन्दुकको साँचो सँगै ल्याउनुभएको छ कि छैन भनेर यकिन गर्नुहोस् । यदि छैन भने म देशभरिका प्रहरी, गुप्तचर विभाग तथा आन्तरिक सुरक्षा निकायलाई यहीँबाट हाम्रो सम्पत्तिको सुरक्षाका लागि आह्वान गर्दछु र तत् तत् बुहारीका नाममा चोरीको अग्रिम रिपोर्ट लेखाउँछु । यहाँ भेला हुनुभएका सासूमित्रेनीहरूले आफ्नो सन्दुकमा लुकाइराखेका घिउ, चिनी, मिस्री, नरिवल, छोडा र बाह्रथरी मसला हालेर र घिउमा पकाएर चोखो महमा मुछेर काँसे कसौँडीमा राखिराखेको काठे झिनुवा चामलको खाँटी ओक्तिपुवा ती बुहारी सत्तुर्नीहरूले अबस्से हसुरे होलान् । त्यसैले ती चोर्नीहरूमाथि अहिल्यै कारबाही गरियोस् । आजको यस सम्मेलनमा भेला भई एसोसिएसन खोल्ने साहस कमै सासूहरूमा मात्र देखियो । हुन सक्छ, उहाँहरू तिनै बुहारीहरूको नजरबन्दमा पर्नुभयो होला । म उहाँहरूलाई विनासर्त रिहाइको माग गर्दै दोषी बुहारीहरूमाथि न्यायिक छानबिन गरी मुद्दा चलाउन समेत माग गर्दछु । अब यस सभाको सभापतिका रूपमा श्रीमती कङ्कला देवीलाई निम्त्याउँछु ।

पडडड पड्केको तालीका बिचमा कङ्कला देवी पदासीन भएपछि सङ्घर्षशीला सासू मुखचिरा देवीको सारपूर्ण भाषण भयो –
स्वाभिमानी सासूसमुदाय !
चल्न त यी बोक्सिनी बुहारीहरूको केही दैया चल्ने थिएन । यस्ताका त मुख च्यातिदिने थियौँ तर के गर्नु ? आफ्नै हाँगामा ऐरेलु फलेपछि हामीले यी दिन देख्नुपर्‍यो । हाम्रा यी जोइटिङ्ग्रे छोराहरू नै आज स्वास्नीको फरिया मुज्याउँदै हामीलाई हान्ने राँगाले झैँ हेर्छन् र बुहारीलाई बुहार्तन कटाउन पाइन्न भन्छन् । यी नखर्माउली र बतर्खौले बुहारीको पाइला घरमा भित्रिन पाएको हुँदैन, भान्सादेखि भँडार र बैठकदेखि बुइगलसम्म चहार्न थालिहाल्छन् । यसरी यिनीहरू दाम्लो चँडालेर बुर्कसी मार्न थालेपछि हाम्रो अस्तित्व भनेको दन्तेकथामा खुम्चिने भयो । मलाई त कुन कुराको डर लागेको छ भने यहाँबाट फर्किँदा बुहारीले कहाँ अन्भरिएकी थियौ बुढी ? भन्दै भकुर्ने हो कि ? त्यसैले बढी नबोली म मेरो मुख थुन्छु ।

उनको भाषण सकिन नपाउँदै गलगण्डा माई घाँटीमा झुन्डिएको गाँडो हल्लाउँदै मञ्चमा पुगिन् र धोद्रे आवाजमा चिच्याइन् –
मुखचिरा बज्यै डरछेरुवी रहिछिन् । मैले त एउटी बुहारीलाई पासो लाएर मर्ने गराएँ, एउटीलाई सौता हाल्न लगाएँ र अर्कीलाई घाँस काट्न गएको वेला पारेर भुते भिरबाट मुन्ट्याइदिनेछु । यदि सबै सासूहरूमा मेरोजस्तो साहस हुने हो भने बुहारी सुहारीको जुहारी चल्ने थिएन ।

यसपछि दाँत उछिट्टिएकी दँतुली मायाँले थुकका छिटा उछिट्याइन् र अन्तमा अध्यक्षाले गम्भीरतापूर्वक ओजस्वी भाषण गरिन् –
तपाईहरूले विभिन्न वक्त्रीहरूका साहसपूर्ण र कायरतापूर्ण भाषण सुन्नुभयो । एउटा कुरो म के थप्न चाहन्छु भने यी बुहारीहरूले माइतबाट आउँदा सासूका लागि कोसेलीको ढक्की र भेटी राखेर ढोग्नुपर्नेमा उल्टै भाइबहिनीका लागि मिठी र आमालाई पाहुर भनेर कुरौनी घोटेर लैजान्छन् । त्यसमा थप बाटाखर्च समेत यतैबाट दिनुपर्छ । डर भन्ने रत्ती छैन । ससुरालाई बुवा भन्ने रे ! जेठाजु त दाइ हुनुहुन्छ त टाउको किन ढाक्नुपर्‍यो रे ! नन्ददेवर नाताले कान्छा भएकाले उनीहरूले नै पहिले नमस्कार गर्नुपर्ने रे ! सासूका गोडा मिच्नुभन्दा थिच्नु जाती रे ! लोग्नेका खुट्टाको जल खानुभन्दा धोबीखोलाको पानी खानु रे ! के के हो के के ! भन्न र सुन्न पनि पाप लाग्ने कुरो । हुुँदा हुँदा दाइजो नल्याएको आरोपमा एउटी बुहारीलाई पनि जलाउन पाइएन भनेर भारतीय प्रतिनिधि भन्दै थिइन् । हामीले पनि बुझेका छौँ, हाम्रा गोडा नमिच्ने एउटा हात पनि लोहोराले थिच्न पाइएको छैन । भएन भनेर घरका सवै सदस्यले एउटै खाना खानुपर्छ रे ! उनीहरूका लागि भनेर ननिफनेको ढुटोसहितको च्याँख्ले आटो अधकल्चो पकाएर दिन नपाइने रे ! लोग्नेसित टाँसिँदै हिँड्न पाउनु उनीहरूको अधिकार रे !

यसरी उनीहरूले आफूलाई पनि घरको सदस्य मान्न थालेपछि र मान्छेको जत्तिकै अधिकार खोज्न थालेपछि हाम्रो महत्त्व र अस्तित्वमाथि गम्भीर खतरा आइपरेको छ । अतः हामी सासू एसोसिएसन गठन गर्न यहाँ भेला भएका हौँ । त्यसैले मसित मिलेर नारा लगाउनुहोस् –
सासू एकता-  अमर रहोस् !
बुहारी अधिकार- समाप्त होस् !
सासू अधिकार-  लिन्छौँ लिन्छौँ !
सासू एसोसिएसन- बनाउँछौँ बनाउँछौँ !

अध्यक्षाले यता यस्तो नारा लगाउँदै थिइन् उता उनकै बुहारीको नेतृत्वमा विभिन्न प्ले कार्डहरू र ब्यानरहरू डाडु, पन्युँ, चिम्टा, सनासो, कुचो, आग्लो र अगुल्टामा टाँसेर बुहारीहरूको आक्रोशित जुलुस त्यहीँ आइपुग्यो । बुहारी नेतिनी पनि चर्को स्वरमा नारा लगाउँदै थिइन् –
सासू बुढी-  मर्नैपर्छ !
सत्तापरिवर्तन-  गर्नैपर्छ !
यो युग कसको ?-  बुहारीको ।
सासूसत्ता – मूर्दावाद !
बुहारी सत्ता – जिन्दावाद !

बुहारीहरूको यो रन्के जमात देखेपछि संयोजिका महोदया कुन सट्का कता सट्किछन् भन्ने अध्यक्षाले पत्तै पाइनन् । उद्घोषिका अब सासूको समूह छोडेर बुहारीको समूहमा सबैभन्दा अगाडि गएर उभिइन् । यसरी सासूसमुदायमा भागमभाग भयो । कङ्कला देवीले कङ्कलै स्वरमा शान्तिसुरक्षाको माग गर्दै थिइन् । त्यसै वेला बुहारीको हुल मञ्चमै चढ्यो र कङ्कला देवीलाई कसौँडी उतार्ने सनासाले घाँटीमा समातेर मञ्चबाट उतार्‍यो । माइक भाँचियो, ब्यानरहरू च्यातिए । केही सासूहरू भागे भने केहीले बुहारीका अगाडि गई त्वम् शरणम् गरे । अब त्यो सासूसभा बुहारीबैठकमा परिणत भयो । वातावरणमा नारा लागेकै थियो तर यस्तो –
सासू एसोसिएसन – धोका हो ।
बेइमानीको – पोका हो ।
बुहारी एकता – बलियो बनाऔँ ।
सासू एकता – समाप्त पारौँ ।

उता बिचरी अध्यक्षा बुहारीहरूका बिचमा हुँडार्नीहरूका बिचमा परेकी बुढी बघिनीजस्तै देखिँदै थिइन् ।

०००
रुपन्देही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
पेसा

पेसा

रमेश समर्थन
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
वरदान

वरदान

रमेश समर्थन
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
तर्सिङहोम (१)

तर्सिङहोम (१)

कृष्ण प्रधान
‘बाजी’

‘बाजी’

डा. विदुर चालिसे
मानिस नै भन्नु पर्छ !

मानिस नै भन्नु पर्छ...

शिवप्रसाद जैशी
ए यज्ञ कैसे चलेगा ?

ए यज्ञ कैसे चलेगा...

सुरेशकुमार भट्ट
बिऊ

बिऊ

लक्ष्मी रिजाल
0
Would love your thoughts, please comment.x
()
x