कृष्ण प्रधाननयाँ फास्ट फुड
आउनोस्, यो नयाँ फास्ट फुड बनाउने काममा आजैदेखि लागिपर्नुहोस् । अबेर गर्नुभयो भने नयाँ फास्ट फुडको निम्ति घरमा रहेका सामग्री (बच्चा) ओइलिएर जानेछ कि वा कुहेर चिचिलामै झर्नेछन् ।

कृष्ण प्रधान :
डाक्टर फ्राइ, इञ्जिनियर कट्लेट, पाइलट चप, हार्डवेयर इञ्जिनियर चप ।
उपकरण – एकजना वा दुइ सन्तान । छोरो भए उत्तम । खाता-किताब, पेन्सिलस, इरेजर, सार्पनर, स्कूल ब्याग, पानीको टुमलेट, डोमेस्टिक कम्प्यूटर, उच्चाशा मसाला लगायत भक्कुचूर सेतो र कालो रूपियाँको केमिस्ट्रि ।
सामग्री – राम्रो कम्पनीको नर्सरी स्कूल नामक कराही, ईङ्गलिश स्कूल नामक प्रेशर कुकर, जोइन्ट एन्ट्रान्स फ्राइङ प्यान, म्यानेजमेन्ट रोष्टर, कोचिङ् देक्ची लगायत ट्युटर।
पकाउने प्रणाली – एकजना वा दुइजना मात्रै लिनुहोस् । दुइभन्दा धेर सन्तान ठ्याम्मै नलिनुहोला । निजी बगैँचाको फल भए उत्तम । निजी बगैंचाको फसल नभए, अनाथ आश्रमको खुल्ला बजारबाट सन्तान सङ्ग्रह गर्न सकिन्छ । अचेल फेरि आधुनिक प्रजनन केन्द्रहरूले गाहकीको इच्छानुसार अर्डर लिइ सन्तानहरू सप्लाई गर्न आरम्भ गरेका छन् ।
काँचो माल सङ्ग्रह गरेपछि घड़ी हेरेर समयानुसार नामी कम्पनीको बेबी फुड, टनिक, भिटामिन खुवाएर स्वस्थ बनाउनुहोस् । माल झर्झराउँदो हुनेछ । त्यसपछि यो माललाई नर्सरी स्कूलको कराहीमा हाल्नुहोस् । खेलौना, टफी, बब्बल गमको तेल अनि राइम्स-क्वीजको पाँच फोरन्, हालेर सामान्य आँचमा अनवरत् ट्यूशनको पन्यूँले चलाउनुहोस् । प्रति हप्ता ड्रइङ्ग क्लास, म्यूजिक क्लास, मार्शल आर्ट क्लास वा स्वीमिङ कि ता टेबल टेनिस, फुटबल वा क्रिकेटको देक्चीमा हाल्नुहोस् । उसिनेर भुट्नुहोस् । एकपल्ट अङ्ग्रेजीको नूनले ट्यूटर प्यानमा खराउनुहोस्। एकपल्ट म्याथ्सको झोलले कोचिङ भाँड़ामा उमाल्नुहोस् । म्याथ्सको सुप कहिल्यै चिसो नदिनुहोला । म्याथ्सको चिसो झोलले गर्दा ब्याक-ले भेट्ने सम्भावना धेर हुन्छ ।
यस्तो प्रकारले म्याथ्स भुट्नुहोस् जसले तपाईका बच्चाले जीवनको स्वाद पाउने फुर्सद नपावोस् । यसरी भुट्दा-भुट्दा आगोको तापले भेटेर साथी-सङ्गी, खेलकूदतिर मात्र ध्यान दिने चेष्टा गऱ्यो भने तातो कराहीलाई सनासोले कड़ा गरेर समात्नुहोस् । कथङ्कल सनासो फुस्कियो भने बच्चाको मात्र होइन तपाईको पनि इच्चा-आकाङ्क्षा आगोले भेटेर स्वाहा हुनेछ ।
यसपछि ताततातै अवस्थामा बच्चा-सामग्रीलाई ठूलो राम्रो कम्प्नी नामक स्कूलको प्रेसर कुकरमा हाल्नोस् । कुकर मिशनरी वा ईङ्गलिश डिजाइन भए सर्वोत्तम स्वादिलो भान्सा तयार हुनेछ । बच्चा सामग्रीको गिदीभरि अहर्निश उच्चाशा सस् छर्किरहनुपर्छ । कुकरको ढकनी राम्ररी ढाकेर ताप तथा चाप दुवै समानरूपले बढाइरहनुहोस् । सामग्रीलाई कुनै अवस्थामा पनि बाहिर नराख्नुहोला । बाहिरको हावा साह्रै राम्रो हुँदैन ।
चारैतिर दूषणै दूषण । ए;न्टि सोसियल दूषण, इभ-टिहिङ दूषण, ड्रग्स दूषण आदि आदि । बच्चाको टाउकामा हर-हमेशा, हरपल जीके, स्ट्याटिसटिक्स, कम्प्यूटर सफ्ट वा हार्ड वेयर आदि विभिन्न अजिना मटन हालिरहनुपर्छ । मुक्त चिन्ताको हावा कि चाहिँ परिवेश भेट्टायो कि बच्चा नामक फास्ट फुड गन्हाउन थाल्छ । फास्ट फुड कटमेरो हुनेछ । खान लायकको हुँदैन । यसले गर्दा सामग्री बेरोजगार भएर इमप्लोइमेन्ट एक्सचेञ्जको डिप फ्रिजमा जीवनभरि आइस भएर जमिरहनुपर्नेछ।
प्रति वर्षको पुछारमा, एक हिसाब अनुसार मोठ बाह्रवटा सिटी बजेको खण्डमा कुकरभित्र राखिएको सामग्री पकाउनको निम्ति तयार भएछ भन्ने ठान्नुहोला । अब प्रेसर कुकरबाट सामग्रीलाई बिस्तारै अनि बड़ो होशियारपूर्वक खन्याएर जोइन्ट एन्ट्राऩ्स नामक फ्राइ प्यानमा खन्याई दिनुहोस् । खन्याए पछि भुट्नुहोस् । यस्तो पाराले भुट्नुहोस् सामग्री कड़ा न कड़ा होस् । यसो गरे मात्र तपाईको बच्चा प्र्याक्टिकल हुनेछ । आवेश, भावावेग लेशमात्र पाइँदैन । अब उनीहरू आफै भुटिन चाहन्छन् । केरियर गाइडेन्स लिनेछन्, आई आई टी, बी आई आई टी, एम बी ए, बी बी ए, बीई, डाक्टर, इञ्जिनियर, होटल म्यानेजमेण्ट, सफ्ट वेयर, हार्ड वेयर आदिको तातो प्यानमा होमिनु अहर्निश छटपटिनेछन् ।
येनकेन प्रकारेण सबैलाई उछिन्न विभिन्न स्ट्याट्रिजी अप्नाउनेछन् । कसैसित साँठगाँठ हुँदैन । नो कनेक्सन ; नो रिलेसन । सफलताको लक्ष्यभेद नै बच्चाको एकमात्र साधना हुनेछ । भित्रको मान्छेत्व प्यानमा पर-परती भुटिएको सामग्रीजस्तो क्रमशः रातै भएर आकाशमुखी हुनेछ । मोटो तनखा, गाड़ी अनि मोटो भोगको सपना देख्नेछन् । विदेश उड़्नलाई पखेटा फैलाइरहनेछन् भाले मुजूरजस्तो ।
यति बेला पकाउँदाको समयमा तपाईका बच्चाको स्वाभाविक मानवरस सम्पूर्ण सुकाएर भोगरस, उच्चाकाङ्क्षा रसमा जुलेबीजस्तै चोब्नुपर्छ । प्राकृतिक रस निचोरी मानविक रस मिल्काइदिएर प्रशिक्षणको तेल-मसलाले अफिसको चेम्बरयोग्य बनाउनुपर्छ । तर कुकरको फेद डढ़ेर कहिले-काहीँ पागल, आत्मघाती, पितृघाती, प्रणयघाती अथवा बेपत्ता हुने डर देखिन्छ । लाखेस् ! यसैकारण, सठिकरूपले आँच लाउनु, चाहिँदो मात्रामा उत्साहजल इत्यादि नहाल्नाले पनि यस्तो उल्का भ्रामरी आइपर्न सक्छ । व्यञ्जन आगोको आँच वा नून मसालाको अड़्कल प्रतिभामाथि निर्भर गर्दैन । सिद्धहस्त दक्ष गृहिणीले पनि कहिले-काहीँ व्यञ्जनमा नून कम्ति वा ता कहिले नून धेर हाल्छिन् ।
अब, खास कामको कुरामा आउँ क्यारे ! जोइन्ट प्यानमा भुटेपछि वस्तुको रङ देखेर मात्र के बुझ्नुपर्ने हुन्छ भने, त्यो एक्जिक्यूटिभ चप, इञ्जिनियर कट्लेट, डाक्टर फ्राई- यी तीनमध्ये कुन खाद्य सामग्रीको निम्ति उपयुक्त काँचो माल भएको छ । हुन ता यो रूपियाँमा बाह्र आना चान्सको कुरो हो भने चार आना भाग्यको कुरो पनि हो । जे होस्, चरित्र अनुसार सामग्रीलाई उपयुक्त कलेज-प्यानमा छोड़िदिनुहोस् माछा फ्राइ गरेजस्तो । यतिबेला भने, तपाईले केही गर्नै पर्दैन । अब त्यो आफै पाकिहाल्छ ।
फाइनल टच – अब पकवान प्रायः तयार भयो भन्दा हुन्छ । कलेज-प्यानमा बिस्तारै-बिस्तारै माल निकाल्नुहोस् । थप स्वादको निम्ति कम्प्यूटर ट्रेनिङ बेसनमा चोबलेर म्यानेजमेन्ट रोस्टरमा सोझै सेक्नुहोस् । पकवना टेसिलो लगायत स्मार्ट लगायत मार्केटेबल हुनेछ ।
सर्भिसिङ – पकवान अथवा तपाईले चाहेजस्तै नयाँ फास्ट फुड सम्पूर्ण तयार भयो अब । रोस्टरबाट झिकेर राम्रो कनेक्सन, रिलेसन, सोर्स-फोर्सको सस् स्यालाडमा सुन्दरपाराले सजाउनुहोस् । त्यसपछि सुट-टाईको प्याकेटमा ठूल्ठूला कम्पनीको टेबलमा ताततातो पस्किनुहोस् । राम्रो लाइन फिट गर्न सके इन्टरनेशनल खाद्य विलासीहरूको डाइनिङ टेबलमा पनि खपत हुनसक्ने सोह्रै आना सम्भावना रहनेछ तपाईको बच्जचाको ।
तपाईको प्रोडक्टले बजारमा राम्रो भाउ पाउँनेछ । नाफाको मार्जिन गतिलै रहनेछ । तिनीहरूले तपाईको बच्चाको इन्टरभ्यू लिनेछन् , सुँघ्नेछन्, चुस्नेछन्, चपाउनेछन् । तपाईले पकाउनु भएको पकवानको भिटामिनमा तिनीहरूलाई नाफा नै हुनेछ, टुटा पर्ने ता कुरै आउँदैन । तपाई चाहिँ टाढ़ैबाट त्यस सुखाद्यको डलरवाहित सुवास भोग गर्नुहुनेछ मनको आनन्दले । जिन्दगीभरि चूल्हा धन्दा गरेका कष्टहरू एक निमेषमा तपाईका बच्चा नामको फास्ट फुडले साङ्गे पार्नेछ । भनिएकै छ, सबूर गरे मेवा फल्छ ; हतार गरे कुहेको चिण्डो ।
आउनोस्, यो नयाँ फास्ट फुड बनाउने काममा आजैदेखि लागिपर्नुहोस् । अबेर गर्नुभयो भने नयाँ फास्ट फुडको निम्ति घरमा रहेका सामग्री (बच्चा) ओइलिएर जानेछ कि वा कुहेर चिचिलामै झर्नेछन् ।
शुभस्य शीघ्रम ।।
०००
सिलगढ़ी, उत्तर बङ्गाल (भारत)
Subscribe
Login
0 Comments
Oldest






































