तिलकराज शर्मा पाैडेलमलाई के रोग लाग्यो कुन्नि ?
आजकल उपत्यकामा पनि संक्रामक रोग फैलिएको देख्दा पटक्कै बस्न मन छैन। कसैको सुरक्षा छैन । यो रोगले सानो, ठूलो, मान्यजन, आफ्नो, अर्को कोही भन्दो रहेनछ ।

तिलकराज शर्मा :
मलाई केही वर्ष यता एउटा अनौठोरोग लागेको छ । ब्लडप्रेसर ज्यादै बढेको छ । पहिला त्यत्ति थिएन । अहिले माथि २०५ र तल ६० सम्म छ । दुवैतिरको प्रेसर जोडेर हेर्दा २६५ पुग्छ । यस्तो सानो, जीउडाल नभएको, पातलो र अग्लो मान्छेको प्रेसर त्यत्ति हुनु ठीक हो जस्तो लागेको छैन । फेरि माथि र तलको फरक पनि पटक्कै मिलेको छैन । त्यसैले कुन बेला के हुन्छ कहाँ अलपत्रमा परिन्छ निश्चित छैन । बाहिर देशमा उपचार गर्न नसकेको पनि होइन । बेलाबेलामा हङकङ्ग, बेलायत, जापान, टोकियोसम्म गएर टाउको पनि जँचाएको छु ।
हुन त साथीभाइले देशभित्रै पनि हेल्थपोष्ट, हेल्थ सेन्टर र अस्पतालमा जाँच्दा पनि सानोतिनो रोग निको पारेका छन् । तर यस्ता स्थानमा स्वास्थ्य परीक्षण गर्दा डाक्टर ज्यादै अनुशासित र आज्ञाकारी हुँदाखेरि रोग पत्ता नलाग्ने खतरा पनि त्यत्तिकै रहेछ । पाँच बर्ष अगाडि टी.वी लागेर उपचार गर्दा डेलिभरी हुँदाको अवस्थामा प्रयोग गर्ने औषधि दिएछन् । पछि किन यस्तो महङ्गो भयो यो औषधीलाई यति धेरै पैसा पर्ने त होइन, बेलाबेलामा किनिराखेकै हो भनेर बुझ्दा त सुत्केरी हुँदा प्रयोग गर्ने राम्रो खाले भिटामिन र आइरन चक्की परेछ । पछि स्वात्तै जीउ लागेपछि थाहा भयो तर त्यो त ज्यादै नराम्रो गन्ध आउने हुँदोरहेछ । यसो नजिक गयो कि साथी भाइले छ्या कस्तो सुत्केरी गन्हाउने भन्दा आफूलाई ज्यादै मर्का पर्ने ।
आजकल झन् रोगमाथि रोग थपेर पर्नु पीर पन्ऱ्या छ । फेरि स्वास्थ्यवर्धक चिजवीज त्यत्ति नपाइने राम्रो ताजा तरकारी खाऊँ भनेरभन्दा पनि फर्सीको मुन्टा भन्दा केही नपाउने । त्यही फर्सीको मुन्टा किन्दा साथीभाइले गिल्ली गर्ने, होच्चाएर बोल्ने, लुकीलुकी हिँड्न पर्ने ज्यादै ठूलो मर्का । जे पायो त्यही खान पनि नहुँदो रहेछ । हाम्रो सायी भाइहरू खानेकुरा पाए भने विचारै नपुऱ्याई ह्वामह्वाम्ती खाइदिन्छन् । अस्ति धेरै साथीहरू खानकीकै कारणबाट बिरामी भएका छन् रे । मैले त भेट्न पनि सक्याछैन ।
धेरै जसो साथीहरूको रोग नै पत्ता नलागेर अनुसन्धानको क्रममा उपत्यकाभित्रका हेल्यपोष्टदेखि ठूला अस्पतालसम्म खचाखच भरिएका छन् भन्ने सुन्दैछु । केही त उपचारको क्रममा बाहिर गैसके भन्ने हल्ला छ । फेरि यो अपच रोगले आफ्नो अङ्ग्रे केही मन्दो रहेनछ, जातभात, ठूलोसानो सबैलाई हुँदोरहेछ ।
कसैकसैले यो सरुवा रोग हो विचार पुऱ्याउनु पर्छ र धेरै परिश्रम नगर्ने व्यायाम नगर्ने, कुर्चीमा बसिरहने र बेलाबेलामा पप्लु र म्यारिज खेल्ने, रेष्टुराँमा बसी रोमान्स गर्नेलाई बढी लागेको कुरा विशेषज्ञहरूले बताएका छन् । फेरि यो रोग डाइबेटिज जस्तो पनि होइन रहेछ, कमसेकम डाइबेटिज त एउटालाई लागेपछि अर्कोलाई सर्दैन, श्रीमान्लाई यो रोग लागेको छ भने श्रीमतीले जुठे खाए पनि सर्दैन । तर यो पत्ता लगाउने नसकेको रोग त श्रीमान्, श्रीमती, छोराछोरी सबैलाई उत्तिकै सताउने रहेछ । कसैको त परिवारलाई नै लागेर झ्यालढोका धुनेर सपरिवार नै उपचारमा विदेशिएका छन् भन्ने पनि सुनिन्छ । यो रोग निको पार्न डाक्टर र विशेषज्ञको ठूलो समूह तल्लीन रहेछ । मलाई आत्मविश्वास अलि पलाएको छ । जे होस् हामीलाई लाग्ने रोगको बारेमा जताततै चियो चर्चा चाहिं हुनथालेको छ ।
मलाई आजकल भनभनी रिडाटा पनि लाग्छ। पहिला आफूले सँगत गरेछ साथीभाइ र गाउँघरका आफ्ना इष्टमित्र, बन्धुबान्धव देल्नै हुँदैन । तिनीहरुलाई देखेपछि मुटु ढुक्क फुल्ने, आँखा चिम्लन मन लाग्ने, सिधाआँखाले उनीहरूलाई हेर्न नसकिने र मुन्टो बटार्न मन लाग्ने, अनि देखिरहेको राम्रैचिनजान भएको र उसले मौकामा राम्रो गुन लगाएको मान्छे भेट्दा पनि उसँग बोल्न मनै नलाग्ने र चिनिरहेकै साथी पनि कोहो कोहो जस्तो लाग्ने ठम्याउनै नसक्ने भएको छ । उसले राम्रो निकटता दर्शाउँदा पनि चिन्नै नसक्ने भएको छ । तर पुरुषभन्दा महिला वर्ग त्यसमाथि पनि १६ देखि २५ वर्षसम्मका जस्तालाई चाहिँ कहाँ कहाँ देखे जस्तो, चिने चिनेजस्तो लाग्छ तर धेरै ठूलो भीडमा ठम्पाउने सक्दिन एकान्तमा भेटिंदा राम्रैसँग चिन्दछु।
अब अहिले पाँच छ बर्षयता एक्लै हिँड्न पनि मलाई मुस्किल नै छ । डाक्टरले एक्लै नहिंड्नू, पैदल यात्रा नगर्नू, जस्तोपायो त्यस्तो ठाउँमा बास पनि नबस्नू भनेका छन् । अहिले यही रोगको कारणले चारपाँच जना पुराना वीर्घ रोगी र हालसालै रोग लागेका नयाँ रोगीहरू त्यही रोगको कारणबाट मृत्यु पनि भैसकेको भन्ने सुनेको छु । त्यसैले पुरानो घर, गाऊँ जान मन पनि छैन । केही भइहाल्यो भने कमसेकम काठमाडौमा हुँदा त समयमा उपचार पाइन्छ भनेर उपत्यकामा नै बसेको छु ।
आजकल उपत्यकामा पनि संक्रामक रोग फैलिएको देख्दा पटक्कै बस्न मन छैन। कसैको सुरक्षा छैन । यो रोगले सानो, ठूलो, मान्यजन, आफ्नो, अर्को कोही भन्दो रहेनछ । मानवता, संवेदनशीलता र मित्रता केही नभन्ने यो कस्तो रोग लाग्यो आजकल म बिलखबन्दमा छु ।
०००
दौरा सुरुवाल र टोपी आतङ्क (२०६५)
Subscribe
Login
0 Comments
Oldest








































