कोमल भट्टघन्किन्छ घण्टाघर
नाता नैतिकता भुले सकलले निष्ठा खरानी भए स्वेच्छाचार ढलिमली शिखरमा सद्भावना टाढिए ।

घुस्साले घननादले घटकले घोचे घमासानले
घच्का घायल घाउले घटनले घच्च्याउने घानले
जागा बस्छ जगाउँदै जनहरू जैलेसुकै जाँगर
घच्चा घात घना खपेर विचरा घन्किन्छ घण्टाघर
१
देख्यो वेदन वृद्धको विकलको नैराश्यको नाशको
नारीको नरको निरीह नुतको बेनामको नामको
नीचा निम्छरमा निशाफ नहुँदा बन्दै गयो जर्जर
घच्चा घात घना खपेर विचरा घन्किन्छ घण्टाघर
२
झुट्टा झेल झुकावका झिलिमिली झेल्यो झरी झञ्झट
छद्मी छन्द न बन्धका छलहरू छर्लङ्गले छट्पट
रोजै आँसु झरे दुखेर बहुतै पीडा भए सागर
घच्चा घात घना खपेर विचरा घन्किन्छ घण्टाघर
३
नाता नैतिकता भुले सकलले निष्ठा खरानी भए
स्वेच्छाचार ढलिमली शिखरमा सद्भावना टाढिए
श्रद्धा स्नेह समाप्तिले शहरमा सस्ता भए सादर
घच्चा घात घना खपेर विचरा घन्किन्छ घण्टाघर
४
सत्कर्मी सकिए सुधारक सुके सन्मार्ग टेढा भए
मौलाए व्यभिचार बाधकहरू बाधा दिँदै फैलिए
खाँबो छैन कतै निदाल न कतै मक्किसकेका भर
घच्चा घात घना खपेर विचरा घन्किन्छ घण्टाघर
५
चन्द्रागिरि नगरपालिका- १३
पुरानो नैकाप, काठमाडौँ
हालः-न्युयोर्क अमेरिका
Subscribe
Login
0 Comments
Oldest