सुलसुलेकविता तथा निबन्ध प्रतियोगिता कार्यक्रम सम्पन्न

मेचीनगर । ०७९, असार ३ । साहित्य कला संस्कृति प्रतिष्ठान, विर्तामोडको आयोजना तथा विर्तामोड नगरपालिकाको सहआयोजनामा भएको नगरभरिका विद्यालयका विद्यार्थीबीच भएको कविता तथा निबन्ध प्रतियोगता कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रमको प्रमुख आतिथ्य गर्नु भएको थियो साहित्यकार पुण्य खरेलले । प्रतिष्ठानका अध्यक्ष भगवती ढुङ्गेलको अध्यक्षता, जनक खड्काको संचालनमा भएको कार्यक्रममा मुना प्रसाईंले स्वागत गर्नुभएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य सुभद्रा भट्टराई, प्रलेस केन्द्रीय सदस्य राजेन्द्र संग्रौला, क्षितिज नाट्य समूहका अध्यक्ष माधव कल्पित, साहित्य चौतारीका संरक्षक देवीभक्त श्रेष्ठ, चौतारीका अध्यक्ष हस्त परियार, हरिप्रसाद ओझा, कुमारी चेम्जोङ, मातृकला सांस्कृतिक केन्द्रका अध्यक्ष मातृका संग्रौला, कविहरू टीका चापागाईं, चित्रा पौडेल, उद्यमशील महिला समुहकी पार्वता खरेल विमली, जयन्द्रप्रसाद प्रसाईं साहित्य सेवाकोषका अध्यक्ष गोपीकृष्ण प्रसाईं, नृत्य कलाकार चन्दा दाहाल आदिको आतिथ्य रहेको कार्यक्रममा दर्जनजति विद्यालयका विद्यार्थीले कविता तथा निबन्ध प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए ।
समितिका सदस्य इन्द्रप्रसाद कटुवालले कार्यक्रमको औचित्यका बारेमा प्रकाश पार्नुभएको कार्यक्रममा प्रतिस्पर्धी विद्यार्थीको सृजनाको मूल्याङ्कन डा.ठाकुरप्रसाद पोखरेल, जीवनाथ सुवेदी तथा मोक्ष खतिवडाले गर्नुभएको थियो । उहाँहरूको मूल्याङ्कन अनुसार निम्नानुसारको नतिजा प्राप्त भएको थियो । निबन्धतर्फ महेन्द्र रत्न मा.वि., अनारमनीकी छात्रा तृष्णा भट्टराई प्रथम, वाल्मिकी एजुकेशन फाउण्डेसनकी मनिका भण्डारी द्वितीय, मोहनमाया मा.वि. चारपानेकी पूजा पुरी तृतीय, देवी मा.वि. विर्तामोडकी रोजु भण्डारी चतुर्थ हुनुभएको थियो । यस्तै कवितातर्फ वीर अमरसिंह आधारभूत विद्यालयका प्रकाश निरौला प्रथम, महेन्द्रज्योति मा.वि. सैनिकका घनश्याम कार्की द्वितीय, वाल्मिकी एजुकेशन फाउण्डेसनकी शीतोष्णा तिमसिना तृतीय तथा न्यूटन एजुकेशन आवासीय विद्यालयका ग्रीष्मादेश प्रसाईं चतुर्थ भएका थिए ।
पुरस्कृत विद्यार्थीहरूलाई प्रमुख अतिथिबाट नगद तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको थियो । बालकवि निशान तथा कविहरू मातृका संग्रौला, कुमारी चेम्जोङ, टीका चापागाईं, चित्रा पौडेलले अप्रतियोगी कविता वाचन गर्नुभएको सो कार्यक्रममा राजेन्द्र संग्रौला, कुमार भट्टराई, देवीभक्त श्रेष्ठ, सुभद्रा भट्टराई तथा पुण्यप्रसाद खरेलले शुभकामना तथा बधाई मन्तव्य राख्नुभएको थियो भने अध्यक्षद्वारा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरिएको थियो ।
Subscribe
Login
0 Comments
Oldest











































