कोमल भट्टगाईजात्रा
कैले होला तह सकलको उच्च एकै समान । कैले होलान् विमल मनका देश हाँक्ने तमाम ।

गाईजात्रा प्रतिदिन जसो हुन्छ नेपाल भित्र
नेता न्यासे बदनियतका छैन राम्रो चरित्र
प्यारी हाम्री जनम जननी रित्तिँदैछिन् क्रमैले
चुस्दाचुस्दै रस जति सके धूर्त स्वार्थी सबैले ।१
मारामारी झडप झगडा छैन आनन्द शेष
बाटो लागे कुशल प्रतिभा देश छाडी विदेश
जाली झेली कलुष कपटी पुग्न थाले चुलीमा
सीधा सादा विकल बबुरा पिल्सिए जिन्दगीमा ।२
कैले व्यर्थै गृहकलहले हुन्छ ‘नेपाल बन्द’
कैले चर्का विष वमनले ध्वस्त पार्ने प्रबन्ध
बिर्सी बाचा कसम सहजै गर्न थाले कुकर्म
लुट्ने मात्रै तनमन भयो शून्य निष्ठा र धर्म ।३
आफ्नै चिन्ता पलपल गरे देशको छैन चिन्ता
ठान्ने आफ्ना निकट बहुतै गर्छ जल्ले प्रशंसा
लागेकाछन् हरकिसिमका चाकरीबाज लाम
खोज्ने सारा सुखसयल वा सम्पदा शानमान ।४
कोही अग्ला सिस महलमा व्योमका छन् समीप
कोही भोका नयन भरिला मेटिएका नसीप
कैले होला तह सकलको उच्च एकै समान
कैले होलान् विमल मनका देश हाँक्ने तमाम ।५
सङ्ग्ला नेता सलल सरिता प्रेमधारा बनेर
हर्लान् कैले सकल जनका पीर बाधा अनेक
फिर्ला कैले सुमति सबमा सुध्रिँदै देश मेरो
हट्ला कैले वरिपरि सधैँ फैलिएको अँधेरो ।६
०००
चन्द्रागिरि नगरपालिका वा. नं -१३
पुरानो नैकाप, काठमाडौँ
हालः न्युयोर्क, अमेरिका
Subscribe
Login
0 Comments
Oldest






































