होम सुवेदीभेडाको हुन्छ के भर ?
पुरानो खोर भत्काए थुँत्त थुँत्त गरी गरी राइँ दाइँ यता गर्लान् यतैको खोरमा सरी । भत्काए खोर भत्काए, भत्काए खोरको चर नपर्नू कहिल्यै हेर यी थुँबाको भर हुन्छ र ?

देशमा अहिलेसम्म भेडाको अवशेष छ
भेडाको जात हो चर्ने पुर्खाको उपदेश छ ।।
त्यो खोरबाट यो खोर भेडा सर्ने भए अब
जता छ हरियो घाँस त्यतै चर्ने भए सब ।।
उताका हाँचमा बस्ता पेट रित्तै हुने बुझे
घोर्ले बोको जता बस्छ त्यसैको मूर्तिमा पुजे ।।
उताबाट यता सर्दै राइँ दाइँ गरे अब
पल्लो खोर भयो रित्तो वल्लोमा ती सरे जब ।।
पाठा पाठी तथा बोका पर्नेछन् अब घानमा
त्यो पल्लो गोठको, भेडो यता छिर्दा बथानमा ।।
भेडाकोे हुलमा धेरै पठेक्रा थे चटारिँदै
थियो भीमसिने बोको बाख्रा खोजी बटारिँदै ।।
हाँचमा बाख्रीका साथ भेडो छ अब नारिँदै
मौका चानस पाएर यता लाग्यो लठारिँदै ।।
हाँच हेर्दै चहार्नेको भर के हुन्छ आखिर
जता घोर्ली चरेका छन् घोर्ले लाग्छ त्यतैतिर ।।
पुरानो खोर भत्काए थुँत्त थुँत्त गरी गरी
राइँ दाइँ यता गर्लान् यतैको खोरमा सरी ।।
भत्काए खोर भत्काए, भत्काए खोरको चर
नपर्नू कहिल्यै हेर यी थुँबाको भर हुन्छ र ?।
थुँबाले ड्याम हानेर भत्काए अघिको घर
थलो फोहोर पारेर खपिसक्नु कहाँ छ र ।।
०००
भद्रपुर, झापा
Subscribe
Login
0 Comments
Oldest





































