इन्दिरा प्रयासभो भो म क्यै लेख्दिन
छोरी हुन् घरकी अमूल्य गहना भन्छन् मुखैले झन छोरी नै उपहास हुन्छ किन हो भ्रुणै हत्याईकन नारीले करले कतै रहरले मार्लान् कि खै भेट्दिन् छोरा मात्र धरा भराउन गए भो भो म क्यै लेख्दिन।

चाहन्छन् गतिली जसै गुणवती मिल्दो रहोस् जातमा
खान्दानी पनि होस् पढेर विदुषी अल्छी नहोस् साथमा
छोरी जन्मनु पाप हो यदि भने आमा पुकार्छौ किन?
छोराले घर धान्दछन् यदि भने भो भो म क्यै लेख्दिन ।।
छन् विज्ञान जसो गरून् सफल भै सन्तान जन्माउलान्
गर्भैमा शिशुको गरे दहन नै छोरी कहाँ आउलान्
फोस्रा कार्य गरी प्रभाव नरले लाद्छन् कि खै देख्दिन
छोरा मात्र सुयोग्य हो यदि भने भो भो म क्यै लेख्दिन ।।
छोरी हुन् घरकी अमूल्य गहना भन्छन् मुखैले झन
छोरी नै उपहास हुन्छ किन हो भ्रुणै हत्याईकन
नारीले करले कतै रहरले मार्लान् कि खै भेट्दिन्
छोरा मात्र धरा भराउन गए भो भो म क्यै लेख्दिन।।
लोग्ने दम्भ बिना रहोस् विविधमा माया रहोस् साथमा
भान्सा होस् अधिया बुझेर ममता हाँस्दै रहुन् बातमा
आँखामा नबिझाउने कुसल छन् भन्ने कतै भेट्दिन
छोरा नै सब थोक हो यदि भने भो भो म क्यै लेख्दिन।।
०००
सानोठिमी, भक्तपुर
Subscribe
Login
0 Comments
Oldest







































