साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सानो कद

प्राय ताला ठोकेर, केरा पकाउन राखिएको हुन्थ्यो, मैले त्यसै झ्यालबाट पसेर रुचि अनुसारको केरा खाने गरेको थिएँ । त्यो झ्यालबाट बिरालो र म बाहेक कोही पनि छिर्न सक्दैन थियो ।

Nepal Telecom ad

पुड्को भनेर म सुपारीको कुड्को जस्तै पुड्को पनि होइन, तर मुठी नपुगेको मानो जस्तै सानो कदको भने अवश्य हो । यो यथार्थ मैले त्यस दिन थाहा पाएँ, जतिबेला म एघार वर्षको थिएँ । यस भन्दा अघिसम्म मलाई यसबारेमा अलिकति पनि शङ्का थिएन, त्यसदिन बल्ल थाहा भयो अन्य मान्छेको तुलनामा मेरो कद केही सानो नै रहेछ ।

त्यसताका दशैंमा घरपरिवार र मान्यजनहरु बाट टिका थापे पछि मावली घर कहिले पुग्ने जस्तो लाग्थ्यो । घरदेखि मावल पुग्न लगभग तीन घण्टाको समय छुट्याउनु पथ्र्यो । सहजै साथी पाए त केही थिएन नपाए पनि बटुवा साथी कसो नपाइएला भन्दै एक्लै बाटो लागिन्थ्यो । सन्जोगले बटुवा भेटिए उसका सुरमा हिंड्नु पर्ने, नभेटिए पनि खासै फरक पर्दैन थियो, बरु द्रुतगतिमा लामो पाइला सार्दा निर्धारित समय भन्दा छिटो पुग्न सकिन्थ्यो । किनकि आफ्नो सारा ध्यान मावलमा दशैँलाई ठिक्क पारेको नोटको नयाँ बिटोमा मात्र केन्द्रित हुन्थ्यो र त्यसैको आकर्षणले पाइला खिचिरहेको हुन्थ्यो ।

जब म त्यसदिन मावल नजिकैको सानो बजार पुगेँ, त्यहाँ केही पसलहरू थिए । एक मोहरको मिस्री किनेपछि निकै डटेर एक अङ्खोरा पानी माग्ने हिम्मत आउँथ्यो । अन्यथा पानी माग्न डरै लाग्थ्यो । त्यसदिन पानी मिस्री खाएर पर्खालमा टुसुक्क बसेको मात्र थिएँ, पसलेले सोध्यो-
“ए फुच्चे घर कता हो ?“ मैले तान्द्राङ भनेर बताएपछि उसले पुनः सोध्यो- “स्कूल जाने गरेको छ ?” स्कूल मात्र होइन म अहिले पाँच कक्षामा पढ्दै छु ।” मैले निकै फुर्तीसाथ बताइ दिएँ ।
“कता जान हिँडेको ?” उसले मलाई अर्को पनि प्रश्न गर्‍यो ।
म ढकालको भानीज हूँ, दशैंको टिका थाप्न मावल जान लागेको ।”
सायद उसले मलाई चिनेछ क्यारे !
तिमी दाहालको छोरा हो ? “दाहालको छोरा मात्र होइन म पनि दाहाल हो ।” मैले भनें ।
उसले पुनः मेरो शिरदेखि पाउसम्म नियालेर हेर्दै भन्यो-
“अलि बढी बोल्दा रहेछौ, यति सानो बच्चा पनि कतै पाँच कक्षामा पढ्छ ? नचाहिने कुरा गर्नुहुन्न बुझ्यौ ?”

उसले मेरो कुरा पत्याएन । तर वास्तविकता चाँहि त्यही थियो, म पाँच कक्षामा पढ्दै थिएँ ।
“पत्याउनु नपत्याउनु तपाईंको कुरा, तर म पाँच कक्षामै पढ्छु ।” मैले पनि अदब साथ भनिदिएँ ।
“कति वर्षको भयौ ?” उसले अझै पनि मेरो जाँच गरिरहेको थियो ।
“एघार वर्ष ।”
मैले यति भनेपछि उसले जिभ्रो टोक्दै भन्यो-
“त्यसो भएर पो यस्ता छिप्पिएको कुरा गरेको रहेछौ । मान्छे जिलीगान्टे भएर पो रहेछ । उमेर त खाइसकेका रहेछौ । छिप्पिएको कुभिण्डो न हो, फुस्रो नहुने कुरै भएन !”

यसअघिसम्म कुरा गरिरहँदा मलाई निकै आनन्द आइरहेको थियो । जब उसले मलाई जिलीगान्टे र फुस्रिएको कुभिण्डोसँग तुलना गर्‍यो, मलाई अचानक करेन्ट लागे जस्तै भयो । झनक्क रिस पनि उठ्यो । म उत्तिखेरै कालो निलो भएँ । यतिन्जेल उसलाई देखाइरहेको मेरो फुर्ती एकाएक, एकदिन अघि टिपेको रायोको साग जस्तै ओइलाउन थाल्यो । अब मलाई त्यहाँ एकछिन पनि बस्न मन लागेन ।

पसलदेखि ओरालो झरेर मावल पुग्न आधा घण्टा लाग्ने भए पनि त्यस दिन भने म पन्ध्र मिनेटमा झरें ।
पेट पोलिरहेको थियो, मेरो शारीरिक कद अन्य मान्छेको तुलनामा केही सानो रहेछ । अब मान्छेहरूले मलाई वामपुड्के भन्न सक्छन् । खिसी गर्न सक्छन् । मेरो सानो कदमाथि व्यङ्ग्य प्रहार गर्न सक्दछन् । त्यसदिन मलाई मेरो उचाइ प्रति घृणा लागेर आयो ।

त्यस मान्छेले मलाई जिलीगान्टे भनेको कुरा मैले कसैलाई पनि सुनाइन । सबैलाई सुनाउने हो भने अझै मेरो पुड्कोपनको औपचारिक रूपमा पुष्टि हुन सक्थ्यो । त्यस मान्छेले मलाई पुड्को भनेको कुरा मैले गुपचुपमा राखें । म पुड्को भएको यथार्थ गोपनीय रहोस्, म यही चाहन्थें । हुन त इज्जत जाला भनेर डोकाले छोप्नु र आफू गान्टे भएको कुरा कसैलाई भन्दिन भन्नुको कुनै अर्थ थिएन । दुवै कुरालाई छेक्न र ढाँट्न सकिदैन । संजोगले केही वर्षसम्म मलाई कसैले पनि गान्टे भनेन । त्यस घटना भन्दा पछि, होचो कदकै कारण म धेरै पटक फटाहा मानिएको छु, धाक लगाउने मान्छेमा गनिएको छु ।

बरु जागिरमा पद पुड्को भए केही पनि फरक नपर्ने रहेछ । सरकारले पुड्को र अग्लो नछुट्टिने गरि पोशाकको व्यवस्था गरिदिएको छ, तर कद पुड्को हुनुको पीडा त कति हुन् कति ! कुरै गर्ने हो भने आजसम्म मैले रेडिमेड कपडा लगाउने अवसर जुरेको छैन । रेडिमेड कपडा मलाई मनै नपर्ने भने होइन, तर मैले रेडिमेड सर्ट पाइन्ट लगाउन नपाउनुको मूल कारण मेरो सानो कद जिम्मेवार छ । बेबी साइजको कपडा सानो हुन्छ । त्यसभन्दा माथिको साइज ठूलो हुन्छ । जुत्ता चप्पलको व्यथा पनि उस्तै हो ।

म सदरमुकाममा एस.एल.सी परीक्षा दिन गएको थिएँ । त्यसदिन गणित विषयको परीक्षा चलिरहेको थियो । तीनचार जनाको एउटा टिम आएर परीक्षा दिइरहेका बेला मलाई उठाइयो । अधीक्षकले टिम बनाएर आएका रहेछन् । मेरो नाम, जन्ममिति, वावुको नाम सोधियो । मैले उत्तर दिँदैं गएँ । मेरो प्रवेश पत्रको तस्वीर र मेरो अनुहारमा पटक पटक हेरियो । सायद त्यतिले मात्र पुगेन । मेरो विद्यालयका गार्ड बनेर आएका तर त्यसदिन अर्को कोठामा खटाइएका शिक्षकलाई बोलाएर सोधियो-
“यो भाइ चिरञ्जीवी हो ? शंका लागेर सोधेको ।”
ती शिक्षकले “हो यिनी चिरञ्जीवी हुन्“ भनेपछि म अपराध मुक्त ठहरिएँ । मेरो ७ मिनेटको समय बरबाद भयो । त्यो ७ मिनेट नोक्सान भएको समयको जिम्मेवारी लिने काम पनि मेरो होचो कदलाई नै सुम्पियो ।

आजसम्म मेरो कपाल फुलेको छैन । फुलेको दारी जुँगा म राख्दिन, कम्तिमा पनि एक-दुइ दिन बिराएर खुर्कने गरेको छु । जब म कुनै अस्पताल र ल्याबमा पुग्छु, म भन्दा निकै कान्छा उमेरका व्यक्तिहरू जेष्ठ नागरिकको लाइनमा उभिन्छन्, म त्यहाँ उभिदा मलाई भने कनिष्ठ नागरिकको लाइन देखाइन्छ । मलाई ठाडै प्रतिवाद गरेर रमिता देखाउन मन लाग्दैन । देखाएर पनि हुनेवाला केही छैन । मैले बोलेको पनि कसैले सुन्ने प्रयास गर्दैन । जे त होला जेष्ठ नागरिकको लाइनमा भन्दा एकाध घण्टा बढी उभिनु पर्ने न हो । हार नमानि म कनिष्ठ नागरिकको लाइनमा उभिन्छु ।

मेरो ससुराली तिरका कुनै आफन्त मेरो घर आएको बेला सबैभन्दा कठिन परिस्थिति त्यतिबेला उत्पन्न हुन्छ, जतिबेला उनीहरूले मसँग एउटा प्रश्न सोध्ने गरेका छन् ।
“बाबु, आमा कता हुनुहुन्छ ?”
एकदुई पटक त मैले भन्ने गरेको थिएँ-
“आमा घर हुनुहुन्न, उहाँ काठमाडौँ बस्नुहुन्छ ।” मैले त्यसो भनिसक्दा नसक्दै मेरी अर्धाङ्गिनी फुत्त ढोकामा देखा पर्थिन् । उनीहरू नाक खुम्च्याउँदै घुरेर मलाई हेर्ने गर्थे । मानौं म निकै फटाहा मान्छे हुँ । आमा भित्र हुँदाहुँदै पनि म ढाँटिरहेको छु । उनीहरूलाई के थाहा ढोकामा उभिने मेरी अर्धाङ्गिनी हुन् भनेर !
हार खाइसकेर अचेल म भनिदिन्छु- “आमा भित्रै हुनुहुन्छ ।”
जब मेरी अर्धाङ्गिनीले “बाहिर बस्ने छोरो कहाँ हो र ? उहाँ त बुढा” भनेपछि कान रातोपिरो हुने पालो मेरो होइन उनीहरूको हुन्थ्यो । उचाइको कुरा गर्ने हो भने म श्रीमती भन्दा चार अङ्गुल मात्र होचो छु । अझै एक दुई अङ्गुल थप होचो भएको भए त यिनीहरूले मलाई छोरो होइन नाति नै ठान्दा हुन् ।

म छोरीको घरमा गएको बेला आँखाको दृष्टि कम भइसकेका बुढो सम्धीले कसैलाई सोध्नुभयो- “उहाँ को हो ?” कसैले भनिदियो “हजुरको ठूली बुहारीको बा ।”
उहाँ रिसाउदै भन्न लाग्नुभो- “ख्याल बोल्नुको पनि हद हुन्छ नि । बरु बुहारीको दाजु हुनुहुन्छ होला । म बुढो मान्छेलाई किन जिस्क्याइरहेको ?” केही सिप नलागे पछि म आफैले स्पष्टीकरण दिनु पर्‍यो । “हो हजुर, म हजुरको बुहारीको दाजु होइन बा नै हो ।”
मेरो कदसँग जोडिएका यस्ता प्रसङ्गहरू अनगिन्ती छन् ।

म पाल्पामा जागिरे हुँदा घटेको सुँगुर काण्डपछि म हिलाम्य भएको घटना त मेरो आत्मकथा “मुमूर्षामा“ समेत उल्लेख गरिसकेको छु ।
जब बसमा कोचाकोच हुन्छ, तीनजनाको सिटमा चारजना राख्नु पर्‍यो भने खलासी भाइको पहिलो नजरमा म पर्ने गरेको छु । ऊ फ्याट्टै भनिदिन्छ “लहै सानो मान्छेहरू चारजना अटाउँछ, अलि पर सर्नु ।” मलाई रिस उठे पनि म चुप लागेर कुनातिर कोचारिन्छु । कदकै कारण आरामले बसमा बस्न पनि पाइँदैन ।

जब घरमा, मन्दिरमा पुजाआजा गरिँदा पण्डितले सधैं म भन्दा अगाडि मेरा भाइहरूलाई टिका र प्रसाद दिने गरेका थिए, मलाई झनक्क रिस उठ्थ्यो । अचेल भने बानी परिसकेको छ । पण्डितले टिकाको थाली हातमा लिनासाथ म सबैभन्दा अगाडि निधार तेस्र्याएर भन्छु “पहिला मलाई टिका लगाउनुस् गुरुजी, म यिनीहरूको दाजु हुँ ।”

मेरो सालोले कसैसँग खवर पठाउँछ, “हाम्रो भिनाजुलाई एक छिन ससुराली जान भनिदिनुस् है ।” त्यो मान्छेले जब मलाई देख्छ, सायद उसले “भिनाजु” भनेको बिर्सन्छ क्यारे । उसले मलाई भन्छ, “तपाईको जेठानले बोलाएको छ , ससुराली जानुस् अरे ।”

मेरो जेठान भएको भए त त्यसले ठिकै भन्यो होला भन्ने लाग्थ्यो । तर एकजना पनि मेरो जेठान छैनन्, जति छन् सबै मेरा सालाहरू मात्र हुन् । त्यसले मेरो कद देखेर नातामा हेरफेर गर्‍यो भन्नेकुरा म सजिलै थाहा पाउँछु ।

रात भएपछि दिन, उज्यालो भएपछि अँध्यारो भनेजस्तै हरेक कुराको फाइदा बेफाइदा हुन्छ । सानो कद हुनुको फाइदा पनि मैले प्रसस्त पाएको छु । सानो मान्छेको गानो जाँदैन भन्थे, हो रहेछ । यसले भारी बोक्न सक्दैन भन्छन्, बोक्नै पर्दैन । गह्रौं भारी बोके पो गानो जानु । आजसम्म मेरो गानो गएको छैन ।

जागिरे भएपछि जब मैले आफ्नो लागि सर्ट पाइन्ट किन्नु पथ्र्यो, अन्य साथीको भन्दा मलाई कम कपडाले पुग्थ्यो । म त्यसबेला भने निकै मख्ख पर्थें, कमसेकम केही रूपैयाँ वचत भएको खुसीयालीमा ।

यही होचो कदलाई हतियार बनाएर जागिरे भएपछि पनि धेरै वर्षसम्म मैले बसमा यात्रा गर्दा विद्यार्थी सहुलियत लिने गरेको थिएँ । भनिदिन्थें “मसँग परिचय पत्र छ ।” ओछ्यानमा भएको खाट, सिरक, डसना पनि बडेमानको बनाउनु पर्दैन । घर बनाउँदा पुराना घरका झ्याल ढोका ल्याएर प्रयोग गरें, उनीहरूले होचो भनेर बिक्री गरेका ढोका मेरो लागि ठूलै छन् । तर पाहुना पाछा आउँदा भने निकै बिचार पुर्‍याउनै पर्ने हुन्छ ।

त्यतिमात्र होइन, उहिले हाम्रो घरको स्टोरमा एउटा अर्ध चन्द्राकार झ्याल थियो । जहाँ प्राय ताला ठोकेर, केरा पकाउन राखिएको हुन्थ्यो, मैले त्यसै झ्यालबाट पसेर रुचि अनुसारको केरा खाने गरेको थिएँ । त्यो झ्यालबाट बिरालो र म बाहेक कोही पनि छिर्न सक्दैन थियो ।

त्यसताका राजनितिक र साहित्यिक कद निकै ठूलो भए पनि शारीरिक कद केही होचो भएका एकजना व्यक्तित्व राष्ट्रिय पञ्चायतको अध्यक्ष थिए । कसैले भन्थ्यो, जब उनी सवार झण्डावाला गाडी ट्राफिक प्रहरीले रोकेर ड्राइभरलाई केरकार गर्न लाग्थ्यो, उनी गाडीको सिटमा उभिएर भन्थे रे, “म साथमा छु ।“ जब यस्तै कुराको प्रसङ्ग कसैले झिक्थ्यो, म निकै रोमान्चित हुन्थें ।

एकपटक उनको घरमा गोरखातिरका एकजना कार्यकर्ता पुगेछन् । लचकदार सोफामा बसेर उनी सायद कुनै साहित्यिक सिर्जनामा तल्लिन थिए, ती कार्यकर्ताले उनलाई नदेखेपछि टेबुलमा भएको चुरोटको बट्टा गोजीमा राखेछन् । पछि उनी नक्कली खोकी निकाल्दै देखा परेछन् । चुरोट राख्ने कार्यकर्ता लाजले रातो पिरो भए । उनले तिनको मर्का बुझेर भनेछन् । विदेशबाट कसैले एक बट्टा चुरोट ल्याएको थियो, मलाई चाहिन्न तपाईं नै राख्नुभए हुन्छ । त्यसपछि, ती कार्यकर्ताले बल्ल राहत महशुस गरेका थिए रे । सानो कदको मान्छेको विषयमा यस्ता प्रसङ्ग सुन्दा भने मलाई आत्मग्लानि होइन, सानो कद भएकोमा निकै गौरव लाग्थ्यो । कल्पना गर्थें, म पनि मन्त्री, राष्ट्रिय पञ्चायतको अध्यक्ष भएँ भने यस्तै हुन्थ्यो होला । म मनमनै मन्त्री भएको कल्पना गर्थें ।

मैले होचो कदको प्रत्यक्ष लाभ पटक पटक लिएको छु । जब हातमा चन्दा रसिदको ठेली लिएर मेरो घरमा चन्दा माग्न आउँछन्, मैले सित्तै पाएको घरमुली दर्जालाई बलि दिएर भनिदिन्छु- “बा आमा घरमा हुनुहुन्न ।” चन्दा लिउँला भनेर कस्सिएर आएकाहरू दोहोरो बात नखापी फिर्ता हुन्छन् । म भने मख्ख पर्छु ।

होचो कदको पद भएकोले अग्लो कदको पद भएको मान्छेको गाली र हप्कीदप्की पनि त पटक पटक खाइरहनु पर्छ । प्रधानमन्त्रीले मन्त्रीलाई, मन्त्रीले साँसदलाई, साँसदले हाकिमलाई, हाकिमले अधिकृतलाई, अधिकृतले सुब्बालाई, सुब्बाले खरदारलाई, खरदारले मुखिया, मुखियाले पियन, पियनले, श्रीमती, श्रीमतीले छोरालाई र छोराले बाख्रालाई कुटेको कथा निकै प्रसिद्ध छ । तर खुशीको कुरा पद होचो जस्तै कद होचो भएकालाई पनि गाली गर्ने र हप्कीदप्की गर्ने प्रचलन भइदिएको भए जीवनमा कति गाली खाइन्थ्यो होला !

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नसाटिएको झोला

नसाटिएको झोला

चिरञ्जीवी दाहाल
कलश चोरलाई खुलापत्र

कलश चोरलाई खुलापत्र

चिरञ्जीवी दाहाल
सुन कागती र गोजी कागती

सुन कागती र गोजी...

चिरञ्जीवी दाहाल
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
जिब्रो

जिब्रो

चिरञ्जीवी दाहाल
ताली पर्व सधैँ आइरहोस्

ताली पर्व सधैँ आइरहोस्

चिरञ्जीवी दाहाल
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
जागिरको जाल कि साहुको चाल !

जागिरको जाल कि साहुको...

ठाकुरप्रसाद अधिकारी
बिन्ती, बक्सियोस् आज झोली

बिन्ती, बक्सियोस् आज झोली

डिल्लीराज अर्याल
रुख महात्म्य

रुख महात्म्य

देवीप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x