हाेमनाथ घिमिरेके के हुन्छ !!
आफ्नो स्वार्थ मिले सबै दल यहाँ सम्पूर्ण कुम्ल्याउँछन्। आफ्नो शक्ति पुगे सबै खल यहाँ सत्यार्थ गुल्ट्याउँछन् । आफ्नो भक्त भए क्षमा छ सहजै कानून उल्ट्याउँछन् ।

के के हुन्छ हुँदैन हुन्छ कसरी आश्चर्य नेपालमा ।
काटेँ तीनबिसे पुगेँ समयले भोग्दै छु सैपालमा ।
धेरै थोक बने लडे प्रकृतिले हावा उडायो कति ।
फेरिन्छन् कसरी मुहार यसरी उल्टो छ बोली अति ।१।
बोलीबाट चिनिन्छ संस्कृति तथा संस्कार आफ्नोपना ।
कस्तो कूल रहेछ मूल थरको जानिन्छ सादा घना ।
फेर्छन् रूप सधैँ वसन्त ऋतुमा फेर्दै छ मान्छे जब ।
के के हुन्छ हुँदैन हुन्छ कसरी उद्देश्य के छन् तब ।२।
यौटै व्यक्ति कुनै कुनै दल दले फेर्छन् सधैँ रङ्गमा ।
छेपारोसरि पो बनेर अहिले चढ्दै गए अङ्गमा ।
के पो हुन्छ यहाँ हुँदैन कसरी सम्पूणर् सम्भावना –
देख्दै छन् अहिले भनौँ म जसरी के हुन्न नेपालमा ?३।
छैनन् तर्क कुनै कुतर्क भनियो लाग्छन् सबै पुच्छर ।
राम्रो रे सबमा तथापि अहिले भन्छन् बडो दुच्छर ।
कल्ले खन्छ यहाँ सदैव पथमा जाकिन्छ खाल्डो जहाँ ।
के के हुन्छ हुँदैन भन्नु कसरी विश्वास मानौँ कहाँ !४।
आफ्नो स्वार्थ मिले सबै दल यहाँ सम्पूर्ण कुम्ल्याउँछन्।
आफ्नो शक्ति पुगे सबै खल यहाँ सत्यार्थ गुल्ट्याउँछन् ।
आफ्नो भक्त भए क्षमा छ सहजै कानून उल्ट्याउँछन् ।
के के हुन्छ भनौँ हुँदैन कसरी संसार हल्लाउँछन् ।५।
०००
भरतपुर चितवन
Subscribe
Login
0 Comments
Oldest








































