साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धुन्धुकारीहरूको देशमा

यता, पैसा भरिएको खाम तयार छन् मर्नेहरू 'पर्सिन' मात्रै बाँकी देखिन्छ यहाँ व्यवस्था परिवर्तनपछि सहिद बनाउने अवसर पटक-पटक आइरहेको छ धुन्धुकारीहरूको देशमा ।

Nepal Telecom ad

संप्रस पाैडेल :

बाघको बङ्गारा झरिसकेपछि
थोते गिजाले शिकार निचोरिरहेको
कत्ति नसुहाउँदो हुँदो रहेछ ।

सुहाएको त यिनै न हो-
डाली डाली डुल्दै पुतलीहरू
‘एन्टेना’ हल्लाउँदै साङ्लाहरू
खित खित हाँस्दैछन् माउसुलीहरू ।

कहिलेकाहीँ लाग्छ-
देश त माउसुलीहरूले पो अड्याएका छन् ।
त्यहीबेला खुत्रुक्क तिनको पुच्छर झर्दछ ।

कहिलेकाहीँ लाग्छ-
देश त साङ्लाहरूले बचाएका छन्
त्यही बेला बारूलोले चिलेर घिसार्दै लैजान्छ ।

कहिलेकाहीँ लाग्छ-
नयाँ नयाँ पुतलीहरूले पो चलाएका हुन्
देख्छु त्यही बेला धिपधिपे बत्तीले नै ती आफैं सति जान्छन् ।

जनताका लागि बुर्जुवा शिक्षा घातक भन्ने कामरेड
अपान वायु छाड्दै जलवायु सम्मेलनमा जानुहुन्छ
राता कार्पेट नभए तिनका कार्यकर्ता यता बुरूक्क उफ्रन्छन्
दल र व्यक्तिका भक्तहरूको झोकको मूल्य
सरकारी कार्यालयको सिसा अनि
व्यक्तिगत सवारीसम्मले चुकाउनु परेको छ ।

यसकारण,
हाम्रा बा नै ज्यादा क्रान्तिकारी लाग्यो बरू
आफू नपढेर पनि सन्तान पढाए
र भने सकेसम्म देशमैँ केही गर्नुपर्छ बाबु ।

हरियानाबाट ल्याइएको होल्याण्ड गाई पालेर
देशमैं केही गर्छु भन्ने गोबर सोहोरेका सोहोर्यै छ
समाचार छापिएको छ- सीमामा कडाई नहुँदा दूध किसान मर्कामा ।

नीति बनाउनेको तलब तोकिएको छ
जनताको काम गर्ने कर्मचारी उसकै देखभाल गर्छ
ध्यान पुग्दैन, आफ्नो सुविधा बढाउने बाहेक अरू नीति बनाउनमा ।

केही थान जोकरलाई सत्ताको चाबी दिइएको छ
जोकरहरूले पालैपालो चाबीको झूत्तो हुत्याएर खेलिरहेछन्
दुखद कुरा- ‘कमेडी पुत्ला’ जलाउन
– जनता सडकमा छ
– सडक जनतामा छ ।

सडक ‘गीता ज्ञान’ ३० रूपैयाँमा बेचिरहेको छ
सडक दिनमा परिश्रम र रातमा जवानी बेचिरहेको छ
ज्ञान र परिश्रम बेच्ने सडक आफैंलाई पनि कबाडमा बेच्न चाहन्छ ।

सन्तानलाई डाक्टर बनाएपछि विदेशमा
कामरेड बोल्नुहुन्छ, आफ्नै मिडियामा-
“मलाई मेरोभन्दा देशको चिन्ता छ ।”
मिडियाले समाचार, हाइलाइट, विचारका नाममा
दिनभर बजाएकै यही हो ।

थाहा छैन यिनका चिन्ताले
फेरि को को चितामा पुग्ने हुन्
अब त चिन्ताको पनि छुट्टै डम्पिङ साइट चाहिएको छ ।

आजकाल यस्तै थोते बाघहरूले
सल्सल्ती निलिरहेका छन् सडकबाट सग्ला युवाहरू
खोल ओढेर राष्ट्रवादको ।

आफू रित्तिएपछि अरू पनि रित्याइदिन लागे
आफ्नो थैली सिध्धिएर बेखर्ची हुन लागेपछि
धुन्धुकारीहरू, देशै सिध्याइदिन लागे ।

यता, पैसा भरिएको खाम तयार छन्
मर्नेहरू ‘पर्सिन’ मात्रै बाँकी देखिन्छ यहाँ
व्यवस्था परिवर्तनपछि सहिद बनाउने अवसर
पटक-पटक आइरहेको छ
धुन्धुकारीहरूको देशमा ।

०००
हेटाैँडा, मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x