होम सुवेदीमहेन्द्र राजालाई च्यालेन्ज
तिम्रो र तिम्रा आफन्तको ह्याउ जाँचेका छौँ त्यसै चुप लागेर थोडै बाँचेका छौँ काम नपाएको कुकुर झैँ थोडै नाचेका छौँ उबेला ता खुबै गरेँ भन्थ्यौ होला ए राजा महेन्द्र ! उ बेला हामी निरीहलाई जेलमा कोचार्यौ त के चाहिँ लछार्यौ ?

होम सुवेदी :
ए राजा महेन्द्र ! 
हामी निरीहलाई
जेलमा कोचार्यौ त
के चाहिँ लछार्यौ ?
कुन फल अकासबाट झार्यौ ?
केको चिट्ठा पार्यौ ?
केके न लिएर जान खोजेझैँ गर्थ्याै
देशभरि जनताका घर घर चर्थ्याै
यसबापत तिमीले
यताबाट के के सार्यौ ?
के के बढार्यौ ?
केको फल झार्यौ ?
तिमीले जति थुने पनि
तिमीले सुने पनि नसुने पनि
तिमीले चुने पनि नचुने पनि
तिम्रो अस्तित्वलाई
अनि तिम्रा भुराभुरीलाई जितेर
आज हामी उन्मुक्त छौँ
ए राजा महेन्द्र !
हामी निरीहलाई
जेलमा कोचार्यौ त
के चाहिँ लछार्यौ ?
खुब सेखी गरेर हामीलाई
बन्धक बनाएका थियौ
खुसी मनाएका थियौ
हाम्रा छातीमा बुट हनाएका थियौ
संसारमा आफैँलाई मूल जनाएका थियौ
गोली हनाएका थियौ
हाम्रो विचार मार्छु भनेर
आफैँ गनाएका थियौ
तिमी फन्फनाएका थियौ
आफ्ना आउरेबाउरेको
कपाल कनाएका थियौ
तिमी आफैँ पछारियौ
आखिर कसलाई पछार्यौ
ए राजा महेन्द्र !
हामी निरीहलाई
जेलमा कोचार्यौ त
के चाहिँ लछार्यौ ?
हेर आज हामी उन्मुक्त छौँ
आफ्ना कुरा छाडेर
अरुबाट प्रयुक्त छौँ
जताबाट हुकुम भो
उतैबाट नियुक्त छौँ
अब हाम्रो जता मन हुन्छ
उतै जान्छौँ
मनलागी खान्छौँ
भेटे दनादन हान्छौँ
नसके परैबाट तान्छौँ
त्यो पनि नसके सुतिदिन्छौँ
त्यो पनि नसके
मुतिदिन्छौ
राजाशाहीबाट खुला भएका छौँ
सामन्तवादबाट मुक्त भएका छौँ
कतै माम भएका छौँ, कतै हाम भएका छौँ
साम्राज्यवादीका गुलाम भएका छौँ
गणतन्त्र ल्याएका छौँ
भाँडतन्त्र ल्याएका छौँ
गोरु पनि ब्याएका छौँ
अब कसले हामीलाई रोक्ने
हामी नै राजा भएका छौँ
जता जान मन भो
उतै जान्छौँ
मनलागे मान्छौँ
मन नलागे जान्छौँ
खुलस्त छौँ
जे पायो त्यही गर्छौँ
कसैलाई रोकटोक छैन
जसलाई जे गर्न मन लाग्यो
त्यो गर्न पाएका छौँ
खाएका छौँ अघाएका छौँ
कोपर्न पाएका छौँ
थोपर्न पाएका छौँ
चिथोर्न पनि पाएका छौँ
निचोर्न पनि पाएका छौँ
हेर जोरी नखोज
ए राजा महेन्द्र !
उ बेला हामी निरीहलाई
जेलमा कोचार्यौ
के चाहिँ लछार्यौ ?
आज हामी
जे मन लाग्यो त्यही गर्छौँ
जता हलुकिन मन लाग्यो
त्यहीँ खुला छ
दार्न खुला छ
सार्न खुला छ
जित्न खुला छ
हार्न खुला छ
बार्न खुला छ
मार्न खुला छ
चोर्न खुला छ
फोर्न खुला छ
उठाउन खुला छ
सुताउन खुला छ
मार्नसार्न दार्न खुला छ
पछार्न खुला छ
जसले जे गर्न मन गर्छ
त्यसलाई सब खुला छ
हेर भाग्य भनेको यस्तै हो
कसैलाई पालमा दुला छ
कसैको सुनको झुला छ
हग्न खुला छ
मुत्न खुला छ
भत्काउन खुला छ
भाँच्न खुला छ
नाच्न खुला छ
सके बाँच्न खुला छ
नसके मर्न खुला छ
मर्न मात्र किन
मर्न नसके
अर्को मुलकमा सर्न खुला छ
सक्नेका लागि
मार्न पनि खुला छ
बसाइँ सार्न खुला छ
सेखी झार्न खुला छ
भोलि भोलि भनेर
टार्न खुला छ
सुत्न खुला छ
मुत्न खुला छ
सडकमा माझमा छाद्न खुला छ
त्यहीँ पाध्न खुला छ
यो हो प्रजातन्त्र भनेको
यो हो गाणतन्त्र भनेको
ए राजा महेन्द्र !
उ बेला हामी निरीहलाई
जेलमा कोचार्यौ त
के चाहिँ लछार्यौ ?
तिमी देश भनेपछि हत्ते गर्थ्याै
जनता भनेपछि हत्ते गर्थ्याै
अहिले हामीले
तिमी मलिलो माटोबाट
धान उब्जाएर बेच्थ्यौ
हामीले माटै बेचेका छौँ
बाटै बेचेका छौँ
पानी बेचेका छौँ
पानीघाटै बेचेका छौँ
बाबै बेचेका छौँ
आमै बेचेका छौँ
नानी बेचेका छौँ
सानी बेचेका छौँ
जवानी बेचेका छौँ
जसरी पनि सम्पन्न हुनु न हो
तिमी धान चामल निर्यात गर्थ्यौ
हामी युवक निर्यात गर्छौँ
यसैले
ए राजा महेन्द्र !
उ बेला हामी निरीहलाई
जेलमा कोचार्यौ त
के चाहिँ लछार्यौ ?
आज
जता मन भो त्यतै नाचेका छौँ
जे मन भो त्यो भाँचेका छौँ
मर्ने मरेका छौँ
बाँच्ने बाँचेका छौँ
अब हेर
तिम्रो र तिम्रा आफन्तको
ह्याउ जाँचेका छौँ
त्यसै चुप लागेर
थोडै बाँचेका छौँ
काम नपाएको कुकुर झैँ
थोडै नाचेका छौँ
उबेला ता खुबै गरेँ भन्थ्यौ होला
ए राजा महेन्द्र !
उ बेला हामी निरीहलाई
जेलमा कोचार्यौ त
के चाहिँ लछार्यौ ?
०००
भद्रपुर, झापा
कार्टुन श्राेत : अन्नपूर्णा पाेष्ट
Subscribe
Login
0 Comments
Oldest








































