साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लोग्ने स्वास्नीको झगडा

हुन् सासू ससुरा कि भाइ भतिजा सम्धी तथा सम्घिना बाँचेको त हुँदैहुँदैन दुनिया यौटा झमेला बिना देखिन्नन् मनभित्रदेखि त खुसी छोरा बुहारी पनि हिँड्छन् बाहिर चाहिँ नाटक गरी जोडी परेवा बनी

Nepal Telecom ad

देव भट्टराई :

आफ्ना मानिस भेट्न अस्ति दिउँसो ठूलै झिकी साइत
धेरै वर्ष पछाडि आउनुभयो कान्छी फुपू माइत
धेरै मार्नु छ बात भोलि त यतै बस्नुस् न भन्दा पनि
एकै रात बसेर फर्किनुभयो मार्छन् बुढोले भनी

छोरी माइत आइनौ किन भनी सोधेँ हिजो हे हरे !
टेडे ज्वाइँ रिसाउँछन् हजुरको के आउने हो अरे
हल्ला सुन्छु दिदी भिनाजु पनि लौ छैनन् खुसी आपस
काकीले खुद भन्नुहुन्छ सकियो दाम्पत्यको नौ रस

ठूला दाजु र भाउजू त दिनमै नौ चोटि लड्छन् अरे
सानो दाजु र भाउजू त छिनमै बाझ्छन् र मिल्छन् अरे
मामाको व्यवहारले र मुखले छिन् माइजू आजित
भान्जाको पनि छैन रे दिल खुसी भान्जीबुहारीसित

बैनीको घर बिग्रिएर अहिले अन्तै गई पोइल
दोस्रो पोइ समेत पागल छ रे सम्झाउनै मुस्किल
सालीको घरबार भत्किन पुग्यो लोग्ने जँड्याहा हुँदा
सालाको घर भाँडिएछ बिचरा पत्नी कसैको छुँदा

खाडीमा पसिना बगाउँछ अरे त्यो सुन्तलीको पति
फोनैमा झगडा भनाभन सधैँ गर्छन् अरे ती अति
शंका धेर भयो अरे हृदयको लङ्का जल्यो रे खुबै
ऐले बन्द गरेर फेसबुक नै छन् रे बसेका दुवै

हुन् सासू ससुरा कि भाइ भतिजा सम्धी तथा सम्घिना
बाँचेको त हुँदैहुँदैन दुनिया यौटा झमेला बिना
देखिन्नन् मनभित्रदेखि त खुसी छोरा बुहारी पनि
हिँड्छन् बाहिर चाहिँ नाटक गरी जोडी परेवा बनी

बा आमा अनि दाजुभाइ र दिदी बैनीहरूकाे पनि
आ-आफ्ना मनका खुसी फरक छन् उस्तै कहाँ छन् त नि ?
आमाको मनको खुसीसित सधैं मिल्दैन बाको खुसी
बा हाँस्दा कति चोटि देख्छु म उता आमा हदै बेखुसी

बाले अस्ति त्यसै कराउनुभयो चर्को न चर्को गरी
आमा चित्त दुखाउँदै रुनुभयो भक्कानिँदै बेस्सरी
बा त्यस्तै हुनुहुन्छ भो नरुनुहोस् आमा तपाईं भनी
सम्झाए पछि बल्ल सम्झिनुभयो संसार यस्तै छ नि ।

०००
लमजुङ, हाल अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x