कुमार खड्काटाउकाको मूल्य (२)
उमेर, समय, परिस्थिति, सामाजिक र पारिवारिक अवस्था, धर्म, संस्कार, संस्कृति, रहनशहन, शिक्षा र चेतनास्तर आदिले टाउकोको क्षमता र मूल्यलाई निर्धारण गरिराखेको हुन्छ ।

कुमार खड्का :
अस्ति, हिजो बितिसक्यो आज विगतकै कुरो हुन्छ
जहाँ केही खुट्याइँदैन त्यहीँ सिकाइको चुरो हुन्छ
अपुरा लाग्छन् रितिथिति, मूल्यहीन सभ्यताहरू
इतिहासकै ज्योति बिना सभ्य समाज मधुरो हुन्छ ।
बचपन र भुत, प्रेतका कुरा…
हाम्रा बराजु राणाजीको आठपहरिया हुनुहुन्थ्यो अरे । घर शहर गर्दा सेतो घोडा चढेर ओहोरदोहोर गर्नुहुन्थ्यो रे । कहिलेकाहीँ राति अबेर घर फर्किँदा बाटोमा भुत, भुतेनीहरूसँग जम्काभेट हुन्थ्यो रे । भेटको प्रसङ्गमा ..“हाम्रा बाजेका क्या लामा दाह्री …?” भन्दै भुतेनिले दाह्री समाउदै जिस्काउँदा पनि आफू रत्तिभर नडराएको कुरा घरमा आएर बयान गर्नुहुन्थ्यो रे । “लाटाको देशमा गाँडो तन्नेरी” भनेझैँ शक्ति, पहुँच हुने र परिवारमा हातमाथि गर्नसक्ने मान्छेको कुरा अरुले पत्याइदिनुपर्ने बाध्यता पनि होलान् सायद ।
पल्ला गाउँका ठूलो बाले प्रेत जगाएर बिसौं रोपनी जग्गाको खेती लगाउने र भित्र्याउने काम भर रातमै सकाउनु हुन्थ्यो अरे ! वास्तविक भनिने यस्ताखाले दन्त्य कथाहरू बुवाकै मुखबाट सुनेपछि मलाई पनि मनमनै नजिकबाट भुत हेर्न र प्रेतलाई काम लगाउन पाए कस्तो मज्जा र सजिलो हुन्थ्यो होला ? भन्ने लाग्थ्यो ।
फेरि भुत भुतेनिसँग भेटेर कुराकानी गर्नसक्ने, प्रेतलाई काम लगाउन सक्ने कुप्र बा हरूले निरङ्कुश राणाहरूलाई भने किन तह लगाउन नसक्नु भएको होला ? किन डराएर उनीहरूकै प्रसंशा र चाकरीमै अधिक समय बिताउनु हुन्थ्यो होला भनेर मनमा कौतुहलता जाग्थ्यो, बेलाबेलामा । सायद भुत भन्दा वर्तमान झनै खतराको लेभलमा भएर पनि होला कि खै ?
ठूलो भएपछि बुवासँग यथार्थ बुझ्न खोज्दा उहाँले पनि उहाँकै बुवा याने मेरो हजुर बुवाले सुनाउनु भएको कथा सुनाएको मात्रै हो, भनेर हास्नुभयो । बल्ल पछि अनुमान भयो कि भुतेनिको हवाला दिदै र परिवारलाई गुमराहमा राख्दै कुप्रो बा ले कान्छी कुप्रीआमाको जोरजाम गर्नुभएको वास्तविकता र गाउँले छिमेकी ठुलोबुवाले सामन्ति समाजको जर्जर प्रतिनिधित्व गर्दै निम्छराहरूको श्रम दोहन गर्ने र अरुभन्दा श्रेष्ठ अभिजात वर्गको प्रतिनिधि भएको जबर्जस्ति प्रमाणित गर्न खोजेको तितो वास्तविकता ।
स्कुले कुरा…
विज्ञान पढाउने शिक्षकले गाई वस्तुको गोरस र दुग्ध पदार्थमा मानव स्वास्थ्यलाई हानी पुर्याउने ब्याक्टेरिया उपस्थिति हुने र जङ्गली जनावरहरू, विशेषगरि स्याल, फ्याउरो, ब्वाँसोका र्यालमा रेविजका हानिकारक भाइरस हुने कुरा लुइ पाश्चर भन्ने वैज्ञानिकले पत्ता लगाएका हुन्, भन्दा मेरै कक्षाका एक जना मित्रले लुइ पाश्चरलाई सत्तोसराप गर्दै बिनाकाम शान्तिले बसेका ब्याक्टेरिया, भाइरसलाई भड्काएर हामीलाई बेकारको झन्झट दिलाएछन् ..! “बेकुफिको पराकाष्ठा …।” भन्दै पाश्चरलाई गाली गरेर चिच्याएका थिए । कक्षा शिक्षक लगायत हामी सबै बुझ्ने जति साथीहरू पेट मिचिमिचि मजाले हासेको कुरा कहिले बिर्सन सकिदैन । अझै बिर्सेको छैन । साथीलाई पाण्डोराको बाकस खोलेको कथा सुनाउन पाएको भए त कति उत्पात मच्चाउँथे होलान् ? भनेर अहिले आएर हासो लाग्छ ।
बिहावारिका कुरा…
मलाई बच्चा बेलाको सम्झना आउँछ । उमेर पुगेपछि छोरालाई केटी र छोरीलाई केटा हेर्ने, हेराउने, कुराकानी छिन्ने र मिलाएर टिकोटालो गराउने कुरा अलि विशेष प्राविधिक र व्यवहारिक हुने गर्थ्यो । सबै कुराले निम्छरो स्थिति भए पनि केटा तर्फका मान्छे या लमिले छोराको बारेमा धक्कु लाउने स्थिति भनेकै केटो असल छन्, अरु भन्या त्यस्तै हो, जाँड, रक्सी, लागुभागु फिटिक्कै खाँदैन, छुँदै छुदैनन् भन्ने । छोरीलाई ज्वाइँ खोज्नेले पनि सबै हिसाबले कुरा मिल्यो भने केटो जाँड भाङ नखाने असल केटो भएकोले कुरा छिनियो भन्ने गर्दथे । कथंकदाचित कुरो बिग्रियो भने मनगढन्ते कुरा बनाएरै भए पनि अलि नसाको लत लागेको केटो रे छ, त्यसैले मन परेन भनेर पन्छाएझैँ गरि इज्जत जोगाउने गर्दथे ।
केटातर्फ एउटामात्र छोरो, २/३ थान लस्करै परालका कुन्यु भएको भन्ने बखान भएपछि अरुकुरा हेर्न र विचार गर्नै पर्दैनथ्यो । अझै गाउँको केटीलाई शहरिया केटो भनेपछि जेसुकै होस्, हारालुट जस्तै गरि सम्बन्ध गाँस्नमै जोड गरिन्थ्यो । सम्बन्धित र आफन्तबाट समातेर बाटैमा टीका लगाइदिए पनि हुन्छ भन्ने सिफारिस समेत हुने गर्थ्यो । उता छोरीतर्फ भने एउटा मात्र छोरी, दाजुभाइ नभएको भन्ने कुरा भएपछि प्रायः केटा पक्ष टाढिन खोज्थे । दाजुभाइ नहुदा माइतीको दीगोपना नहुने हुँदा सम्बन्ध गाँस्नु हुन्न भनेर आम धारणा मुताविक मिल्दैको कुराकानी पनि डिसमिस हुन सक्थ्यो ।
तर अहिले ठिक उल्टो अवस्था आएको छ । मेरो एकजना साथीको छोरीको विवाहको कुरा चल्दै गरेको प्रसङ्गमा मैले अस्तिको कुरा चाहिँ के भयो त मित्र ? भनेर सोधेको मात्र के थिएँ, साथिले फिस्स हाँस्दै भने,
“अरु कुरा त ठिकै रे छ ! परिवारको एकमात्र छोरो रहेछन्, मनले मानेन ।”
किन र ? के भयो ? भनेर मैले सोध्दा उत्तरमा उनले भने…
“छोरीले दुख पाउँछिन् जस्तो लाग्यो । दुःख नगराई हुर्काएको छोरी, बुढाबुढी स्याहार्दै हैरान हुने छाँट देखियो । त्यसैले त्यहाँको व्यवहार क्यान्सिल गरियो मित्र… ।”
ल हेर्नुस् त ? अझै २/४ दिदीबहिनी पनि भएको स्थितिमा त केटाले केटीनै नपाउने छांँटकाँट पो देखियो त । अहिलेको अवस्थामा भए मेरो आफ्नै पनि बिहेगर्नै समस्या पर्ने पो रहेछ । अरुहरूको मात्र के कुरा गर्नु ?
केटीतर्फको परिवारमा भने दाजुभाई नभएको एक्लि छोरी भएकोले घर ज्वाइँनै बस्दा समेत मिल्ने, एकलौटी सम्पति स्याहार्न पाउने भन्ने भएपछि खुशिराजी हुने अवस्था आएको देखियो । यस भित्र फस्टाउदै गरेको निहित स्वार्थी एकमना प्रवृत्ति, ऐश्वर्यको नसामा रुमलिएको समाज तथा लालची मानविय प्रवृत्तिलाई केही हदसम्म एकिन गर्न सकिन्छ जस्तो लाग्छ मलाई ।
खुराफाती चरित्र…
ऊ बेला हाम्रो छिमेकी गाउँमा एक जना गन्यमान्य व्यक्ति हुनुहुन्थ्यो । पञ्चायती कालखण्डमा धूर्त्याइँले खुबै मस्ती मारेर रिटायर्ड भएका खुराफाती हस्ती । मोफसलमा उनको विशेष रेकर्डहरू खुबै बणर्न हुने गर्थे । राजनीति, कुटनीति सिक्नुपरे उहाँलाई सम्पर्क गर्नुपर्छ, भन्नेकुरा प्रायः प्रत्येक घरघरमा चर्चा गरिन्थ्यो । केही दिन मान्छे एकातिर लुकाएर गायब पारे जस्तो गर्ने, अनि हल्ला आफैँ चलाउने, केही दिनपछि आफ्नै प्रयासमा फेला पारियो भन्दै आफ्नो नाम हाइलाइट गर्ने । अर्काको गोठको भेडो लुकाउन लगाउने, केही दिन फलानाको भेडो चोरी भयो भनेर हल्ला फैलाउने, अनि आफ्नो प्रयासले पत्ता लगाइएको अफवाह फैलाउने, “हराएको भेडो पाईयो भनेर…!” मान्छे जुधाउन, फुटाउन औधी सिपालु । दुइजनासँगै बसेर कुरा गरेको देखे भने दुई मध्ये एकजनालाई हातको, आँखाको इसाराले बोलाइ हाल्ने । अङ्कमाल गरेर अलि परतिर छेउ, कुना लैजाने र कानेखुसी गरिहाल्ने । विशेष केही कुरा हुँदैनथ्यो, सामान्य घर परिवारको हालखबर, सञ्चो, विसञ्चोको भलाकुसारी हुन्थ्यो । अनि ल त भनेर हिँड्थे । यस्ता नौटङ्की त कति हो कति गर्ने, भनि साध्य छैन ।
कहिलेकाहीँ त उरेण्ठेउलो पाराले एकान्तमा लगेर कान फुक्दै धान भित्र चामल हुन्छ नि त, थाहा छ बाबू ? ! भनेर जिस्काएजस्तो गरि हिँड्थे । सँगैको अर्को साथीले के भन्छन् त बुढाले ? भनेर सोध्दा जे भनेको सोही कुरा बताउदा आफैँ उल्लु हुनुपर्ने । हैट ! त्यस्तो नि कहाँ हुन्छ ? मलाई पनि ढाट्ने ? भन्दै दुइजना मिल्ने साथी बीच भनाभन र रातोमुख समेत हुने गर्थ्यो । एककान दुइकान मैदान भनेझैँ धेरैले बुढाको हरकत भोगेपछि र उनी अलि रोमाण्टिक, बढी फतुर र ज्यादा नकारले भरिएका कुट प्रवृतिको नमूना हुन्, भन्ने बुझेपछि उन्को फटाइँको साम्राज्य खस्किँदै गयो । अनावश्यक हावी हुने, एकापसमा फुटाउने र शासन गर्ने प्रवृत्तिलाई समाजले पत्याउन छोड्यो । यतिसम्म कि सही कुरा भने पनि ए… भन्दै लेघ्रो तानेर हाँस्दै, उनीलाई बेवास्ता गर्दै हिँड्न थाले मान्छेहरू । युग निकै अघि बढिसकेको थियो, समाजको चेतनास्तर माथि उठिसकेको थियो, तर ढुँसी परिसकेको बुढाको चेतनाले निर्क्योल गर्न सकेन । अन्त्यमा “धार्नीको मान्छे तोलामा, खिइँदै खिइँदै खोलामा…!” भनेझै उनको इज्जत, प्रतिष्ठाको दयनिय अवसान भएर छोड्यो । समाजका नामी फन्टुस र धूर्त पात्रका रुपमा एक्लिए ।
यस्ता अनेकौं खाले विविध प्रसङ्ग र अनुभव हरेक मानिसले आ आफ्नै समाज र परिवेशमा बेहोरिरहेकै हुन्छन् । उमेर, समय, परिस्थिति, सामाजिक र पारिवारिक अवस्था, धर्म, संस्कार, संस्कृति, रहनशहन, शिक्षा र चेतनास्तर आदिले टाउकोको क्षमता र मूल्यलाई निर्धारण गरिराखेको हुन्छ । बस् ! त्यो मूल्यलाई कायम गर्दै बढावा दिने वा मूल्यहीन गराउने भन्ने कुरा प्राथमिक रुपमा स्वयं आफैँले निर्धारण गर्ने कुरा पनि हो । अहिले हाम्रो समाजमा त्यस्तै खाले प्रवृत्ति, परिस्थिति बढ्दै रहेको र जनताको चेतनास्तर बुझ्न सक्ने नेतृत्वको खडेरी परिरहेको अवस्थामा भीर खोज्ने पिडि हगुवा र समाज भँडुवा खुराफातीहरूलाई काँध थाप्न नसकिने स्थिति सृजना भएको छ । झुटको खेती, फोस्रो नारा, भ्रष्ट चरित्र बोकेर सुतुर्मुर्ग झैँ सुरक्षित छु भन्ने सोच सम्बद्ध सबैमा चेतना भया…! बाँकी सबैको जय होस्… !! अस्तु… !!!
०००
आलापोट, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest









































