मान्छे टोक्ने मान्छे तिमी त छिः
यो टोक्ने सुविधा अझै कति दिऊँ आफू म निर्धो बनी ? यो टोकाइ मनुष्यको सहनुको होला नि सीमा पनि ! मान्छेबाट गिरेर बाँच्नु पनि छिः के बाँच्नु मान्छे भई निर्धा व्यक्ति रुवाउँदै धरधरी के हाँस्नु मान्छे भई
देव भट्टराई :
देख्दा मानिस हौ छ हात मुख लौ गोडा दुवै छन् खडा
खै के कारणले तिमी कुकुर झैँ भुक्छौ असाध्यै कडा
मान्छे नै हुँ म भन्दछौ तर तिमी मान्छे कहाँ छौ त नि !?
मान्छेमा हुनुपर्छ जे गुणहरू देखिन्न केही पनि
हिँड्दाखेरि कहीँकतै कुकुरले कप्ल्याक्क टोके र त
लाग्ला रेबिज खोप हाल्छु र निको भैहाल्छु ठीकै छ त
सोच्ने गर्दछु साँच्चिकै कुकुरले टोके त होला निको
टोक्छौ मानिस देखिने कुकुरले होला नहोला निको ?
आफ्नै मानिस हो नि यो कुकुरकै बानी भएता पनि
पीडा खप्छु सहन्छु भन्छु मनले आफै म सानो बनी
सानो बन्छु भनेर भन्न त भन्यो हेप्छौ मलाई तिमी
भुक्छौ साँझ बिहान राति दिननै टोक्छौ मलाई तिमी
यो टोक्ने सुविधा अझै कति दिऊँ आफू म निर्धो बनी ?
यो टोकाइ मनुष्यको सहनुको होला नि सीमा पनि !
मान्छेबाट गिरेर बाँच्नु पनि छिः के बाँच्नु मान्छे भई
निर्धा व्यक्ति रुवाउँदै धरधरी के हाँस्नु मान्छे भई
ए मान्छे अब भो नटोक यसरी व्यर्थै मलाई अरू
मान्छे जन्म लिएर बाँच न तिमी मान्छे भएरै बरु
के थाहा छ र भोलि पर्छ कि म नै तिम्रो मलामी हुन
त्यो बेला म रुँदै तिमीप्रति झुकी पाऊँ सलामी दिन !
०००
लमजुङ, हाल अमेरिका