विष्णुहरि पाैडेलसारा निशानी ढले
शिक्षा छैन निशुल्क ज्ञान गुरुका मानिन्छ चानेचुने । के संस्कार नयाँ लियो मुलुकले नेपाल नौलो हुने ? छोडे शास्त्र र शस्त्रको तुजुकमा खुर्पा उचाल्ने बले । छैनन् वैद्य निशुल्क औषधि दिने,सारा निशानी ढले ।

विष्णुहरि पौडेल :
चौतारी झपिला शमी र वरका हुन्थे उकालीतिर ।
यात्री शीतल ताप्तथे तल बसी हाबा चिसो सिर्सिर ॥
घैँटामा जल या कुवा नजिकका ती धर्मशाला चले ।
राती वास निशुल्क बस्न दिइने पाटी र पौवा ढले ।१।
भिक्षा, दान र दक्षिणा पनि हटे, को थाप्छ गंगा जल ?
द्यौराली किन गर्दथे परिक्रमा,योगी हुने पागल ।
चल्दैनन् अहिले सदाव्रत, नयाँ पार्टी र प्यालेसले ।
व्यापारी मनसाय काबिल भयो सारा निशानी ढले ।२।
राजा न्याय दिने बडो प्रिय बने जो राम शाहा थिए ।
अर्का मल्ल थिए जयस्थिति प्रथा माना र पाथी दिए ।
लिच्छ्वीको पनि स्वणर्काल सकियो खै अंशु वर्मा चले ।
जे हाम्रा पहिचान स्थापित थिए सारा निशानी ढले ।३।
पैसाको अनिकाल क्यै अघि थियो निर्बाह चल्थ्यो तर ।
उब्जन्थ्यो हरथोक जाँगर छरी कोदो, मकै, फापर ।
भर्थे गोरसले टिमिक्क गबुवा लैना बकेर्ना गले ।
ऐले वास उठेर पौरख चल्यो खाडी, निशानी ढले ।४।
आस्था मौलिक धर्मको पनि गयो थोत्रा भए मन्दिर ।
लोभ्यायो मन बेसरी डलरले छन् चाङ गिर्जाघर ।
फेरी गोरखको गयो, अब भुले गर्खा नि गन्धर्बले ।
आफ्नो भेष भुषा र संस्कृति,प्रथा सारा निशानी ढले ।५।
कल्स्यौडी, चँदुवा चिनिन्न अहिले नौला भए नौमती ।
भत्कौरे भनिने भयो वन-चरो, पारे रत्यौली खती ।
छोडे काज कृया, पुराण, गुरमा आस्था, लगौंटी गले ।
गायत्री जप बिर्सिए, न छ जनै सारा निशानी ढले ।६।
शिक्षा छैन निशुल्क ज्ञान गुरुका मानिन्छ चानेचुने ।
के संस्कार नयाँ लियो मुलुकले नेपाल नौलो हुने ?
छोडे शास्त्र र शस्त्रको तुजुकमा खुर्पा उचाल्ने बले ।
छैनन् वैद्य निशुल्क औषधि दिने,सारा निशानी ढले ।७।
आयुर्वेद र योग,ध्यान सकियो अध्यात्मको उन्नति ।
छैनन् उद्यम, काढ्दछन् ऋण सधैँ आफ्नो हरायो हुती ।
हल्ला मात्र गरेर पेट भरुवा नेता परे कोकले ।
पुर्खा वीर थिए पनाति ननिका बन्दा निशानी ढले ।८।
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































