सुमी लोहनीछेपारे ठालु
विश्वमा नामी नेपाली हामी गर्दैछौँ तरक्की
बाहिर भित्र कुर्लन्न नेता निर्धक्क निस्फिक्री
सांसदलाई पच्दैन खाको नघेरे रोष्टम
नतानी खुट्टा पुगिन्न माथि यस्तै छ सिस्टम
हरेक दिन सडक माझ टायर दन्कन्छ
शब्दमा मात्र सीमित नारा सधैँ नै घन्कन्छ
नपिइ धुँवा नगरी बन्द सन्तोष मिल्दैन
नगरे जाम नहाने इँटा सभ्य नै भइँदैन ।
कहिले काला कहिले राता सडक मुफत
राशन पानी महँगो तर सस्तो भो रगत
विरोध गरौँ यही हो मौका निकाल्ने कलुष
एउटै मात्र अचूक शस्त्र धर्ना र जुलुस ।
ईश्वर पनि आजित भए देखेर शासन
कानमा तेल हालेर विष्णु शेषमा शयन
पलेँटी कसी शैलमा शिव तपमा मगन
नपरोस् देख्न भनेर बुद्ध चिम्लेका नयन ।
कहिलेसम्म हो भोग्नु पर्ने कष्ट र अभाव
आनन्द हुन्थ्यो ठालुको सुध्रे छेपारे स्वभाव
त्यागेर स्वार्थ नगरी लोभ सबैले मिलेर
गरेमा सेवा अवश्य फेथ्र्यो राष्ट्रले मुहार ।
काठमाडौँ
(फित्कौली– अङ्क १६ बाट)
Subscribe
Login
0 Comments
Oldest







































