साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गीतको धीत

Nepal Telecom ad

गीत गाएर प्रित लाउनेहरू धेरै छन् । भनिन्छ गीतमा रस हुन्छ, त्यो रसमा उठबस हुन्छ । उठबस भएपछि नहुने कुरा के पो छ र ? बोलेर मनका कुरा सुटुक्क भन्न नसक्ने कायर पनि सायर हुन्छन् रे । वानीब्यहोरामा चकचके भएपनि र बोलीमा भकभके भएपनि गीत गाउन थाले पछि जिब्रोमा सुपरसोनिक विमान उड्छ रे । ‘कहाँ देखूँ कहाँ भेटूँ हुने, भेट्यो माया बोलचालै नहुने’ । बोलचाल नभए पनि गीतमा पिरती घोलघाल गरेर टाउको जोडेर गाउने जोडीहरूको शब्द हुनुपर्छ यो । गीत र संगीतको कलालाई पारखीको मधुर गलाले उच्चारण गरेपछि बहँदै गरेको हावा रोकिन्छ रे । भोकले आलस तालस परेर दूध चुस्दै गरेको छावा रोकिन्छ रे चर्न हिंडेको पशु र मर्न हिंडेको मान्छे दुवै रोकिन्छन् रे ।’ यो भन्नेहरूले भनेको कुरा हो । कुरा आजको होइन हिजोको पनि होइन उहिलेको हो । उहीलेको कुरो त खुइलिसक्यो । खुइलेकैले त होला, अचेल गीतमा अंगे्रजी शब्दको शीत परेको छ । वासनाको जित परेको छ । कस्ता कस्ता लायक ठानिएका पुराना गायकका गीतहरूमा अंगे्रजीले अकुपञ्चर गरिसक्यो । नयाँ जमानाका नयाँ कुरा । अचेल गीतको सुर, कुरमा पसेर बेसुर भए पनि, शब्दको कला र गायकको गला थला परेपनि झन् झन् सुपरहिट हुन थालेको छ । सुन्दरी मोडेलको पोटिला आङ्गिक कलाले दर्शकलाई बेसुर पारिदिएपछि गीतको गिन्ती सुपरहिट भित्र नभए के मा हुने त ? त्यसैले त्यस्ता गायकको गायकिमा शङ्का गर्ने मानिस कि पत्रु हुन्छ कि शत्रु । मेरा यी कुरा पनि नयाँ हुन् । अझै समसामयिक भाषामा भन्दा रिमिक्स टाइपका । पुराना नेताको नयाँ जामा,अभिनेताको नयाँ ड्रामा । हुन्छ भने मैले पनि मेरा बोलीमा पाइन हालेर नयाँ भन्न किन नपाउने ? मेरो बोलीमा पाइन हालिदिएर मेरा मित्र संविधान शर्माले ठुलो गुन लगाएका छन् ।

केही दिन अघि म मेरा मित्रको घरमा पुगेको थिएँ । उनको घरमा पाइलो हालेदेखि म थकित भए पनि चकित पर्न थालें । चिया लिएर आउने मित्रपत्नीको पहिरन पनि रिमिक्स प्रकारको थियो । दुई चुल्ठी बाटेकी, चौबन्दी चोलीसँग मिडी अनि आँखामा चस्मा, खुट्टीमा ओखरपाङ्ग्रे स्याण्डल । उनी मुसुक्क हाँसिन् र चिया टेबिलमा राख्दै बोलिन् ‘हाई फ्रेण्ड ! प्लिज चिया ड्रिङ्क गरिबक्स्योस् ।’ छक्क पर्दै चिया पिउँदै के थिएँ, भित्रको अर्कोको कोठाबाट ड्रमसेट र इलेक्ट्रिक गितारको झङ्कारले खेदो खन्यो । संगीत सँगै हाहा हुहुको आबाजले मेरो कानको कमजोर जालीमाथि धक्का दिन थाल्यो । ‘मित्र ! चिया पिउनुस् वा पिउँदै केटाहरूको चमत्कार हेर्नुस्’ उनले उठ्ने र उनीसँगै अर्को कोठामा जाने इसारा गरे । म लुरुलुरु पछि लागें । चार पाँचजना बाबियो कपाल वाला कुण्डलीहरू उत्पात मच्चाइरहेका थिए । ‘हेरी यो जुरोवाला युवक मेरो छोरा हो’ साथीले चिनाए । जुरेले देव्रेहात अघि बढायो । उसको मुखबाट ठ्वास्स मदिराको वासना आयो । मेरो नाकमुख सिल्बरको दिप्ची कुच्चिएझैं कुच्चियो ।

‘लौ माइकल ! अङ्कललाई एउटा रिमिक्सको कमाल देखाइदे । संविधानजी बोले ।
ठिटाहरूको गितार र ड्रमसेट फेरि रन्कियो । पाकेटबाट कपास झिकेर कानमा कोचें ।
‘आउ, बसौं थकाई मारौं कदमको छायाँमा, मौरी घुम्यो रसैमा, मायालाई मै घुम्छु मायाजालैमा, गर्नुपर्छ ऐश, ओ डियर, लभ रियर सेक्सपियोर हाऊ, आउ बसौं थकाई मारौं …’
माइकल जुरेको फन्फनी बटारिएको जिब्रोले धुम मच्चायो ।

‘मित्र ! मेरो माइकल अब सुपरहिट गायक बन्न लायक भइसक्यो । अब एल्बम निकाल्ने योजना छ । तिमीलाई कस्तो लाग्यो ?’

‘वेश लाग्यो । तपाईंसँगको छोरो यो देशको झलमलाउने सितारा हो, याने कि भ्यालुयबल प्रपर्टी । तर गीत यतिकै त हिट हुन्न नि’ मैले भनें ।

‘नो प्रब्लेम ! हिट हुने् काइदा छ, सुनी राख, सुन्दा फाइदा छ । उसको गीतमा नाच्ने मोडेल तयार भइसकेको छ । गीतले मागेको दृश्य धीत नमरुन्जेलसम्म दिनेछु भनेर हस्ताक्षर समेत भइसकेको छ । भिजुयलमा जलक्रिडा, स्थलक्रिडा मात्र होइन वायुक्रिडा समेत राख्ने सल्लाह भएको छ । लौ भन त गीत सुपरहिट हुन्छ कि हुँदैन ?’ उनले कुममा धाप मार्दै सोधे ।

‘अनि मिडिया’ मैले सोधें ।

‘नो प्रब्लेम फ्रेण्ड एक लाखको पार्टी इन स्टार होटल । अलि अलि दान दक्षिणाको मेसो पनि मिलाएकै छु । उनले थपे ।

‘एउटा गीतमा त म पनि अभिनय गर्दै छु नि ।’ मित्रपत्नी चौबन्दी र आधा बित्ते मिडीमा आँखामा गगल्स ढल्काउँदै देखा परिन् ।

‘तपाईंंहरू महान हुनुहुन्छ । नेपाल नयाँ कहिले हुन्छ थाहा छैन तर तपाईंंहरू चाहिँ सोह्रै आना नयाँ भइसक्नुभएछ । तपाईंंको र माइकलको गीत आएपछि धीत नमरुन्जेलसम्म हेरौंला,’ मैले भने ।

‘हाललाई नेताकै शैलीमा नयाँ तर एल्बम निकालेपछि साँच्चिकै नयाँ याने कि मोर्डन ’ हैन त डारलिङ ? ’ मित्रपत्नीले मित्र संविधानको चिउँडो समाउँदै भनिन् । उनले टाउको हल्लाएर स्वीकारे ।

‘वाह आजबाट मलाई पक्का भयो आचार नयाँ, विचार नयाँ, अब नयाँ नेपाल पक्का ।’ मैले भनें ।

‘यु आर द ग्रेट होइसिन्छ ।’ मित्र पत्निले झ्याम्मै अंगालो हालिन् र एक चुम्बन दिंदै भनिन् रिलिजभएपछि हाम्रो एल्बम भिउ गरिबक्सेला अहिलेलाई मेरो सि यु, स्वीकारी बक्स्योस् ।

सविधानजीको घरबाट म पनि नयाँ भएको छु । उनको एल्बम पर्खेर गीतको धीत मार्ने भएको छु । मेरो साथीको योजना, योजना आयोगकोजस्तो सधैं कागजमामात्र हुने खालको छैन । म ढुक्क छु, मेरा साथीको एल्बम सुपरहिट हुनेछ । किनकी सुपरहिट हुन चाहिने तयारी सबै पूरा भएको छ । पुराना गीत जति सबै तोडमोड गरेर के भो त ? नयाँ होइन्छ भने के को प्रोब्लेम ? स्वर भएकाले मात्र गीत गाउने जमाना गयो अब । आउनुहोस् यो रिमिक्सको दुनियाँमा छलाङ मार्दै अघि बढौं । अब नयाँ बन्ने होडमा जोड लगाउँ ।

मधुपर्क २०६४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x