चूडामणि खनाललाज ढाक्ने लगौँटाहरू
पहिला पहिला आवश्यकता सीमित थिए, काम गर्ने क्षेत्र थोरै थिए त्यसैले मनोरञ्जन गर्ने क्षेत्र नाचगानमात्र थियो । नाचगान गर्न ढङ्ग नपुग्ने मान्छेले आफूले नाच्न जानेन भने भन्ने गथ्र्यो “नाच्ने आँगन नै टेढो छ भने राम्रो नाच्ने कसरी त ?” तर नाच्न जान्नेहरूले पनि तुरुन्त प्रतिवाद गर्थे र भनिहाल्थे नाच्न जान्दैन आँगन टेढो । आँगनलाई टेढो भनेर आफ्नो लाज ढाक्न खोज्ने नर्तक र त्यसको प्रतिवाद गर्ने दर्शक हिजो पनि थिए, आज पनि छन्, त्यसैले लाज ढाक्न खोज्ने र उसलाई कुरी कुरी गरी नङ्गयाइदिने पुरानो परम्परालाई सनातन नै मान्नुपर्छ र हामीले पनि भन्नुपर्छ “नाच्न जान्दैन, आँगन टेढो ।”
लाज ढाक्ने लगौँटा नभएका भए आजको संसार नाङ्गै नाङ्गाको मात्र हुने थियो, हुँदैनथ्यो त ? यी लगौँटाले लाज कसरी ढाकिदिएका छन् भन्ने कुरा तपाईं हामीले सधैँ भोगेकै कुरा हो । तपाईंलाई पत्यार लागोस् या नलागोस् वास्तवमा भन्ने हो भने– “संसार नाङ्गै नाङ्गाको हो ।” त्यसैले त मैले भन्ने गरेको छु– तपाईं हामीले बाँचेको संसार त खुला गोप्य हो साँच्चै नै गोप्य भन्ने कुरा केही छैन । यस संसारमा केही कुरा गोप्य छ त ? । “बिर्सेछ कि मूर्खको” भनेझैँ मूर्खको बाहेक अरू सबै थोकको लाज ढाक्ने अचुक औषधी बनेको छ त्यो हो लगौँटी । नपत्याए हेर्नुहोस् न, हाम्रो जीवनको रक्षा गर्ने चिकित्सक छन् नि, हो उनीहरूलाई लाज ढाक्ने लगौँटी बनाइएको छ– ‘क्यान्सर’ । जब डाक्टरसाहेबको खूबीले रोगको निदान गर्न सक्तैन, अनि उनी भनिहाल्छन्– यो रोग ‘क्यान्सर’ हो । क्यान्सरको लगौँटीले डाक्टरले लाज ढाकेझैँं लाज ढाक्ने अन्य ढकुवाहरू कति छन् कति यस समाजमा । यस मामिलामा सधैँ सत्य ज्ञान दिने भनिएका प्राध्यापकहरू र शिक्षकहरू अझै बढी लाजढकुवा छन् । जब विद्यार्थीहरूले शिक्षकहरूलाई जायज प्रश्न सोध्छन्, जब गुरुलाई त्यस प्रश्नको उत्तर दिन आउँदैन अनि उनी उल्टै विद्यार्थीलाई चर्को स्वरले अनुशासनको दुवाइ दिँदै भन्छन्– “गुरुको मर्यादा गर्न आउँदैन” । अनुशासन र मर्यादाको लगौँटीले गुरुले आफ्नो अयोग्यताको लाज बचाउँछन् । आधुनिक युगका यी गुरुका त अरू पनि लगौँटी छन् । कुनै गुरुलाई उनको अज्ञानता, अयोग्यता र कमजोरीलाई आधार बनाएर विद्यार्थीले विरोध गरे भने गुरुले अर्को लँगौटीको रूपमा राजनीतिको प्रयोग गर्छन् र भन्छन्– “हिजोआज राजनीतिक आग्रहले मेरो विरोध भएको छ ।” इत्यादि इत्यादिका लगौँटीले गुरुले आफ्नो लाज ढाक्छन् । साँच्चै नै भन्ने हो भने अयोग्य गुरुहरूको लाज बचाउने अचूक लगौँटी राजनीति नै भएको छ ।
यस मामिलामा उनै गुरुका चेला पनि कम हुने कुरा आएन । परीक्षामा विद्यार्थी चिट लेख्छ निरीक्षणमा बसेका उनै शिक्षकले उसबाट चिट खोस्छन् अनि विद्यार्थीले पनि गुरुको सिको गरी भनिहाल्छ– “पूर्वाग्रहका कारणले मेरो चिट खोसेका हुन् गुरुले ।” चिट चोर्न पाउनु आफ्नो अधिकारलाई गुरुले अपहरण गरेको गुनासो गर्छ विद्यार्थी । पूर्वाग्रहको लगौँटी लगाउन नपाएको भए ‘चिटचोर’ विद्यार्थीले आफ्नो लाज बचाउने कहाँ ? उसले लाज बचाउन सक्थ्यो र ? अहँ सक्तैनथ्यो ।
‘लहरो तान्दा पहरो घर्किन्छ’ भन्छन् । त्यसैले त तपाईंले लाज लुकाउन खोज्ने निर्लज्जहरू जहाँसुकै पाउनुहुन्छ । झगडियासँग डकारिन्जेल रकम खाने वकीलले मुद्दा हार्ने उसै झ्गडियासँग भन्छ– “विपक्षीको घूसको थैलो न्यायाधीश कहाँ नपुगेको भए मुद्दा हारिँदै हारिँदैनथ्यो । तपाईं नै भन्नुहोस् त, घूसको लगौँटी नभएको भए–प्रमाण पुर्याएर वादी लेख्न नसक्ने खूबी नभएको वकीलको लाज लुक्थ्यो र कुन्नि ?
तपाईं भन्नुहोला चिकित्सक, प्राध्यापक, विद्यार्थी, झगडिया, वकीलहरूले मात्र इज्जत राख्ने साधन लगौँटी पाएका रहेछन् त कि ? वास्तविकता त्यसो त होइन । यस्ता लँगौटेहरू कति छन् कति । नपत्याए हेर्नुहोस् त लगौँटी लगाउनेहरूको ताँती, कति छ कति । पाउडरको उत्पत्ति नभएको भए कुन कलचौँडी छौँडी गोरी हुन्थी । लिपिस्टिकको लगौँटी नभएको भए कुन कलेटी परेकी कालीको ओठ गोलकाँक्रीको जस्तो रातो हुने थियो । झुम्रै झुम्राको मासुखोल छातीमा नटाँसेकी भए कुनचाहिँ प्रौढा नारी तरुनी देखिन्थी हँ ?, यी सबै कुरा लगौँटीका करामत हुन्, बुझियो कि ?
मयलपोशको लगौँटी नभएको भए कुन राष्ट्रघाती व्यक्ति राष्ट्रवादी नेपालीमा दरिन्थ्यो हँ ? ढालको खोल नभएको भए कुन बलात्कारी व्यक्ति साधु हुन्थ्यो हँ ? ब्रेकफेलको वाहना गर्न नआएकोे भए– कुन ड्राइभर हत्याको जघन्य अपराधबाट बाँच्थ्यो हँ ? त्यसैले भनिन्छ– “लाज ढाक्ने लगौँटीको आविष्कार नभएको भए कति जनाको पर्दाफास भइसक्थ्यो कति हँ ?”
शर्म र कर्म भन्ने कुरा मान्छे नामको प्राणीले मात्र बुझेको छ । शर्म ढाक्ने कुनै न कुनै खालको लगौँटी मान्छेले बनाएको छ र आफ्नो लाज बचाउन खोजेकै छ ।
ठूलै ठाउँको कुरा गर्ने हो भने लगौँटीको करामत अझै मायाको छ । हेर्नुहोस् त– नेपालले विकास गर्न नसकेको विकट हिमाल र अजङ अजङको डाँडाकाँडाको कारणले हो अरे । सबै भूभाग सुगम भएको भए विकासको दृष्टिले यो देश स्वीटजरल्यान्ड भइसक्थ्यो रे, प्रतिव्यक्तिको आय ब्रुनाइका जनताको भन्दा माथि पुग्थ्यो रे । इस्लाम धर्मको विरोध नगरेको भए अलकायदाले अमेरिकामा हान्दैनथ्यो रे ? इत्यादि यी सबै गाथा, लँगौटे गाथा हुन्, बुझनुभएन कि ?
पूँजीवादी मुलुकहरूले अकूत अकूत पूँजीको दुरुपयोग नगरेको भए पनि संसारबाट भुखमरी भाग्थ्यो रे । अमेरिकीहरूको नीतिको अनुसरण गरेकाले नै बेनिजिर भुट्टोको हत्या भयो रे ।
यसरी लगौँटीले लाज ढाक्ने यी यस्तायस्ता कुरामा एक्लो मान्छेदेखि सिङ्गो संसार लागेको छ । हिजोआज त आफ्नो कमी कमजोरीलाई स्वीकार गर्नुभन्दा त्यसलाई ढाकछोप गर्नुलाई नै बुद्धिमानी ठानिएको छ । आजको यस संसारमा यो शुतुरमुर्गी प्रवृत्ति हावी भएको र लगौँटीको राजले विस्तार पाएको छ ; होइन त ? कुरो कसो हो कुन्नि ? लगौँटीको करामत अझै बढी पो छ कि ? म जस्तो सामान्य मान्छेले लगौँटीको यति ठूलो इयत्ता थाहा पाउन सक्छु र सक्तिन ? होइन त ?
पोखरा, कास्की
‘फित्कौली’ अङ्क १७ बाट
Subscribe
Login
0 Comments
Oldest






































