चट्याङ मास्टरबुढेस कालैमा
१
बुढो हुँदा सबभन्दा डर लाग्ने कुरा के हो भने
आफूले पढाएका केटाकेटील मध्ये स्वाँठ चांहिले देश हाँकी रहेका हुन्छ !
२
बुढो हुँदा सबभन्दा खुसी लाग्ने कुरा के हो भने
दैनिक पत्रिकाको समवेदना पृष्ठमा आफ्नो फोटो हुँदैन,
केटाकेटीमा आफूलाई पिट्ने दाइहरूका हुन्छन् !
३.
बुढ्यौली त सकिन लागेको टूुपेस्ट को ट्युब जस्तै हुन्छ
सकिएको पनि छैन, तर चाहिएजति निचोर्न धेरै बल लाग्छ !
४.
जवानहरू हरेक काम गर्दा बिचार पुर्याउन सक्दैनन्
बिचार पुर्याउन सक्ने बुढाबुढी कुनै कामै गर्न सक्दैनन् !
५.
बुढ्यौलीमा आफ्नै अङग पनि राति आफ़ु सँगै सुत्दैनन्
दाँतहरु गिलासमा, आँखा (चस्मा) र विग (हालेको कापाल) टेबलमा गएर सुत्छन !
बिहान आफू उठेर, उनीहरुलाई उठाएर, तत्तत् स्थानमा आसन ग्रहण गराउनु पर्छ
त्यसपछि आफु सिंगो मानिस भइयो कि भईएन भनेर घरका जहान बीच जनमत संग्रह गराउनु पर्छ।
६.
बुढ्यौलीमा प्रियतमको चाउरीले केहि फरक पर्दैन
आँखा कम्जोर भएर चाउरी देखिँदै देखिदैन !
७.
बुढ्यौलीमा चल्ने अङ्ग सबै दुख्छन्, जुन दुख्दैनन् ती चल्दैनन्
नाक र मुख बढिनै रसाउन थाल्छन, रसाउनुपर्ने अंग सुक्खा हुन् थाल्छन् !
८.
एक घण्टाको थकाइ मार्न पूरै दिन लाग्छ
बसेपछि निद्रा लाग्छ, सुतेपछि निद्रा भाग्छ !
९.
गाला छाला चाउरिइन्छन्, मन चैं तन्कन्छ
जसलाई आफू माया गर्छु, उही चैं झर्कन्छ !
१०
आफ्नै घरमा चोर्नु पर्छ, मिठो खानलाई
दुइ चम्चा खान नपाई “पुग्यो, पुग्यो हजुरलाई” !
११.
सबैभन्दा जान्ने म छु तर सोध्ने कोही छैन,
गहकिलो कुरो भन्यो, कोही बुझ्ने होइन !
१२.
जेजे कुरा सम्झौँ भन्छु, त्यै त्यै बिर्सन्छु
ऐनामा आफूलाई देख्दा आफै तर्सन्छु !
१३.
घुम्न जाउँ भने क्युरियो पसलवालाले बेचिदिन्छ कि भन्ने डर लाग्छ
पुरातत्व विभागवालाले भेटे सुरक्षित राखिदिन्छ कि भन्ने आस लाग्छ !
१४.
उनी युवती छँदा सबैले उनको झ्यालमा हेर्थे
उनी झ्याल बन्द गरेर बस्थिन्
अहिले उनी बुढी भइन्, उनले झ्याल खोलेको देखेपछि,
अरू आफ्ना झ्याल बन्द गरेर बस्छन् !
१५.
जवानीमा राति ढिलो घर पुग्दा श्रीमती भन्थिन्–
आईपुग्नु भयो ! किन ढिलो गरेको ?
बुढेसकालमा राति ढिलो घर पुग्दा श्रीमती भन्छिन्–
ढिलो भयो ! किन आईपुग्न परेको ?
१६
स्कुले केटाकेटी देख्दा बुढाबुढीलाइ पनि फेरी केटाकेटी हुन् मन लाग्छ
तर अल्जेब्राको हिसाब, फिजिस्कको फर्मुला, त्रिगोनमेट्रिको धर्का
यत्ति तिन चिज सम्झिए पछि बुद्यौली उमेर नै ठिक लाग्छ ।
बत्तिसपुतली, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest




































