सुलसुलेमहाकवि देवकोटाको १०६ औँ जन्मजयन्ती
काठमाडौँ, ६ कात्तिक । नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०६ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्नि साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ।
विसं १९९६ कात्तिक कृष्ण औंसीका दिन अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा देवकोटाको जन्म भएको थियो । दश वर्षको उमेरबाट साहित्य रचना सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित भएका छन्।
नेपाली साहित्यमा स्वच्छन्तावादी, प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र समाजसुधारका भाव पाइन्छन् । देवकोटाका साहित्यक रचनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन भएको पाइन्छ।
भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटाको प्रतिभाको उच्च मूल्याङ्कन गर्दै भारतका महाकवि सुमित्रानन्द पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निरालाको समष्टिरूपसँग तुलना गर्नुभएको थियो । नेपाली नाट्य जगत्का सम्राट बालकृष्ण समले देवकोटाको मुनामदन, शाकुन्तल महाकाव्य र पागल कवितासँगै तीनपटक जन्म भएको अभिव्यक्ति दिनुभएको थियो।
नेपाली भाषाका कृतिको अन्य भाषामा अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उहाँको महत्वपूर्ण योगदान रही आएको छ।
विसं २०१६ मा शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपाली भाषालाई नेपाल राज्यभर अनिवार्य विषयका रूपमा लागू गराउनु, त्रिभुवन विश्वविद्यालयलाई कीर्तिपुरमा जग्गाको व्यवस्थापन गर्नु र २०१४ साल असार ९ गते हालको नेपाल प्रज्ञा प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिनु उहाँका अविस्मरणीय योगदान मानिन्छ।
तीन महिनामा शाकुन्तल महाकाव्य, दश दिनमै सुलोचना महाकाव्य र एकै दिनमा कुञ्जिनी खण्डकाव्य रचना गर्नसक्ने देवकोटामा तुरुन्त कविता रचना गर्नसक्ने अद्भुत क्षमता भएको उहाँको स्वकीय सचिवसमेत भई कार्य गरिसक्नुभएका साहित्यकार कञ्चन पुडासैनीले बताउनुभयो ।
उहाँको खण्डकाव्य मुनामदनले नेपालमा धेरै बिक्री भएका साहित्यिक कृतिहरूको सूचीमा अग्र स्थानमा बनाएको कीर्तिमान अहिले पनि कायमै छ । यस खण्डकाव्यलाई पाठकले विशेष मन पराएका छन् । देवकोटाले पनि कुनै प्रसङ्गमा मेरो मुनामदनबाहेक सबै कृति नष्ट गरेपनि हुन्छ भन्ने किसिमको अभिव्यक्ति दिनुभएको चर्चा पनि नेपाली साहित्य जगत्मा हुने गरेको छ।
उहाँको साहित्यिक प्रतिभा, साहित्यको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अविस्मरणीय मानिन्छ । चरम आर्थिक अभाव र पारिवारिक वियोगसँगै राजनीतिक सक्रियताका बीच पनि उच्चस्तरको साहित्यिक कृति नेपाल र नेपालीलाई दिन सक्नु देवकोटाको प्रमुख विशेषता मानिन्छ ।
रासस
Subscribe
Login
0 Comments
Oldest











































