साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हामी नै नम्बर वान !

Nepal Telecom ad

हामी नयाँ नेपालका नयाँ नेपाली संसारका अरू देशभन्दा धेरैधेरै कुरामा पो अगाडि र’छौँ त गाँठे ! जसबाट हामी वीरबहादुर नेपालीलाई हटाउन कसैको बाउको ह्याउ छ र सक्ला जस्तो अहँ, मरिकाटे लाग्दैलाग्दैन ।

गरिबीमा हेराँै, सबैभन्दा बढी नम्बर ग्वाम्म ल्या’र हामी नै अग्रपङ्क्तिमा गजधम्म ला’र खडेबाबाको हातजस्तै खडा छौँ । असफल राष्ट्रको लिस्टमा पनि टप थ्रीमै आफ्नोे स्थान सुरक्षित राख्न सफल भ’कै छौँ क्यार ! फेरि केको टेन्सन ! यसैगरी लोडसेडिङमा पनि कसको बुताले भ्याउने र हामीलाई उछिन्न । झन् भ्रष्टाचार, घुसखोरीमा त हाम्रा नेता, हाकिम आदिलाई पछि पार्न कसैले पनि आँट गर्न सक्दैसक्दैन । यस्तै बिदाको कुरामा पनि दिनानुदिन नेपालले प्रगति गर्दैछ । त्यसैले होला, नयाँनयाँ बिदाहरू थप्याथप्यै छन् । आहा ! क्या मज्जा हगि ! काम गर्ने दिनभन्दा बिदा बढी । अरू देशका बासिन्दाले जति लोभिएर र्याल काढे पनि काढून् । बिदैबिदाको सुविधा भोग्न पाउने कुरामा त हामीलाई जितुँला भनेर कसैले सपनामा पनि नसोचे हुन्छ । कसैको तागत छैन बिदाको कुरामा हामीलाई पछि पार्न सक्ने । त्यसैले लोभिँदै घुटुघुटु थुक निल्दै बसे हुन्छ । अनि बन्द हड्तालमा त झन् हामीलाई हराउन त के हल्लाउन पनि कसैले सक्दैन ।

अर्को मज्जाको कुरो त तपैँ हामी सप्पैलाई था भ’कै कुरो हो । पुरानो नेपालाँ धेरै मान्छे कखरा पनि नखारेका थिए । तर अहिलेको नयाँ नेपालाँ हेर्नुस् त, बाफ रे बाफ ! सप्पैजसो मान्छे एक्कैचोटि कलेज स्टुडेन्ट पो भैसकेछन् त ए ! रातारात कसरी यस्तो जादू भयो होला हगि ! मेरो कुरो पत्याउनुभएन कि क्या हो ? नपत्याएको भए बस र माइक्रोबसका यात्रुले भाडा दिने बेलाँ हेर्नूस् अनि बल्ल कुरोको चुरो था हुन्छ । त्यसपछि विश्वास नलागी धरै छैन । बस, माइक्रोबसका यात्रुहरू भाडा दिने बेलाँ प्रायः सबैजसो कलेजका स्टुडेन्ट पो रैछन् भनेर था हुन्छ । यसरी अधिकांश मान्छे स्टुडेन्ट भ’को त ज्यादै खुसीको कुरो हो नि ! तर के गर्नु गुरुजी र उनका चेलालाई चैँ यो कुरो फिटिक्क मनै पर्दैन भन्या ! स्टुडेन्ट आइडी कार्ड छ भन्नासाथ चार माना चूक स्वाट्टै पार्या जस्तै अनुहार पो पार्छन् ए बा, उनीहरू त ! अब औँठाछाप हुँदैमा, कखरा पनि नखार्दैमा, बत्तीस मुजाद्वारा सुसज्जित मुहार र गाला हुँदैमा, मजाको जागिर खाँदैमा स्टुडेन्ट हुनु हुँदैन भन्ने कुरा अहिलेसम्म कुनै पनि कानुनमा लेखिएको छैन क्यार ! त्यसैले सप्पैजना मज्जाले स्टुडेन्ट भए हुन्छ । तीन पुस्ता, चार पुस्ताका सप्पैजनालाई एकै पटक स्टुडेन्ट भएको देख्न पाउँदा त झनै रमाइलो पो हुँदो रै’छ । साँच्चै यसरी सप्पैजना स्टुडेन्ट भएपछि अफिसमा चँै कसले काम गर्छ होला हगि ?

लौ,अब भन्नुस् त, यसरी स्टुडेन्ट नै स्टुडेन्ट भ’को देश नेपालबाहेक संसाराँ अरू कुनै छ ? यसमा पनि ह्याकुलाले मिचेर सप्पैलाई पछि पार्दै हामी नै नम्बर वान भयौँ कि भएनौँ त ?

‘झिँगापुर’ हास्यव्यङ्ग्य सङ्ग्रहबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मोबाइल महिमा

मोबाइल महिमा

सुमी लोहनी
कठैबरा !

कठैबरा !

सुमी लोहनी
बाका बथान

बाका बथान

सुमी लोहनी
0
Would love your thoughts, please comment.x
()
x