साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डाक्टर सा’पहरू साहित्यको शल्यक्रिया गर्दै छन् !

Nepal Telecom ad

हुन त डाक्टर भनेको विद्यावारिधि उपाधि पाएको व्यक्ति नै हो । कुन्नि कुन संयोगले हो स्नातक तह मात्रै उत्तीर्ण गरेका चिकित्सकहरूलाई पनि डाक्टर भन्न थालियो । गाउँघरतिर अस्पतालमा काम गर्ने जोसुकैलाई पनि ‘डाक्टर सा’प नमस्कार !’ भन्थे । हाम्रो गाउँका पाटने कान्छा दाइ गाउँभरिकै डाक्टर थिए । पढेरभन्दा परेर जानेका डाक्टर ! तिनले छोइदिएपछि कतिपय बिरामीको रोग त्यत्तिकै टाप कस्थ्यो ! उनलाई छोडेर अस्पतालका डाक्टरलाई बोलाउँदैनथे । हात पिउरीजत्तिकै नरम थियो । तिनले लाएको सुईले पनि बिझाउँदैनथ्यो । उनको बोलीको विनम्रता त अवर्णनीय नै छ ।
अस्पतालहरू धेरै छन् । एउटा साहित्य नाम गरेको बिरामी डाक्टरको खोजी गर्दै भक्तपुर पुगेछ । सानोठिमी भक्तपुर । उच्च माध्यमिक शिक्षा परिषद् लेखेको रहेछ । उच्चलाई देखेपछि हामी जस्ता फुच्चा र निच्चाहरू त्यसै पनि ङिच्च परिहाल्छौँ । अस्पताल खोज्दै भौँतारिएका ‘साहित्यप्रसाद नेपाली’ त्यसै परिषद्को ढोकामा पुगेछन् । उनलाई उच्च परिषद्को ढोके पनि उच्च नै हुन्छ भन्ने लागेछ क्यारे ! द्वारपाल, क्षेत्रपाल आदि पूज्य पात्र पनि हुन् । अष्टावक्र शैलीमा तिनलाई प्रणाम गर्दै साहित्यले सोधेछन्–“दाज्यू, भक्तपुरतिर राम्रो अस्पताल कहाँ होला ? मलाई त्यहाँ भर्ना हुनु छ ।”
द्वारपालले भनेछन् । अस्पताल किन गइरहनुहुन्छ ? डाक्टर सा’पहरू यहीँ आउनुहुन्छ । उहाँहरूलाई जँचाए भइहाल्छ नि ! म भनिदिउँला । नभन्दै डाक्टर सा’पहरू आउनुभएछ । द्वारपालको सौजन्यमा साहित्यप्रसाद जँचाउन गए । डाक्टर सा’पले नाम सोधे–तपाईंको बोलाउने नाउँ के हो ? साहित्यप्रसादले भने– न्वारनको नाउँ चाहिँ साहित्यप्रसाद नै हो । हाम्रा बा हृदयचन्द्रले चाहिँ ‘एक चिहान’ भन्ने नाउँ राखिदिनु भा’छ । मलाई यसै नाउँले चिन्छन् । नेपालभरिकाले चिन्छन्, हृदयचन्द्रको छोरा भनेर । हाम्रा बा भगवान् नृसिंहजस्तै हुनुहुन्थ्यो । साहित्य भनेपछि हुरुक्कै हुने । मेरी दिदीको नाउँ भाषा हो । मेरी दिदीको स्याहार गर्दा उहाँलाई असाध्यै सन्तोष हुन्थ्यो अरे ! म, मेरो दाइ व्याकरणनाथ, र दिदी भाषा हामी तीन जना उहाँका सन्तानहरू ! हाम्रै लागि भनेर हाम्रो बाले जीवन अर्पण गर्नुभएको हो । बिरामी बरबराउँदै थियो । डाक्टर सा’पलाई हतारो भएकाले बाँकी कुरा सुन्नै खोजेनन् । ‘एक चिहान’जी, हामीले तपाईंलाई चिनिसकेका छौँ । नेपालभरिका अरूले चिन्ने, हामीले चाहिँ नचिन्ने कुरै आएन । तपाईंको शल्यक्रिया गर्नुपर्ने अवस्था छ । बरु भन्नुहोस्, तपाईंका अभिभावक को हुन् ? साहित्यप्रसाद अर्थात् ‘एक चिहान’ले विनम्र भावमा बिन्ती बिसाएछन्, बाबा स्वर्गे हुनुभइहाल्नुभयो । ललितपुरको पुलचोकमा बाबाकै सहोदर बहिनी साझाकुमारी प्रकाशन हुनुहुन्छ । उहाँ नै हुनुहुन्छ मेरी अभिभाविका ।
अभिभाविकाले डाक्टरको योग्यता नै नजाँचीकन अनुमति दिइछन् । हुन्छ, भइहाल्छ नि ! उनको के जान्थ्यो ? त्यस्ता जाबा भदाहा अरू पनि छँदै थिए । नामै त ‘एक चिहान’ । चिहानमै गए पनि जाओस् । त्यस्तीलाई पनि फुपू भन्नु ? डाक्टर सा’पहरू त्रिभुवन विश्वविद्यालय केन्द्रीय नेपाली शिक्षण समितिका हुनुहुँदो रहेछ । जहाँ पनि परीक्षण गर्दै हिँड्ने उहाँहरूको परम्परागत बानी । थाल्नुभएछ, शल्यक्रिया गर्न । ‘अपरेसन थिएटर’बाट निस्किएका एक जना डाक्टर सा’पले फुपू चाहिँलाई सोधेछन्–तपाईंको भदाहाको मुटु, कलेजो र फोक्सो काटेर छोटो बनाउनुपर्ने भयो । तपाईंको भनाइ के छ ? फुपूले मुसुक्क मुस्काउँदै भनिछन्–काट्ने मात्रै होइन । झिक्नै परे पनि म केही भन्दिनँ । नभन्दै ‘एक चिहान’को शल्यक्रिया भयो । साँच्चैको ‘एक चिहान’ भयो । बल्ल उसको नाउँ सार्थक भयो ! ठाक्टर साहेबहरूले हृदयचन्द्र सिंह प्रधानको ‘एक चिहान’ उपन्यासलाई काटकुट पारेर सङ्क्षिप्त बनाई कक्षा ११/१२ का विद्यार्थीलाई पढ्न लगाएका छन् । पाठक महोदयहरू, तपाईंहरूलाई कस्तो लाग्यो त ?
नैकाप, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
१००८ गठबन्धन महापार्टी

१००८ गठबन्धन महापार्टी

डा. गाउँले बलदेव
तिमी भोक देखाऊ, म भगवान् देखाइदिउँला !

तिमी भोक देखाऊ, म...

डा. गाउँले बलदेव
म प्रज्ञापति !

म प्रज्ञापति !

डा. गाउँले बलदेव
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x