साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘नेपाल’ शब्द ‘नयपाल’बाटै बनेको हो ?

Nepal Telecom ad

प्राचीन शलातुर भन्ने ठाउँ हलातुर भयो अनि त्यही हलातुरबाट लाहोर भन्ने ठाउँको नामकरण गरिएको हो । भाषाशास्त्रीहरू संस्कृत भाषाका विश्वमान्य वैयाकरण पाणिनिको जन्मभूमि शलातुरकै अपभ्रंशबाट बनेको आधुनिक लाहोर शहर हो भन्नेमा लगभग सहमत छन् । नेपालको गुल्मी जिल्लामा पणेना भन्ने ठाउँ छ त्यहीँ बसेर तपस्या गरेकाले उनको नाम पाणिनि भएको हो भन्ने अनुमान गर्ने भाषाविद्हरू पनि छन् । तारानाथ शर्माले त पणेनामा जन्मेकै कारण पाणिनि नाम पाएका हुन् भन्नेसम्मको तर्क राख्नुभएको छ । मैले २०४२ सालतिर हास्यव्यङ्ग्यकार केशवराज पिँडालीको एउटा हास्यव्यङ्ग्यात्मक निबन्ध पढेको थिएँ, त्यस निबन्धमा उहाँले अरू–अरू विदेशी नाम नेपालीबाटै बनेको भन्दै गएर तात्कालिक सोभियत संघका नेता मिखायल गोर्भाचोभलाई नेपाली नागरिक भनेर चिनाउनुभएको छ । गुरुवाचार्यबाट गोर्भाचोभ भन्ने शब्द बनेको भन्ने उहाँको तर्क पढेपछि हामी लगभग एक कोस लामो हाँसो हाँसेका थियौँ । पिँडाली उहाँको आफ्नै पत्रिका ‘साप्ताहिक विमर्श’को स्थायी स्तम्भकार हुनुहुन्थ्यो ।

यस्तै हास्यव्यङ्ग्यात्मक निबन्ध ‘आलु’मा भैरव अर्यालले आलुको नामकरण गर्दा उल्लेख गर्नुभएको छ । ‘आले, आली, आ ! ले न’ आदि शब्दबाट ‘आलु’ शब्द बनेको भन्ने तर्क गर्नुभएको छ । उहाँले पिँडालुको व्युत्पत्ति देखाउने सन्दर्भमा ‘पिँडा+आलु’ बनाउन चाहनुभएको छ । पिँडामा फलेको ‘आलु’ हुनाले पिँडालु भन्न सकिने आधार पनि देखिन्छ । पिँडा+आली=पिँडाली । केशवराज शर्मा लामिछानेको नाम केशवराज पिँडाली भएको उहाँलाई थाहा थियो । केशवराज पिँडालीको उपनाममा रहेको पिँडालाई सम्झिएरै पनि उहाँले आलुलाई पिँडालुको वंशज भन्नुभएको होला । एकताक केशवराज पिँडाली र भैरव अर्यालको कार्यक्षेत्र गोरखापत्र थियो । हास्यव्यङ्ग्यकारहरूले आफ्नो लेखनलाई प्रभावकारी बनाउने उद्देश्यले जे–जति कुरा गर्नुभयो ती कुराहरूलाई शैलीगत विशिष्टताको विषयमात्रै मानेर चित्त बुझाउन सकिन्छ ।

इतिहासविद् वा भाषाविद्हरूले कुनै शब्दको व्युत्पत्ति गर्दा वा मूलको कुरो गर्दा भाषिक आधार समाउनै पर्ने हुन्छ । हाम्रो प्रिय स्वदेशको शुभनाम ‘नेपाल’ हो । ‘नेपाल’ शब्दको अर्थ लाउने सन्दर्भमा उनको घर भन्ने गरिएको पनि पाइन्छ । यस अर्थलाई मान्ने हो भने ‘नेपाल’ नाम तिब्बती भाषाको हो । यस तर्कलाई हास्यव्यङ्ग्यकार केशवराज पिँडाली अथवा भैरव अर्यालका तर्कलाई जस्तै हाँसोमा उडाइदिन पनि सकिन्छ र गम्भीर रूपमा अन्वेषण गरेर टुङ्गामा पुग्न पनि सकिन्छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित नेपाली बृहत् शब्दकोशले ‘ने’ मुनिलाई नेपालीका आदिपूर्वज स्वीकार गरेको देखिन्छ । ‘तत्सम नेपाली व्युत्पत्ति शब्दकोश’मा पनि यही तर्क देखिन्छ । ‘ने’ मुनिले पालन गरेको देश भन्ने अर्थमा राष्ट्रकवि माधव घिमिरेले नेपालबाटै सृष्टिको पहिलो बिहान आरम्भ भएको स्वीकारोक्ति उहाँको राष्ट्रिय गीतमा उल्लेख गर्नुभएको छ । शिव नै स्रष्टा हुन् र नेपाल शिवभूमि हो । यस अर्थमा ‘ने’ मुनिलाई प्रथम नेपाली नागरिक मान्नु गौरवकै विषय हो । यस देशलाई नेमुनिले पनि पक्कै पालन गरे । पौराणिक ग्रन्थहरूमा नेपाललाई ‘नयपाल’ पनि भनिएको छ । ‘नी’ धातुमा ‘ति’ प्रत्यय लाग्दा नीति शब्द बन्छ । यसै गरी ‘अ’ प्रत्यय लाग्दा ‘नय’ पनि बन्छ । नीतिको पालना गरिने देश हुनाले यस देशको प्राचीन नाम नयपाल भएको हुन सक्ने बलिया आधार र प्रमाणहरू छन् । नेपालका राष्ट्रिय विभूति राजर्षि जनक नीतिज्ञ र नीतिपालक थिए । नैतिकवान् थिए । यस आधारलाई हेर्दा ‘नयपालः’ शब्दकै अपभ्रंश रूप ‘नेपाल’ भएको हुन सक्ने देखिन्छ ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
१००८ गठबन्धन महापार्टी

१००८ गठबन्धन महापार्टी

डा. गाउँले बलदेव
तिमी भोक देखाऊ, म भगवान् देखाइदिउँला !

तिमी भोक देखाऊ, म...

डा. गाउँले बलदेव
म प्रज्ञापति !

म प्रज्ञापति !

डा. गाउँले बलदेव
0
Would love your thoughts, please comment.x
()
x