साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भूकम्पु मैयाँलाई पिरेमपत्र

Nepal Telecom ad

प्रिय भूकम्पु,
धन्य, धन्यवाद छ तिमीलाई

तिमी आउँछ्यौ भन्नेसम्म त थाहा थियो, तर कहिले आउँछ्यौ र के कस्तो रुपमा आउँछ्यौ भन्ने कुराको हेक्का थिएन । हो तिमी आयौ, गडागडाएर आयौ, जुनीभरी बिर्सनै नसकिने गरी आयौ । तिम्रो शक्तिशाली कम्पनको एकै निमेषमा पनि धेरै कुरा क्षतविक्षत पार्ने अजस्र शक्ति प्रदर्शन गर्दै आयौ । हजारौँको जीवन एकैछिनमा सोत्र्यान्त पार्ने गरी आयौ । लाखौँ घर, महल र झुप्राहरूलाई भूमिसात पार्ने गरी आयौ । लालाबाला, बुढाबुढी, अन्ध अपाङ्ग र जवाँमर्द सबैसबै थर्कमान हुने गरी आयौ । तिम्रो यो आगमनका कारण नेपाली धरातलमा धेरै कुरा पुरिएका छन् । भत्किएका छन् । छोपिएका छन् । तिनलाई खोतलेर निकाल्न हामीलाई निकै वर्ष लाग्ने भयो । त्यो त छँदैछ । तर फेरि पनि तिम्रै प्रिय अनुकम्पाले हामीकहाँ लुकेका र छोपिएका थुप्रै कुरा छ्याल्ल ब्याल्ल भएर बाहिर निस्किएका पनि छन् । त्यसकारण पनि प्रिय भूकम्पु, तिमीलाई धन्यवाद दिन म केही हरफहरू कोर्ने प्रयत्न गर्दैछु ।

भूकम्पु, पटक पटक आएका तिम्रा जोडदार धक्काले हामीलाई विचलित मात्र बनाएन, हाम्रा सोच, मान्यता, नियत क्षमता सबै कुरा ज्वालामुखीबाट लाभा निस्किए झैं एकै पटक बाहिर निस्किएका छन् । तिम्रो धक्का थाम्न नसकेर गल्र्याम गुर्लुम लडेका काठमाडौंका महलहरूका भग्नावशेषबाट महानगरपालिकाका कर्मचारीहरूका भ्रष्ट मनोवृत्तिको धूलो बुङ्बुङ उडिरहेको छ । दुई तलाको नक्सा पास गरी साततला उचाल्ने महलवासी धनाड्यको नियत पनि त्यही धूलोसँग एकाकार भइरहेको छ । नक्सा पास गरे पनि नक्सा बमोजिम घर बने नबनेको अनुगमन गर्ने इन्जिनियरको नियत पनि त्यही धूलोमा काइदासँग मिसिएको छ ।

कुरो यो त सामान्य भयो, हाम्रा योजनाविदहरू, हाम्रा विज्ञहरू, हाम्रा नेताहरू, सरकारी निकायका उच्च पदस्थ महानुभावहरू कति दूरदृष्टि राख्दछन्, आम नागरिक र यो राष्ट्रप्रति कति दायित्वबोध गर्दछन् भन्नेसम्मको जानकारी तिम्रै उपस्थितिका कारण छ्याल्लब्याल्ल भएको छ । तिमीले माटो हल्लाउँदा जसरी भूगर्भभित्र रहेको पानीको तह सतहमै आएको थियो त्यसैगरी कमजोर संरचना निर्माण गर्ने ठेकदार र ठेक्का दिने सरकारी अधिकारी बिच हुने गरेका अदृश्य लेनदेनका यथेष्ट प्रमाणहरू यत्रतत्र छरपष्ट भएका छन् । मिसन, कमिसन, बोलकबोलका भरमा हुने गरेका यस्तै अनेकन कारनामाहरूलाई हामी सबैले देख्ने गरी उदाङ्गो पारि दिने तिम्र्रो अनुकम्पालाई धन्यवाद नदिइरहन कसरी पो सकिन्छ र !

प्रिय भूकम्पु, तिमी आएर गएको पनि दुई महिना हुन लाग्यो । तर निकै जोडदार परकम्पन पठाएर हामीलाई झकझक्याइ रहने तिम्रो पराक्रम देखेर म त हतप्रभ भएको छु । हामी प्रतिको तिम्रो यस अनुग्रहलाई खै के भनेर कृतज्ञता जाहेर गरुँ शब्द नै भेटिरहेको छैन । तिम्रा दुई चार झड्का खाएपछि हाम्रो राजनीतिमा पनि दूरगामी महत्व राख्ने परकम्पन पैदा भएका छन् । ६÷७ वर्षसम्म पानी बारबार गर्दै आएका, उस्तै परे एकले अर्कालाई सखापै पार्न तम्सनेहरू बिच पनि अहिले सहमति र सहकार्य पो हुन थालेको छ त । चार ठूला राजनीतिक दलहरूका बिच डेड दर्जन बुँदै सम्झौता सम्पन्न भयो भर्खरै । भूकम्पू, सुन्यौ के तिमीले ? यसले अब चाँडै संविधान बन्ने खतरा पैदा गरेको छ । हाम्रो अस्थिरतामा आला पालो खेल्ने खेलाडीहरू समेत लौ अब खेलो सकिने भो भनेर चिन्तित हुन थालेका छन् ।

तिम्रै कृपाले यसरी कहिल्यै सम्भव नहुने भइसकेको काम सम्भव हुन लागेको जानकारी तिमीलाई दिन पाउँदा मन गदगद भएको छ । के थाहा, न ती दुष्ट खेलाडीहरूले आफ्नो परम्परागत खेलो जारी राख्न कतै चोसो पसार्दै फेसो पो हाल्ने हुन् कि । त्यसकारण भूकम्पू तिमीले चटक्कै माया मार्नु भएन, बेला बेला ४÷५ रेक्टरका पराकम्पन मार्फत आफ्नो उपस्थिति जनाइराख है । अस्ती २ दिन तिम्रो परकम्पन नआउँदा चार दलीय सहमति झण्डै बिथोलिएको थियो । धन्न भोलिपल्टै ४.६ रेक्रटर कम्पन अनुभव गर्न पाइयो । हो त्यसपछि नै सहमतिमा हस्ताक्षर सम्पन्न भएथ्यो । हैन मलाई पनि तिम्रो परकम्पन बेला बेला नआउँदा, नियास्रो पो लाग्न थालेको छ है । कस्तो अनौठो माया प्रीति बस्यो हँ तिमीसँग ! अहिले यी पङ्क्ति लेखिरहेकै बेलामा पनि दोलखाको सिँगटीलाई केन्द्रबिन्दु बनाएर ५.२ को धक्का आइ त हाल्यो । तिम्रो र मेरो वेभलेन्थ मिलेजस्तो छ । नत्र मैले सम्झनु र तिमीले सम्झनु एकैपटक कसरी हुन्थ्यो त हकि ! जेहोस् नकारात्मक अनेक क्षति हुँदाहुँदे पनि नेपाली राजनीतिलाई सकारात्मक धक्का दिने तिम्रो खूबीलाई चाहिँ मान्नै पर्छ वा… । त्यसकारण पनि प्रिय भूकम्पू धन्य, धन्यवाद छ तिमीलाई । तिमी नै स्वयम् हलचलपूर्ण तरिकाले उपस्थित नभए पनि हामीलाई झस्काइरहने परकम्पन पठाउन नछोड है, कमसेकम संविधान बनेर घोषणा नहुन्जेल ।

उही तिम्रो हतभागी
पीडित

कलङ्की, काठमाडौं
छलफल साप्ताहिक, वर्ष ३३, अङ्क ३३, २०७२, जेठ ३१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x