साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रोजेक्ट रिपोर्ट

Nepal Telecom ad

श्रीमान् प्रोग्राम को–अर्डिनेटरज्यू,

डिजास्टर रेस्क्यू आधईएनजिओ

सेन्ट्रल हेड क्वाटर, विदेश

विषय : प्रोजेक्ट रिपोर्टका सम्बन्धमा

नेपालका भूकम्पपीडितहरूका लागि त्यस संस्थाबाट विनियोजित रकमको कार्य विवरण पठाएको छौं । आशा छ, हाम्रो टार्गेटेड ग्रुप, प्रभावकारी प्रोजेक्ट, मितव्ययी शैलीबाट त्यो संस्थाको संयोजक दंग पर्नुहुनेछ अनि नेक्स्ट प्रोजेक्टका लागि डलरको खोलो बगाउनुहुनेछ ।

हामीले डिमान्ड गरेको रकम १ लाख डलर । त्यहाँबाट एप्रुभ भएको डलर ५० हजारमात्र । ५० हजार डलरको ने.रु. ५० लाख । ५० लाखमा १५ प्रतिशत लोकल गभर्मेन्ट ट्याक्स उतै काटिएको । एक्सप्रेस मनी ट्रान्सफर खर्च रु. ५० हजार । दुवै ट्याक्स–स्याक्स कटाएर हात लागेको जम्मा रु.४२ लाखमात्र) । उक्त ४२ लाख रकमको प्रोजेक्ट विवरण यस प्रकार छ :

एफेक्टेड एरिया सर्च गर्दाको खर्च रु. ५० हजार । रिसर्च गर्दा लागेको रकम रु. १ लाख । सेन्ट्रल काठमाडांैदेखि ६ हजार मिटरको दूरीमा पर्ने दुर्गम, हाँडीगाउँसम्मको यातायात खर्च रु. ७५ हजार । गाडी र मानिसको इन्धन खर्च रु. २५ हजार । थप ५० हजार स्थानीय नेता, गुन्डा र क्लबलाई दिएको । यस हिसाबले रिसर्चका क्रममा भएको जम्मा खर्च रु. २ लाख ५० हजार मात्र ।

प्रोजेक्ट एनाउन्समेन्ट खर्च देहायबमोजिम भएको छ । मिडिया को–अर्डिनेसन १ लाख । सञ्चार संयोजन १ लाख ५० हजार । खाम खर्च ५ हजार । दाम खर्च १० हजार । झ्वाम खर्च १५ हजार । हलभाडा ५० हजार । पहल भाडा २५ हजार । जल भाडा २५ हजार । माइक, साउन्ड, सिस्टम सबै गरेर थप थर्टी थाउजेन्ट । मात्तिएर घर जान नसक्ने मिडिया पर्सनका लागि ट्याक्सी खर्च ४० हजार । यसरी प्रोजेक्ट एनाउन्समेन्टको जम्मा खर्च रु. ४ लाख ५० हजार रहेको देखिन्छ ।

त्यसैगरी जस्ताको टेन्डर कल गर्दा रु. २५ हजार । त्यस्ताको टेन्डर मिसकल गर्दा फेरि २५ हजार । भाउ सोध्न जाँदाको खर्च २५ हजार । अर्डरबापत पुन: २५ हजार । लोड गरेको २५ हजार । अनलोड गरेको फेरि २५ हजार । मेटेरियल्स स्टोर खर्च ५० हजार । स्टोर भएको सामानको रकम ५० हजार । सेक्युरिटीको ५० हजार । सेक्युरिटी गार्डको फेरि ५० हजार । यसरी पुनर्निर्माण सामग्री एफेक्टेड एरियासम्म लोड र अनलोड गर्दासम्मको खर्च जम्मा रु. ३ लाख ५० हजार ।

स्वयंसेवकलाई ड्रेसकोड खरिद मात्र रु. २ लाख । उनीहरूका लागि विशेष टेन्ट, खानापिना र सानातिना खर्च जम्मा २ लाख ५० हजार । मेडिकल टोली ५० हजार रुपैयाँ । औषधी र उपचार खर्च ५० हजार रुपैयाँ । उपियाँ मार्ने औषधी खरिद २५ हजार । स्वयंसेवक हौसला खर्च १ लाख । एक्सपर्टहरूका लागि भएको जम्मा खर्च रु. १ लाख ५० हजार । यसरी टहरा बनाउनुअघिसम्म भएको जम्मा खर्च रु. १९ लाख मात्र भएको छ ।

किला, काँटी, हम्मर, खन्ती, साबेल, ट्रयाक्टर, डोजर भाडा २ लाख ५० हजार । एफेक्टेड एरियासम्म डोजर लैजानका लागि बाटो खनेको ३ लाख । चोया, बाबियो, सुतली, ढुंगा, माटो खरिद रु. १ लाख ७५ हजार । स्याउला, दाउरा, खाँबो, लौरो, ठेडी किनेको रु. २५ हजार । सय–सय घरधुरीलाई चामल एक–एक मानाको दरले रु. २५ हजार । दसवटा टहरा बनाएको ३ लाख । तयार पारेको ५० हजार । पीडितलाई बसाएर सेल्फी खिचेको २५ पच्चीस हजार । पानीले बिगारेको २ लाखजति । टालटुल खर्च ५ लाखजति । अरू खर्च कति–कति । यस हिसाबले दसवटा टहरा बनाएपछि हामीसँग लगभग ९ लाखजति बाँकी रहेको देखिन्छ ।

हिजोमात्र पीडितलाई झुप्रो हस्तान्तरण महोत्सव सम्पन्न भयो । महोत्सवमा ब्यान्डबाजा, धिमे बाजा, नेवारी खाजा, बाहुन प्रसाद, तामाङ अचारको जम्मा खर्च २ लाख पचास हजारजति पुग्यो । मन्त्री तथा उनका जन्तीको छुट्टै खानपान खर्च रु. १ लाख । हाम्रो संस्थाका अध्यक्ष र कर्मचारीको दुर्गम भत्ताबापत १ लाख ५० हजार । टिभी, क्यामेरा, फोकसिङ, क्लिक र टेलिकास्ट गरेर जम्मा २ लाख ७५ हजार । हस्तान्तरणमा हेलिकप्टरबाट पुष्पवृवष्ट गर्दाको खर्चसमेत जोड्दा टोटल कस्टिङ नेपाली रुपैयाँ ४० लाख २५ हजार चोख्खै हजम भएको देखिन्छ ।

यसरी जम्मा ४२ लाखको प्रोजेक्टमा ४० लाख २५ हजार खर्च गरेर बाँकी रहेको १ लाख ७५ हजार मेरै एकाउन्टमा छ । त्यो रकम पुष्पवृष्टिका क्रममा हेलिकप्टरले भत्काएका टहरा पुनर्निर्माण गर्ने चर्चा पनि भएको हो, तर क्षति निकै धेरै भएकाले बरु त्यो रकम स्वयंसेवक तथा संस्थाका कर्मचारीहरूको रिफ्रेसमेन्टमा खर्च गर्ने बोर्डले डिसिजन गरेको छ ।

नोट :

– खर्चका बिलहरू बनाउन सक्ने दुई नम्बरी गिरोह खोजी भैरहेको छ ।

– टहरा बनाउन पुरानै घरको सामग्री प्रयोग गरेको कुरा लुकाइएको छ ।

– मन्त्रीका पिएले पनि भाग खोजेझैं लागेकाले मिलाउने प्रयास हुँदैछ ।

– अर्को प्रोजेक्टका लागि पेपर पठाउँदैछौं, बाँडीचुँडी भुँडी–निर्माण गरौंला ।

पेवा नै परम् धर्म हो ।

साप्ताहिकबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x