लक्ष्मण गाम्नागेतानतुन संविधानको प्रस्तावना
हामी आफूसँग अलिकति सार्वभौमसत्ता राखी बाँकी छिमेकी राष्ट्रका दूतावासमा सुम्पेका राजनीतिक तथा आर्थिक रूपले सम्पन्न नेपाली नेताले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता एवं स्वाभिमानलाई बेलाबेलै धरापमा पार्दै विदेशी प्रभुहरूको संकेतानुसार जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई पटकपटक कुण्ठित गरेको कुरालाई आत्मसात् गर्नुको सट्टा इन्कार गर्दै, राष्ट्रिय हितभन्दा आफ्नै हित, आफन्तको हित, कार्यकर्ताको हित एवं गुटको हितप्रति प्रतिबद्ध रहँदै लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि भन्दै नेपाली जनतालाई कहिले आन्दोलनका नाममा, कहिले युद्धका नाममा पटकपटक बलिदान गराउँदै धोका दिँदै आएको इतिहासलाई बिरालोले ऊ लुकाएजस्तो लुकाउँदै एवं मुक्तिका रंगीन सपना देखाई भाइभाइबीच लडाइँ उठाई जबरजस्ती बनाइएका हजाराँै सहिद तथा बेपत्ता र पीडित नागरिकलाई नाकै भाँचिने गरी लोप्पा खुवाउँदै र त्यस्ता पुराना कर्तुतलाई नकोट्याउन धम्कीसमेत दिँदै, सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थासँग पटकपटक गरेका गठबन्धन, सम्झौता र साँठगाँठलाई मध्यनजर गरेर ती व्यवस्थाले उत्पादन गरेका निरंकुश, भ्रष्ट एवं प्रतिगामी नोकरशाहहरूको संरक्षण गर्दै, तिनीहरूसँग उठबस गर्दै, खाँदै, पिउँदै वा डराएर काम्दै तिनीहरूका पदलाई यो संविधान जारी भएपछि पनि कायमै राखिदिने कसम खाँदै, बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त विशेषताको फाइदा उठाउँदै विविधताबीचको एकता, सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावनालाई के कसो गर्दा खलल पुर्याउन सकिन्छ, कुन वर्ग वा जातलाई उचाल्दा आफ्नो भोट बढ्छ भन्ने विचार गरी वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक र सबै प्रकारका जातपात र छुवाछूतलगायत सबै प्रकारका विभेद र उत्पीडनका नाममा आर्थिक समानता, समृद्धि, सम्पन्नता र सामाजिक न्याय सुनिश्चित गर्न भन्दै देश विदेशबाट विभिन्न प्रकारका आर्थिक सहयोग, चन्दा, अनुदानहरूको संकलन एवं खाडीका मरुभूमिहरूमा वर्षौंदेखि पिल्सिरहेका नेपाली युवक–युवतीको रगत पसिनाबाट सिर्जित रेमिट्यान्स आदिका भरमा मुलुकलाई नयाँ नेपाल बनाउने हवाई आधार निर्माण गर्न प्रतिबद्ध रहँदै, समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा धनी झन् धनी, गरिब झन् गरिब हुने परिपाटी कायम राख्दै नेतागणको आर्थिक समृद्धि र विकासका लागि भागबन्डाको राजनीतिलाई बढावा दिई भागबन्डाका आधारमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, संवैधानिक अंगका प्रमुखहरूको नियुक्ति गर्ने कुरालाई समेत निरन्तरता दिने संकल्प गर्दै, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा निरंकुशतन्त्रका अवशेषहरूलाई ब्यूँताउँदै उनीहरूको पक्षपोषण गर्न सक्ने निष्पक्ष र सक्षम न्यायपालिका तथा कानुनी राज्यको अवधारणालगायतका लोकतान्त्रिक मूल्य र मान्यतालाई अवलम्बन गरी यो संविधान जारी हुनुभन्दा अगाडि भए–गरेका सबै प्रकारका राजनीतिक हिंसा, हत्या, भ्रष्टाचार, मानव अधिकार उल्लंघनलगायत अपराधलाई आममाफी दिई राजनीतिक, सामाजिक, सांस्कृतिक एकता एवं सहिष्णुताको सन्देश दुनियाँसामु प्रस्तुत गर्दै, अतीतमा सम्पन्न गरेका सुत्केरी काण्ड, भेडाबाख्राझैँ थुनिएका–बेचिएका काण्ड, पासपोर्ट काण्डलगायत अनेकौँ काण्ड, आफ्नो स्वार्थपूर्तिका लागि पटक–पटक पार्टी फोरेका घटनालगायत नैतिक अनैतिक जे जे काम भए, तिनीहरूलाई बिर्संदै, अर्बौं रुपियाँ सकेर सात–आठ वर्षसम्म एउटा संविधान बनाउन नसकेको कुरामा रत्तिभर नलजाउँदै, जतिसुकै राम्रो र लोकतान्त्रिक संविधान बने पनि हामी नेता नसुध्रेसम्म देश उँभो नलाग्ने र हाम्रो पुच्छर १२ वर्ष ढुंग्रामा हाले पनि नसोझिने आशंका गर्दै जेनतेन यो तानतुन संविधान नेपाल र नेपाली जनताका लागि जारी भएको घोषणा गर्दछौँ ।
नेपाल साप्ताहिक
Subscribe
Login
0 Comments
Oldest







































