होम सुवेदीबेला बितिसकेछ
आफ्नो घरमा बडो मजाले बसेका पालिएका एक जोडी कुकुर बेलाबेला भुक्थे र घरको सुरक्षा गर्थे । आफ्नो घरको राम्रो सुरक्षा गरिरहेकोमा तिनको मालिक पनि खुसी थियो । बेला बेला खान मिल्थ्यो । घर मालिकबाट उनीहरूले राम्रो माया पाएका थिए
समयक्रममा तिनीहरूको एक छाउरो जन्म्यो । छाउरो पनि राम्रो गरी हुर्कन थाल्यो । एक दिन उसले बाहिर सडकमा हल्लीखल्ली गर्ने भुस्याहरू देखेर आमालाई आफु पनि बाहिर जान पाए हुने कुरा गर्याे ।
“यो बेला तँलाई यसको केही ज्ञान छैैन । चूप लाग् ।” आमा चाहिँले भनी ।
फेरि पनि उसले ढिपी गर्न छाडेन ।
“बाहिर अरुसँग लावालस्कर लागेर कुद्न ता सक्लास् तर तैले बाहिरको कुरा बुझेकै छैैनस् । कुद्न ता सजिलो होला तर भोको कुद्न र अर्काले पाएको एक नलीहाडसँग गाँड कोराकोर गरेको तैले देखेको छैैनस् । पेट कसरी पालिन्छ तँलाइ ज्ञानै छैनस् । बस् यहीँ बस् ।”
फेरि पनि मानेन । सारै ढिपी गरेकोले आमाचाहिँलाई बाबुचाहिँले भन्यो– “लौ त जाओस् हेरोस् यो दुनियाँ जान दे ।” बाबुले यसो भनेकोले र सारै ढिपी गरेपछि छाडिदिई उसलाई आमाले ।
बाहिर निस्क्यो छाउरो ।
बाहिर जानासाथ बाहिरका ससारमा ऊ नयाँ थियो र नयाँ ससारमा नयाँ सदस्यको सहज प्रबेश हुन पाएन । ङारङुर सुरु भयो । तर केही समझदार पनि थिए । एक बुढो कुकुरले उसलाइ भन्यो “तेरा लागि यो अर्काेको ठाउँ हो । यहाँको धर्म बेग्लै छ । यहाँ आएपछि धर्म परिवर्तन गर्नु पर्छ । यो गल्लीमा ता नर्क पनि खानु पर्छ । तँ तयार छस् यो सब गर्न ?”
छाउरो बोलेन ।
अर्काेले भन्यो– “यहाँ ता एक हड्डीका लागि मारामार पनि हुन्छ तँ यसो गर्न तयार छस् ?”
फेरि पहिलेकैले भन्यो “खुला दौडन पाइन्छ भनेर सुरुमा लोभलाग्दो लाग्ला तर यहाँ निर्बाह गर्न सजिलो छैैन ।”
अर्कोले तुरुन्तै भन्यो “गल्लीमा फ्याँकिएका कुराले पेट पाल्नु पर्छ सक्छस् भने मात्र आइज नत्र फर्की ।“
यसै बेला उसले अलिक पर कुकुरलाई एक घरभित्रबाट एक रोटी फ्याँकियो । रोटीका लागि काग लगायत दसौ भुसिया कुकुरहरू झम्टिएको उसले देख्यो ।
अनि उसले तुरुन्तै यो सब गर्नु भन्दा ता पुरानै घर जानु उत्तम लागेर ऊ फर्कियो । यता उसको निस्केको ढोका भने बन्द भइसकेको पो रहेछ । घरभित्र पस्ने बेला ता बितिसकेछ ।
भद्रपुर, झापा
Subscribe
Login
0 Comments
Oldest








































