मनोज गजुरेलज्योतिषिको ग्रहदशा
त्यसो त ग्रहदशा हेर्ने काम ज्योतिषिहरूको हो । भत्किएको ग्रहलाई बनाउने, बिग्रिएको दशालाई सपार्ने, डराएकालाई सान्त्वना दिने, आत्तिएकालाई हौसला दिने, त्रासलाई आशातर्फ लाने, निराशालाई आशामा बदल्ने ज्योतिषिहरूको नैतिक जिम्मेवारी हो । अनैतिक हिसाबले तीललाई पहाड बनाउने, सचेत बन्नु भने पुग्नेमा मनोवैज्ञानिक आतंक सिर्जना गर्ने, हुन लागेको सम्झौतालाई योग छैन भनेर भड्काउने, बन्न लागेको संविधानलाई जोग छैन भनेर अड्काउने काम हुन थाले पनि ज्योतिषिकै ग्रहदशा हेर्नुपर्ने स्थिति आएको गजुरियल ठम्याइ छ ।
दोस्रो संविधानसभाको निर्वाचनअघि कुनै ज्योतिषले ठोकुवा नै गरेका थिए, देशको दशा बिग्रिएकाले यो चुनाव हुनै सक्दैन ! तर, चुनाव त सोचेभन्दा राम्रो तरिकाले सम्पन्न भयो । त्यसपछि कुनै ज्योतिषले बानेश्वरको संविधानसभा भवन वास्तुशास्त्र अनुसार छैन, त्यसैले त्यो सभा काम लाग्दैन भने । अहिले संविधान बन्ने अवस्थासम्म र्पुयाएको छ त्यही भवनले । यस्ता थुप्रै उदाहरण छन्, जो एकपछि अर्को गर्दै थुप्रै भविष्यवाणी सुपर फ्लप भएका छन् ।
अहिले आएर असोज ३ गते एकदमै खतरा छ, संविधान घोषणा गर्नै हुन्न भन्ने खालको भविष्यवाणी आएकाले ज्योतिषिहरूको ग्रहदशा हेर्नैपर्ने बाध्यात्मक अवस्थामा यो विश्लेषक पुगेको हो ।
गजुरियल विश्लेषणअनुसार, अहिले ज्योतिष विज्ञानमा ज्योतिष अज्ञानहरूको बाहुल्यता बढेको छ । त्यसैले ज्योतिषिहरूप्रति जनताको विश्वसनीयता कम भएको हो । यसैले ज्योतिष विज्ञानको ग्रह दशा बिग्रिएको गजुरियल ठम्याइ छ ।
ज्योतिष दुई प्रकारका हुन्छन् रे— फलित र गणित ! गणित ज्योतिष ताराहरूको गणनाका आधारमा चल्छ रे, फलित ज्योतिष ग्रहहरूको अध्ययनबाट अघि बढ्छ रे ! ‘रे’ यस कारण कि यो विश्लेषकले आफ्नो सही भविष्य बताउन सक्ने वैज्ञानिक ज्योतिषि अहिलेसम्म भेटेको छैन ।
यो विश्लेषकले दर्जनौं ज्योतिषको संगत गरेको छ । यस क्रममा धेरै प्रकारका ज्योतिषि भेटिए, जसले ज्योतिष विज्ञानको ग्रहदशा बिगारेका छन् । आउनुहोस्, तिनीहरूको गजुरियल विश्लेषण गरौं । तिनीहरूको ग्रहदशा कलाउने प्रयास गरौं ।
जडित ज्योतिषि : यिनीहरू दर्जनौं माला जडित हुन्छन् । दसवटा औंलामा बाह्रवटा औंठी, एउटा घाँटीमा दर्जन मालाको फल्दा लगाएर धन्दा गर्नु यिनिहरूको आफ्नै विशेष शैली हो । ग्रह मिलाउने भन्दै पत्थर बेच्नु तथा दशा सम्हाल्ने भन्दै औंठी जडान गर्नु यिनीहरूको पेसा हो ।
लडित ज्योतिषि : यिनिहरूले टिभीमा निकै हल्ला गर्छन् । रेडियोमा कुर्लन्छन् । पत्रपत्रिकामा यिनको निकै प्रचार–प्रसार हुन्छ । मिडियाले पनि लडितहरूलाई उचाल्ने निकै प्रयास गर्छ तर यिनीहरूका प्रत्येक भविष्यवाणी असफल भएर जनताको नजरमा नराम्रोसँग पछारिने भएकाले यिनलाई लडित ज्योतिष भनिएको हो ।
सडित ज्योतिषि : सडितहरू यति सडिएका हुन्छन् कि परस्त्री देख्यो कि व्यभिचारको दुर्गन्ध छोडिहाल्छन् । कोमल नारी स्वभावको फाइदा उठाउन सडितहरू एकदमै माहिर हुन्छन् । महिलाको सम्बन्ध–विच्छेद गराउनेदेखि आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्नेसम्मको कला सडितहरूसँग हुन्छ ।
गलित ज्योतिषि : गलित ज्योतिषिले मानिसलाई यसरी गलाउँछन् कि जिन्दगीभरि उसको पछि लाग्न बाध्य गराउँछ । कस्तै वैज्ञानिक चेतको मान्छेलाई पनि लोभ, आशा, डर र त्रास देखाएर गलाउन सक्ने क्षमता राख्छन् ।
चलित ज्योतिषि : यिनीहरू मान्छेको मुड अनुसार चल्छन् । के सुन्दा ग्राहक खुशी हुन्छ, त्यही भनिदिएर चलितहरू बजार चलाउँछन् । चाकडी र चुक्लीमा अत्यन्तै चालू देखिने चलितले राजा, महाराजा, सेना, प्रहरीका हाकिमदेखि ठूला व्यापारीसम्मलाई चंगुलमा राखेका हुन्छन् ।
छलित ज्योतिषि : छलछाम छलितहरूको शैली हो । मणिभन्दै छडी बेच्नु तथा सुन भन्दै पित्तल भिडाउनु छलितहरूको कर्म हो । दुर्गम गाउँका सोझा जनता छलितका मुख्य ग्राहक हुन् । छलितहरूको छलछापमा परेर धेरै नेपालीको घरको छानो चुहिने गरेको छ ।
जलित ज्योतिषि : कालीको भक्त, दुर्गाको उपासक, भष्मेश्वरको चेला, ध्वस्तेश्वरको भतिजा भन्दै यिहिरू घर–घर डुल्छन् । आफूले भनेको नमाने भष्मेश्वरले भष्म गराउने, जलेश्वरले जलाउने भविश्वाणी गर्नु यिनीहरूको काम हो । वैज्ञानिक चेत भएका मान्छेसँग कहिल्यै अगाडि नपर्ने जलितहरू सोमजलका पारखी हुन्छन् ।
हलित ज्योतिषि : हलितहरू कुनै निश्चित उद्देश्यका लागि भविष्यवाणी गर्छन् । कसैको कुत्सित मनसाय पूरा गर्न काल्पनिक कुरा गर्नु हलितहरूको काम हो । अर्काको हलि भएर ज्योतिष विज्ञानलाई अज्ञान बनाउने भएकाले यिनलाई हलित ज्योतिष भनिएको हो ।
साप्ताहिक आश्विन १, २०७२
Subscribe
Login
0 Comments
Oldest









































