सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

गजल उत्सव सम्पन्न

Nepal Telecom ad

काठमाडौं, २ असोज । आदि गजलकार मोतीराम भट्टको १५० औँ जन्मजयन्तीको अवसरमा आज काठमाडौँमा गजल उत्सव, २०७२ सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली गजल मन्च, भुटान गजल मन्च र अन्तर्राष्ट्रिय भुटानी सिर्जनशील मन्चको संयुक्त आयोजनामा सम्पन्न उत्सवमा विभिन्न स्रष्टाका गजलकृति विमोचन, प्रत्यक्ष गजल गायन, स्रष्टा सम्मान र कार्यपत्र प्रस्तुति र टिप्पणी कार्यक्रम रहेका थिए ।

कार्यक्रममा ८९ जना भुटानी नेपाली गजलकारहरूद्वारा लिखित ‘दबाइएका आवाजहरू’, दीर्घ क्षेत्री दीपको ‘हिमचुलीको आभा’ तथा सरिता ढुङ्गानाको ‘आफन्तको भिडमा’ गजलकृतिको विमोचन भएको थियो । समालोचक शैलेन्द्र अधिकारीद्वारा लिखित गजलको सैद्धान्तिक ग्रन्थ ‘गजल स् सैद्धान्तिक समालोचना’ पनि सोही अवसरमा डब्लुडब्लुडब्लु डट पाण्डुलिपि बुक्स डट कममार्फत विमोचन गरिएको थियो ।

यसरी नै यस वर्षको मोतीराम गजल साधना सम्मान, २०७२ गजलकार मनु ब्राजाकीलाई, सेतुराम सङ्गीत साधना सम्मान, २०७२ युवा सङ्गीतकार हरि लम्साललाई र गजल सञ्चार सम्मान, २०७२ रेडियोकर्मी हेम भण्डारीलाई प्रदान गरिएको थियो ।

संस्थागत र व्यक्तिगत रुपले समेत नेपाली गजलको विकास, विस्तार र परिस्कारका लागि क्रियाशील अनाममण्डलीका अध्यक्ष बलराम दाहाललाई कदरपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा गजलगायक गायिकाहरू सुवास अगम, राज सागर, समीर विक, झुमा निरौला, निखिता थापा, सहदेव तिमिल्सिनाले प्रत्यक्ष गजल गाएका थिए ।

‘दबाइएका आवाजहरू’माथि बोल्दै समालोचक प्रभाती किरणले उक्त कृति भुटानी नेपाली साहित्यका लागि मात्र नभएर समग्र नेपाली साहित्यमै ऐतिहासिक र महत्वपूर्ण कृति भएको बताए । अर्का समालोचक देवी नेपालले दबाइएका आवाजहरू नेपाली र भुटानी नेपाली साहित्यमै उल्लेख्य कृति भएको टिप्पणी गरे ।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभू घिमिरेले अहिले नेपाली गजलले व्यापकता प्राप्त गरिसकेको उल्लेख गर्दै प्रज्ञा प्रतिष्ठान पनि नेपाली गजलको विकासमा सहयोगी बन्दै आएको बताए । उनले भोलिका दिनमा नेपाली गजलको विकासका निम्ति प्रज्ञा प्रतिष्ठानले सहयोग गर्न कुनै कन्जुस्याईँ नगर्ने प्रष्ट पारे ।
सम्मानित स्रष्टाहरूले अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चलगायतका संस्थाले नेपाली गजलको विकास, विस्तार र परिस्कारमा गरेको काम अतुलनीय रहेको र यस्तो संस्थाबाट सम्मानित हुन पाउनु गर्वको विषय रहेको बताए ।

आयोजक संस्था अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चका अध्यक्ष घनेन्द्र ओझाले एक दशकअघिदेखि आफूहरू संस्थागत र व्यक्तिगत रुपबाट समेत नेपाली गजलको विकास र विस्तारका निम्ति क्रियाशील रहेको बताउँदै आगामी दिनमा अझ महत्वपूर्ण र ऐतिहासिक काम गर्ने प्रेरणा मिलिरहेको बताए । उनले भने, ‘मोतीराम नेपाली गजलसाहित्यका मात्र नभएर समग्र नेपाली भाषा, साहित्यकै अग्रणी र सम्माननीय व्यक्तित्व हुन्, राज्य र गैरसरकारी तवरबाट समेत उनीप्रति यथेष्ट सम्मान हुन सकेको छैन ।’

कार्यक्रममा गजलकारहरू ज्ञानुवाकर पौडेल, बूँद राना, विजय सुब्बा, सङ्गीतकार मणिकमल क्षेत्री लगायतको उपस्थिति थियो ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad