साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राजनाथले किन त्यसो भने होला ?

Nepal Telecom ad

‘नेपालके १ करोड भारतीयका सुरक्षा हमारा दायित्व है ।’– भारतीय गृहमन्त्री राजनाथ सिंह । सिंहले यसो भनेपछि देशप्रेमीहरू बाघ बनेर दाह्रा तिर्खान थाले । विदेशप्रेमीहरू स्यालझैं पुच्छर हल्लाउन सुरु गरे, अभिमानीहरूले जिब्रो मिठ्याए भने स्वाभिमानीहरूले जिब्रो टोके । गजुरियल विश्लेषण भन्छ, राजनाथको भनाइलाई लिएर दंग परिहाल्नुपर्ने वा झसङ्ग भैहाल्नुपर्ने कुनै कारण छैन । किनभने भोलि भारतमा ठूलो हिंसा मच्चियो भने हाम्रा वामदेवले पनि भन्नैपर्छ, ‘भारतमा रहेका ५० लाख नेपालीको सुरक्षा हाम्रो चासो हो भनेर भन्देखुन् ।’

तर प्रश्न क्या है भने, नेपालमें भारतीयका जनसंख्या १ करोड है कि नही है ? है भने क्यूँ है ? नही है भने क्यों ऐसा भना है ? नेपालमें रहेका हर कसैको सुरक्षाका जिम्मा त नेपाल सरकारका है, लेकिन भारत किन अपना दायित्व समझता है ? के नेपालको सुरक्षा संयन्त्र कमजोर है ? कि नेपालका गृहमन्त्रालयको पनि आफ्नै एजेन्सी ठान्ते है ? नही ठान्ते है भने राजनाथ सिंहले किन त्यसो भन्थे है त ? आउनोस्, आज यही विषयमा गजुरियल विश्लेषण गरौं ।
भारतीय गृहमन्त्री राजनाथ सिंह । उनको भनाइलाई सोझै बुझ्न खोजियो भने कुरोको चुरोमा पुगिँदैन । यसलाई दायाँ–बायाँ, अगाडि–पछाडि, तल–माथि हेरेर, चिम्लिएर हरेक तरिकाले हेर्नुपर्ने हुन्छ । सबैभन्दा पहिले राजनाथ सरको नाम, थर र वतनकै विश्लेषण गरेर उनको भनाइको भावार्थ बुझ्ने प्रयास गर्नुपर्छ ।

‘भारतीय’, ‘गृह’, ‘मन्त्री’ ‘राज’, ‘नाथ’ र ‘सिंह’ । यी प्रत्येक शब्दको फरक फरक भावार्थ छ । भारतीय भन्नासाथ उनले आफूलाई बडेभाइ ठान्ने नै भए । गृह भन्नासाथ गृह–सुरक्षा मात्र नभए गृह–कलहलाई प्रोत्साहन गर्नु भन्ने पनि ठाने होलान् । मन्त्री भन्नासाथ तीनतिर ध्यान दिनैर्पयो— देश, विदेश र मधेस । राज भन्नासाथ रहस्य भैहाल्यो । रहस्य के छ, त्यो उनैले जानून् । नाथ भनेको मालिक भैहाल्यो । आफूले आफैंलाई मालिक ठानेपछि जे बोले पनि भयो भन्ने भ्रम परेको हुन सक्छ । सिंह भन्नाले जंगलको राजा भैहाल्यो । भारतीय गृहमन्त्री राजनाथ सिंहको उपरोक्त भनाइलाई विभिन्न कोणबाट विश्लेषण गर्ने प्रयास गरिन्छ ।

माथिका सम्भावना मात्र भए । किनचाहिँ त्यसो भने होला त ? कुरोका चुरोमा त पुग्नुपर्यो । एउटा सम्भावना के हुन सक्ता है भने, १ करोड भारतीयमा नेपालका सबै नेताहरूलाई पारेको हुन सक्छ । हाम्रो देशका अधिकांश लिल्लीहरूलाई दिल्ली नगई खाएको पच्दैन । उनीहरूमध्ये अधिकांश, सजिलो पर्दा राष्ट्रवादको कुरा गर्छन्, अप्ठेरो पर्दा भारतको अगाडि लम्पसार पर्छन् । नेता नै आफ्ना अगाडि लम्पसार परेपछि राजनाथलाई नेपालका जनता पनि आफ्नै नागरिकजस्तो लागेर नेपालमा १ करोड भारतीय देखेको हुनुपर्छ ।

दोस्रो सम्भावना छ, महाराजगञ्ज । राजनाथले उपरोक्त भनाइ उत्तर प्रदेशको महाराजगन्ज भन्ने ठाउँबाट दिएका हुन् । उनलाई थाहा नहुने कुरा भएन कि नेपालमा पनि महाराजगन्ज भन्ने स्थान छ । युपीको महाराजगन्जमा बोलिरहेका बेला उनलाई भ्रम रहेको हुन सक्छ कि म नेपालको महराजगन्जमा बोलिरहेको छु । त्यहाँ उपस्थित जनतालाई पनि उनले काठमाडाैं महाराजगन्जवासी ठानेर १ करोडको हिसाब निकालेको हुन सक्छ ।

तेस्रो सम्भावना, माथि भनिएझैं उनी स्वयंको नामलाई लिन सकिन्छ, राजनाथ सिंह । राजाको पनि नाथ अर्थात् मालिक । आफूलाई महाराजगन्जको शीतलनिवासी राजाको पनि मालिक आफैं रहेको भ्रम उनलाई परेको हुन सक्छ । राजाको पनि मालिक भएपछि नेपालका राजा र जनताको सुरक्षाको चासो आफ्नो रहेको ठम्याउनु उनको गल्ती होइन । यदि यो अर्थमा उनले त्यसो भनेका हुन् भने एउटा कुराचाहिं अचम्मै मान्नुपर्छ, नेपालबाट राजतन्त्र बिदा भएको कुरा राजाका नाथलाई कसरी थाहा नभएको होला ?

साप्ताहिक, भाद्र १८, २०७२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x