शेखचिल्लीको नाकाबन्दी
मट्टितेल र ग्यासजस्ता पेट्रोलियम पदार्थ रोक्का गरेर कामै नलाग्ने भइसकेका खाद्य सामग्रीका ट्रक छाडिने क्रियालाई हास्यास्पद शैलीको परम शेखचिल्लीपन नभनेर अरू के भनेर सम्बोधन गर्ने त कविजी ?
एक जन्मजात मधेसवासी भएको नाताले आफ्नो धुलोमाटोको प्रत्येक सानो—ठूलो हलचलमा मेरो स्वाभाविक चासो हुने नै भयो । त्यसकारण अहिलेको तराई–मधेस केन्द्रित जनआन्दोलका समस्त जायज मागप्रति यो ‘पहडिया’को गहिरो समर्थन थियो ।
यहाँ म जानी–जानिकन भूतकाल जनाउने ‘थियो’ को प्रयोग किन गरिरहेको छु भने यसलाई सफलतापूर्वक नेतृत्व प्रदान गर्नुपर्नेमा टुटपुँजिया दिमागका नेताहरूले आफूहरू सहर्ष दसगजामा उभिएर आन्दोलनलाई मुढेबलले घचेडी–घचेडी सीमापारि पुर्याइदिएका छन् ।
अब तराई–मधेसको आन्दोलन यी दसगजिया राजेन्द्र महतोहरूका नभएर भारतीय सीमावर्ती खुंखार एवं खग्गड खाकी वर्दीधारी पुलिस तथा भन्सारका बेइमान कर्मचारीहरूका हुनगएको छ । यसको परिणामस्वरूप भिक्टोरियाकालीन साम्राज्यवादी बेलायतको लामो गुलामीले दीक्षित इन्डियन ब्युरोक्रेसीद्वारा नेपालमा जबर्जस्ती नाकाबन्दी लादिएको छ ।
यसो ता ‘बिग ब्रदर’को सर्वथा विकारग्रस्त मनोविज्ञानले सुसज्जित हाम्रो छिमेकी मुलुक हिन्दुस्तानको आधिकारिक भनाइ के छ भने हामीले नेपालमा कदापि नाकाबन्दी गरेका छैनौं । यसको ताजा उदाहरणका रूपमा नेपालका निम्ति वर्तमान भारतीय राजदूत रणजित राय (कतै—कतै रणजित रे पनि भनिएको) को असफल मिडियाबाजीलाई लिन सकिन्छ ।
भारतीय राजदूत महोदय नेपाली पत्रकारसमक्ष एकातिरको निधार प्रशस्त खुम्च्याएर अभिव्यक्त भएका छन्– हामी नेपालमा विलकुलै नाकाबन्दीको पक्षमा छैनौं । त्यसो भए, नेपाल–भारत सिमानामा बलात् रोकिएका हजारौं–हजार संख्याका मालबाहक ट्रकहरूका लम्बेतान सत्यचाहिँ के हो नि महामहिमज्यू ? वस्तुत यो हिन्दुस्तानी राजदूत महामहिम रणजित राय अथवा ‘रे’को नभएर ‘र’को कालो, नीलो, पहेँलो आदि कर्तुत हो भन्नेहरू पनि राजनीतिक–अराजनीतिक वृत्तमा नभएका होइनन् । तर अदृश्य उपस्थिति रहेको ‘र’को विषयमा खोलेर के भन्न सक्छु र म ?
‘तिमीलाई शेखचिल्लीबारे कुनै जानकारी छ, कविजी ?’ यही सिलसिलामा मेरो अभिन्न यार हरेरामले मसँग प्रश्न गर्यो ।
‘शेखचिल्ली हिन्दुस्तानी लोकमानस अर्थात् लोकाख्यानको एक नामुद पटमूर्ख टाइप नायक होइन र हरेराम ?’ मैले जवाफमा उसलाई भनेँ, ‘सदैव हवाइ किल्लाको निर्माण गरेर बेवकुफीपूर्ण हरकत गर्नु शेखचिल्लीको एकमात्र विशेषता हो ।’
‘हो, अहिले भारत आफ्नो छिमेकी मुलुक नेपालसँगको यावत व्यवहारमा सोही ख्यातनाम जोकर शेखचिल्लीको खुस्केट अनुकरण गरिरहेको छ भन्नेमा कुनै सन्देह छैन ।’
‘हेर कविजी, सबैका आँखा सामुन्नेको नांगो यथार्थ याने भारतद्वारा खुलेआम नाकाबन्दी गरिएको छ, किन्तु भारतीय सरकारको तिर्यक मुखारविन्दबाट भने कुनै पनि किसिमको नाकाबन्दी–साकाबन्दीको अस्तित्व नरहेको निर्लज्जतम घोषणा भइरहेको छ ।’ मलाई अवाक् मुद्रामा देखेर मेरो यार हरेरामले आफ्नो कुरालाई अघि बढायो, ‘यस प्रकारको विसंगत भनाइलाई जोरजबर्जस्तीका साथ पुष्टि गर्न कहिलेकाहीं मुडमा आएका सिमानाका भारतीय जुँगामुठे सरकारी सिपाहीहरू एकाध मालबाहक ट्रकलाई नेपाल प्रवेश गर्न छाडिदिने पनि गर्छन् । जस्तो हिजोको मितिमा बेलहियाको नाकाबाट केही पुरै कुहिएर डुङडुङ गन्हाइरहेका माछा, सागसब्जी र फलफूलले भरिएको ट्रक उदारतापूर्वक छाडिएको समाचार आएको छ ।’
‘यसरी नाकाबन्दीको समयमा पनि ट्रकहरू छाडिनु शेखचिल्लीपन कसरी भयो त यार हरेराम ?’ मैले आश्चर्य मिश्रित अबोधताको भावमा सोधनी गरेंँ ।
‘अब खाना–साना पकाउनलाई आवश्यक मट्टितेलरग्यासजस्ता पेट्रोलियम पदार्थको सम्पूर्णत रोक्का गरेर दुई–चार कामै नलाग्ने भइसकेका खाद्य सामग्रीका ट्रक छाडिने क्रियालाई एकदमै हास्यास्पद शैलीको परम शेखचिल्लीपन नभनेर अरू केचाहिँ भनेर सम्बोधन गर्ने त कविजी ?’ मेरो लंगौटिया यार हरेराम उच्चस्वरमा बेसरी पड्किएकोले हाम्रो शेखचिल्ली विषयक संवादको विधिवत् अन्त्य भयो ।
जे होस्, शेखचिल्ली हिन्दुस्तानको एक अजर–अमर पात्र भएकोले शेखचिल्लीत्व कहिल्यै मृत्युलाई प्राप्त हुँदैन । तसर्थ यसले बेलाबखत आफ्नो अशेष अस्तित्वको सफल प्रदर्शन गरिरहन्छ । जस्तो अहिलेको नेपालप्रतिको भारतीय कुव्यवहार अर्थात् अघोषित नाकाबन्दीको सुस्पष्ट शेखचिल्लीपनलाई लिनोस् । निस्सन्देह शेखचिल्लीको विदुषक आत्मा अहिले विशाल हिन्दुस्तानी शरीरमा आफ्नो जग हँसाउने ‘विषखोपडा’ गुणवत्ताका साथ सवार छ । हेरुँ, यो मनोरञ्जक विक्षिप्तता कहिलेसम्म रहन्छ । मेरो मतलब, हिन्दुस्तानी भाषामा– देखा जाएगा ।
कान्तिपुर, आश्विन १६, २०७२