सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

छेपाराख्यान

मन्त्रीक्वार्टरमा पनि नयाँ मन्त्रीको प्रवेश भएको छ । नितान्त तरुण मन्त्री । परिणामतः हालसम्म अविवाहित नै । हो, म त्यसैतर्फ सङ्केत गरिरहेको छु पीतवर्ण दाइ । मैले अघि वणर्न गरेको सकल गुणहरूले यो परिपूर्ण छ । यति सुयोग्य जामाता छेपारोपरिवारले पाउन कठिन छ ।

Nepal Telecom ad

विमल निभा :

यो पीतवर्ण नाउँ गरेको एउटा वयस्क छेपारोको आख्यान हो, जो मन्त्रीक्वार्टरनिकटको उद्यानमा सपरिवार बसोबास गर्थ्यो । वातावरणमा वसन्तको पदार्पण भइसकेको थियो । परन्तु हाम्रो कथाको नायक पीतवर्ण प्रफुल्लित मुद्रामा थिएन । रङ्गीचङ्गी फूलहरूमाझ उदासीको प्रतिमूर्ति भई बसेको थियो । कुन्नि, के चिन्ता थियो उसलाई ? एक बिहान धर्मपत्नी कनकचम्पाले ऊसित सोधी, “हे प्राणनाथ, हजुरलाई के भयो ?”

“केही भएको छैन ।” पीतवर्णले विरक्त भावमा भन्यो । कनकचम्पाको चित्त शमन भएन । पतिदेवको संक्षिप्त उत्तरले ऊभित्रको उत्सुकता झन् बढ्यो । उसले लगभग याचना गरी, “होइन प्राणनाथ, केही दिनदेखि हजुर सुस्त देखिनुहुन्छ । केही अवश्य भएको हुनुपर्छ । अर्धाङ्गिनीसँग कुरा गुप्त राख्नु उचित होइन । कृपया भन्नोस्, के भयो हजुरलाई ?”

“हेर सुभगे, ज्येष्ठपुत्री हरितिमाश्री तरुणी भइसकेकी छे । पन्ध समाप्त भएर सोह्र लागिसकी । के विवाहको बन्धनमा बाँधिने वय भएन ? यही चिन्ताले मेरो दिनरात कष्टपूर्ण भइरहेको छ । पिताको गरिमामय पदमा स्थापित भइसकेपछि आफ्नो कर्तव्यको निर्वाह पनि त गर्नुपर्‍यो । यसबाट पलायन भएर कहाँ जाने मैले ?” पीतवर्णले आर्तनाद गर्‍यो ।

“त्यो त हो प्राणनाथ, किन्तु यसमा यति चिन्ता किन गर्नुपर्‍यो ? एउटा सुशील केटो हेरेर विवाह गरिदिए भइहाल्यो नि । पुत्री हरितिमाश्री पनि सुशीला नै छे । हजुरले अनाहकमा चिन्ता गरेर स्वास्थ्य किन बिगार्नुहुन्छ ?” कनकचम्पाले सस्मित भनी ।

“तिमी स्थितिलाई यति सहज ढङ्गले नहेर सुभगे । यो ख्यालठट्टाको कुरो कदापि होइन । विषयको गम्भीरतालाई आत्मसात् गर्ने प्रयत्न गर ।” पीतवर्णले चिढिएर भन्यो, “हामी मन्त्रीक्वार्टरको उद्यानमा बस्छौं । यहाँ कतै हाम्री पुत्रीलाई सुहाउँदो छेपारो केटो प्राप्त भएन । मैले पर्याप्त खोजखबर गरिसकें । जति छन्, सबै गार्हस्थ्य जीवनयापन गरिरहेका छेपाराहरू मात्र छन् । अतः तिमी नै मलाई मार्ग देखाऊ, पुत्री हरितिमाश्रीको विवाह कसरी सम्पन्न गर्ने ? यही चिन्ताको भारले मेरो हृदयलाई थिचिरहेछ । के गर्ने ?” “लमी नीलनाथसँग सम्पर्क गर्नुभएन ?” कनकचम्पाले एक्कासि स्मरण गरेर भनी ।

“मैले नीलनाथसँग पनि भेटेर संवाद गरिसकेको छु । उसले मअघि निराशा नै प्रकट गर्‍यो । अहिले यहाँको छेपारोसमुदायमा त्यस्तो कुनै योग्य केटो छैन रे । अन्तै खोज्नुपर्छ रे ।” पीतवणर्ले सुस्तरी भन्यो, “मन्त्रीक्वार्टर मात्र होइन, अफिसक्वार्टर, पुलिसक्वार्टर, मिल्ट्रीक्वार्टर सबैतिरका उद्यानमा विचरण गरिसकेँ । कुनै उद्यानमा पनि पुत्री हरितिमाश्रीलाई हुने छेपारो केटो उपलब्ध हुन सकेन । म त पूणर्तया निराश भइसकेको छु । के तिम्रो नजरमा कुनै छ ?”

अब कनकचम्पा पनि चिन्तित देखिन थाली । उसको गुलाफी मोहडा मलिन भयो । उसले पतिदेव रहेको दिशातर्फ हेरी । पीतवर्ण समाधिस्थ मुद्रामा चिन्तनमनन गरिरहेको थियो । दुवै मौन थिए । एकाएक दृश्यमा लमी नीलनाथको अवतरण भयो । उसले अभिवादन गर्‍यो । र, ससम्मान भन्यो, “आज दाइभाउजूको अनुहार अँध्यारो देख्छु म । के भयो एकाबिहानै ?”

“के भएको भन्ने ? कारण त्यही हो नीलनाथ, जसबाट तिमी अनभिज्ञ छैनौ । तिमीबाट के लुकेको छ ?” पीतवर्णले मुख खोल्यो, “पुत्री हरितिमाश्रीका लागि अहिलेसम्म कुनै वर पाउन सकिएको छैन । खोज्दाखोज्दै थकित भइसकेँ म । अन्य कुरो के हुन्छ र ?”

छेपारोदम्पतीतिर हेरेर लमी नीलनाथ अनायास मुस्कुरायो । यो पृथक् प्रकारको मुस्कान थियो । निश्चित रूपले अर्थपूणर् । केहीबेरपछि मुस्कानलाई स्थगित । गरेर नीलनाथले भन्यो, “यो सेवक पनि त्यही सिलसिलामा आएको पीतवर्ण दाइ । मैले हरितिमाश्री मैयाँका लागि एउटा लायक वर देखेको छु । विवाह गर्न सके दुवैको जोडी अत्युत्तम हुनेछ । यति उपयुक्त केटो अन्यत्र पाउनु असम्भव छ । धेरै प्रयत्नपश्चात् मैले बल्ल भेट्टाउन सकेको हुँ ।” “हाम्रै जातिको हो ?” कनकचम्पाले प्रश्न गरी ।

“छेपारोजातिको त होइन, परन्तु गुण तथा योग्यतामा हामीसँग ठ्याम्मै मिल्ने । दुरुस्तै एकसमान भने पनि हुन्छ । म त चकित छु । जति परिश्रम गरे पनि कुनै अन्तर फेला पार्न सकिँदैन । बुझ्नुभो पीतवर्ण दाइ ?” लमी नीलनाथले उत्साहित भएर भन्यो, “फेरि यो आधुनिक युग हो । कहाँ पुरातनपन्थीहरूले झैं जातपात हेरिरहने ? पात्रो मिलाइरहने ? गोत्रसोत्र भिडाइरहने ?”

“को केटो हो ?” यस पटक पीतवर्णले सोध्यो । “सबैलाई ज्ञात नै छ, छेपाराहरूको मूल विशेषता हो- क्षणप्रतिक्षण र परिवर्तन गर्ने । एकै रङ्गमा स्थिर रहने स्वभावको हामी पक्षपाती होइनौं । यो केटो गैरछेपारो भए तापनि रङ्ग बदल्ने क्रियामा निष्णात छ । अझ हामीभन्दा बढ्ता भने पनि कुनै अत्युक्ति हुने छैन । निस्सन्देह यो छेपारोवर्गमा पर्दैन । किन्तु घसेर अथवा चिप्लेर अघिअघि बढ्नमा यसले कुनै पनि जीवलाई पराजित गर्ने क्षमता राख्छ । यसले जतिको मात्रामा विषधारण त सर्पहरूले पनि गर्न सक्दैनन् । कुनै पला पनि हठात् काँचुली फेर्न सक्नु यसको अतिरिक्त विशेषता हो । अतएव यो सरीसृपजगतकै एक सदस्य प्रतीत हुन्छ । हामी छेपाराहरू पनि यही वर्गका हौं । तसर्थ उक्त केटासँग मैयाँ हरितिमाश्रीले विवाह गरे केही अनर्थ हुनेछैन । शुभ नै हुनेछ ।” नीलनाथले गुरुगम्भीर वाणीमा सविस्तार भन्यो ।

“तिमीले बखान गरेअनुसार पुत्री हरितिमाश्रीका लागि वर उचितजस्तो छ ।” पीतवर्णले उत्तेजित भएर भन्यो, “त्यसो भए चाँडै भन नीलनाथ, को हो त्यो सुपात्र ?”

“केटो खोज्न धेरै पर जानु परेन । यहीँ पाइयो ।” छेपाराहरूका लमी नीलनाथ उवाच, “भर्खरै हाम्रो राष्ट्रको मन्त्रिमण्डलको पुनर्गठन सुसम्पन्न भएको छ । एकसेएक आकारप्रकारका मन्त्रीपदधारीहरू सरकारमा सम्मिलित भएका छन् । तपाईंको वासस्थानसँग जोडिएको मन्त्रीक्वार्टरमा पनि नयाँ मन्त्रीको प्रवेश भएको छ । नितान्त तरुण मन्त्री । परिणामतः हालसम्म अविवाहित नै । हो, म त्यसैतर्फ सङ्केत गरिरहेको छु पीतवर्ण दाइ । मैले अघि वणर्न गरेको सकल गुणहरूले यो परिपूर्ण छ । यति सुयोग्य जामाता छेपारोपरिवारले पाउन कठिन छ । मैयाँ हरितिमाश्रीको पनि कल्याण नै हुनेछ । यही सन्देश दाजुभाउजूकहाँ पुर्‍याउन म दगुरेर आएको हुँ । यो अवसर व्यर्थ जान दिन हुन्न । तपाईंहरूले शीघ्रातिशीघ्र कुरा चलाए हुन्छ । मेरो विचारमा यो वर्तमान समयको प्रतिनिधित्व गर्ने आदर्श जोडी प्रमाणित हुनेछ ।”

लमी नीलनाथको उत्कृष्ट प्रस्ताव सुनेर हाम्रो कथानायक पीतवर्णलाई सहसा लाग्यो, वसन्तको आगमन भइसकेको छ । किनभने उसको एक मात्र चिन्ता (पुत्री हरितिमाश्रीका लागि योग्य वर) को समाधान भइसकेको थियो । तसर्थ आनन्दातिरेकमा उसले आफ्नो विचित्रको पुच्छर हल्लायो । र, चारैतिरका रङ्गीन फूलहरूमा दृष्टिपात गरेर गतिसाथ शरीरको रङ्ग परिवर्तन गर्न थाल्यो ।

०००
२८ भदौ, २०५५

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
ज्वाइँबाबा

ज्वाइँबाबा

विमल निभा
जुत्ता

जुत्ता

विमल निभा
जुत्ता

जुत्ता

विमल निभा
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी
दिग्भ्रमित यात्रा

दिग्भ्रमित यात्रा

श्रीप्रसाद पाेखरेल
पोइटिङ्ग्री

पोइटिङ्ग्री

गाेपेन्द्रप्रसाद रिजाल
कान्छाबाका तीन दारी

कान्छाबाका तीन दारी

मुक्तिनाथ शर्मा