भीसीको योग्य उम्मेदवार
भीसी पदका लागि दौडधूप गरिरहेका तमाम मूर्खहरूमध्ये सर्वश्रेष्ठ मूर्ख मै हुँ । मेरो टक्करको मूर्ख अरू कोही छैन । म आफैँ आफैँलाई महामूर्ख घोषित गर्छु ।
विमल निभा :
भीसीको पद रिक्त हुन गइरहेको छ । शीघ्र नै । यो एक बौद्धिक पद हो । यसका लागि विद्वानको आवश्यकता पर्छ । त्यसैले थुप्रै मूर्खहरू दौडधूप गरिहेका छन् । किनभने मूर्खहरू नै यो देशको सबभन्दा ठूला विद्वान् हुन् ।
यो पदका लागि म पनि उपलब्ध छु । किनभने म आफूलाई कम मूर्ख ठान्दिनँ । म एक योग्य मूर्ख हुँ । मलाई आफ्नो मूर्खतामा पूर्ण विश्वास छ । यही मूर्खताको विश्वासले गर्दा नै म आफूलाई भीसी पदका लागि प्रस्तुत गरिरहेछु। त्रिवि भीसी छनोटसमितिको जानकारीका लागि आफ्नो संक्षिप्त परिचय तल दिइरहेछु-
नाम : डा. हिरण्यकश्यपु शर्मा, शान्तिगोरातो, चाबहिल ।
शिक्षा : साहित्यमा विद्यावारिधि ।
विषय : चोरीको सौन्दर्यशास्त्र (एस. एल्. सी. देखि डक्टरेटसम्मका प्रमाणपत्रहरू मैले चोरेर नै प्राप्त गरेको हुँ) । चिट चोर्नु एक विद्या हो, अझ महाविद्या हो । यसको विस्तृत व्याख्या मैले आफ्नो थेसिसमा गरेको छु । ‘चोरीको सौन्दर्यशास्त्र’ को एक प्रति फोटोकपी निवेदनसँगै पठाइरहेछु ।
चरित्र : विद्यार्थीकालमा म पहिले अखिलमा थिएँ, त्यसपछि नेविसङ्घमा गएँ, फेरि अखिलमा आएँ, फेरि नेविसङ्घमा गएँ । यस प्रकार आफ्नो अध्ययन समयको उपयोग गरेर मैले सक्रिय अनुभव सङ्कलन गरेको छु । फलस्वरूप आज पनि कति अखिलका विद्यार्थीहरू मलाई प्रगतिशील ठान्छन् र नेविसङ्घका विद्यार्थीहरू प्रजातन्त्रवादी । तर यथार्थमा म के थिएँ, त्यो गोप्यता आवश्यक भएकाले आज म खोलिरहेछु- असलमा म एक गुप्तचर थिएँ र विद्यार्थी र प्राध्यापकहरूबीच सफल कामकारबाही गर्दै । यसको साक्षी प्रहरीको गुप्त शाखा छ । त्यसैको मुख्य हाकिमद्वारा ‘एटेस्टेड’ गराएर म आफ्नो चरित्रको यो प्रशंसापत्र पेश गरिरहेछु । मेरो चरित्र जुन छ, त्यो निकै उज्ज्वल प्रकारको छ, त्यसैले त्यसको प्रकाशमा मबारे विचार गरियोस् ।
सेवा : ३५ सालमा तत्कालीन भीसीको सोर्सफोर्स लगाएर म असिस्टेन्ट लेक्चररमा भर्ना भएको थिएँ, ३६ सालमा लेक्चरर भएँ र दुई-तीन वर्षपछि रिडर । यहीबीच म महत्त्वपूणर् स्थानहरूका क्याम्पसचिफ पनि भइसकेको छु । चाकरी, चुक्ली र चापलुसीजस्ता अतिरिक्त गुणहरूका सहयोगले आज म डीन पदमा स्थापित छु । मेरो माथिमाथि उक्लिने जुन निरन्तर गति छ, त्यसले पनि के सङ्केत गर्छ भने म भीसी हुने दिशातर्फ दुतगतिले अग्रसर छु ।
विदेशभ्रमण : ‘बौद्धिक पतनको आधुनिक प्रविधि’ शीर्षक गोष्ठीमा भाग लिन बेलायत । जापानमा ‘शैक्षिक क्षेत्र र भ्रष्टाचारको प्रेमसम्बन्ध’ विषयमा प्रवचन दिन । ‘नयाँ शिक्षायोजनाको विक्षिप्त कार्यक्रम’ बारे हुने तालिममा भाग लिन संयुक्त राज्य अमेरिका । क्यानाडामा ‘विद्यार्थी र प्राध्यापकबीच दूरी बढाउने’ सेमिनारमा । यसका साथसाथै यस्ता अनेकौँ कार्यक्रमको सिलसिलामा भारत, पाकिस्तान, न्युजिलैन्ड, अस्ट्रेलिया, इजरायल, नर्वे, अर्जेन्टिना, हलैन्ड आदि मुलुकहरूको भ्रमण ।
पुस्तकहरू : मेरा प्रकाशित, प्रकाशोन्मुख र अप्रकाशित मोटामोटा ग्रन्थहरूको नामावली तल उल्लेख छ-
(१) हिमाल र गुराँसको रासायनिक अध्ययन, (२) वर्गसमन्वयको समाजविज्ञान : एक चिन्तन, (३) भोजपुरी भाषाको ध्वनिप्रक्रिया र अस्तित्ववादः तुलनात्मक विचार, (४) लेखनाथको पिँजराको सुगाको सूक्ष्म मनोविज्ञान, (५) पशुपतिनाथ र गुह्येश्वरीको फ्रायडवादी विश्लेषण ।
मेरा असङ्ख्य अनुसन्धानात्मक फुटकर रचनाहरू ‘गोरखापत्र’, ‘मधुपर्क’, ‘रत्नश्री’, ‘समीक्षा’, ‘विमर्श’ आदिआदि पत्रपत्रिकाहरूमा लिपिबद्ध भइसकेका छन् ।
पुरस्कार र सम्मान : मुस्याचु पुरस्कार, वेदनिधि पुरस्कार, मोती पुरस्कार, ज्योति पुरस्कारजस्ता पुरस्कारहरू हासिल भइसकेका छन् र प्रतिभा पुरस्कार, हरिसिद्धि इँटाटायल पुरस्कार, व्यथित पुरस्कार, बाँसबारी पुरस्कार, परिवारनियोजन पुरस्कार आदि पाउने आश्वासन पाएको छु । विदेशी पुरस्कारमा सिक्किमको ‘लेन्डुप दोर्जे प्रथम पुरस्कार’ पोहोर नै लिइसकेको छु । मैले शिक्षा र साहित्यको क्षेत्रमा राम्रो ख्याति आर्जन गरेका कारणले मेरो सहरको चेम्बर अफ कमर्स र नगरपञ्चायत मिलेर संयुक्त रूपमा मलाई सम्मानित पनि गरिसकेको छ । त्यस अवसरमा चेम्बर अध्यक्ष लायन श्री दीनानाथ अग्रवालले मलाई तक्मा र नगदसहित सम्मानपत्र दिइरहेको बिटु साइजको रङ्गीन फोटो पनि निवेदनसँग नै पठाइरहेछु । पुनश्चः फोटोको दायाँतिर विराजमान व्यक्तित्व हुन्- हाम्रो नगरका प्रधानपञ्च श्री रमेशमान प्रधान ।
अतिरिक्त क्रियाकलाप : पञ्चायती साहित्यिक पत्रकार सङ्घको महासचिव । प्रहरी र नागरिक मधुर मिलन केन्द्रको कार्यकारी अध्यक्ष । द रेयुकाई, नेपालको पर्यवेक्षक । अखिल नेपाल गाउँखाने कथा सङ्गठनको सल्लाहकार । ‘टिप्पणी’ साप्ताहिकको संवाददाता र स्तम्भकार । क्षेत्रीय कबड्डी समितिको सचिव । भिडिओ फिल्म सेन्सरबोर्डको मानार्थ सदस्यता आदिइत्यादि ।
भीसीको पद सामान्य पद होइन, गम्भीर जिम्मेदारीको स्थान हो । यही कुरालाई विचार गरेर मैले एक सशक्त फर्मुला तयार गरेको छु । यो फर्मुला पाँच चरणहरूमा विभाजित छ । यसलाई पाँचसूत्रीय कार्यक्रम भने पनि हुन्छ, जुन यस प्रकार छ-
(१) विद्यार्थी र प्राध्यापकहरूमा मण्डलेकरण कसरी गर्ने,
(२) आन्दोलनलाई कुन तरिकाले दबाउने,
(३) शिक्षालाई के गरी पछिल्तिर फर्काउने,
(४) देशबाट बौद्धिकता कुन प्रकारले उन्मूलन गर्ने र
(५) चेतनालाई कसरी समूल नष्ट पार्ने ।
पाँचसूत्रीय कार्यक्रमको विस्तृत साहित्यको एक पुस्तिका मैले प्रकाशित गरेको छु, जो यसै साथ संलग्न छ ।
उपर्युक्त वणर्नले के स्पष्ट हुन्छ भने भीसी पदका लागि दौडधूप गरिरहेका तमाम मूर्खहरूमध्ये सर्वश्रेष्ठ मूर्ख मै हुँ । मेरो टक्करको मूर्ख अरू कोही छैन । म आफैँ आफैँलाई महामूर्ख घोषित गर्छु । मलाई मूर्खतामा कसैले पराजित गर्न सक्दैन । हुन त यसमा अन्य मूर्खहरूले आपत्ति जनाउलान् । तर त्यो मूर्ख पनि के मूर्ख, जो आफ्नो मूर्खताबाट पछि हटोस् । म आफ्नो मूर्खतामा अडिग छु र त्रिवि भीसी छनोटसमितिसँग के जोडदार अनुरोध गर्छु भने मेरो सम्पूर्ण योग्यतालाई ध्यानमा राखेर मलाई तुरुन्त भीसी बनाइयोस् । जो आदेश ।
०००
२ कात्तिक, २०४६
छेउको बधशाला (२०६१)
Subscribe
Login
0 Comments
Oldest