सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

ज्वाइँबाबा

यो गाउँलाई उहाँले आफ्नो कर्मस्थल बनाउनुभएको छ । धन्य हाम्रो भाग्य ! र ज्वाइँबाबा भनेर प्रसिद्ध हुनुभएको छ । हाम्रो गाउँ मात्र होइन, वरिपरिका दस गाउँसम्म ज्वाइँबाबाको प्रसिद्धि फैलिएको छ । ज्वाइँबाबा एक महान् पुरुष हुनुहुन्छ ।

Nepal Telecom ad

विमल निभा :

भजनियाँमठको गेटमा हरेराम उभिएको थियो । परम सन्तुष्ट मुद्रामा । निधारमा खरानीको तिलक र दाहिने हातमा फूलपातको सामान्यभन्दा ठूलो गुच्छा । मेरो मित्र हरेराम त यतिबिघ्न धार्मिक कहिले थिएन । यो कस्तो आश्चर्य ? मेरो उत्सुकता हलक्क बढ्यो । मैले ऊछेउ पुगेर भनेँ, “हलो हरेराम !”

“बम्बम् !” मलाई देखेर हरेरामले हुङ्कार गर्‍यो ।
“यो के हो हरेराम ?”
“बाबाको दर्शन गरेर आउँदै छु ।” उसको मुखमुद्रा गम्भीर थियो ।
“को बाबा ?”
“ज्वाइँबाबा ।”
“ज्वाइँबाबा !” मैले चकित भएर भनेँ ।
“हो, ज्वाइँबाबा ?” उसको स्वर भक्तिभावले परिपूर्ण थियो ।
“को हो यो ज्वाइँबाबा ?”

“यति पनि थाहा छैन तिमीलाई, जब कि आज आधाजसो ग्रामवासी बाबाको पूरै भक्त भइसकेका छन् । उहाँका शिष्यसङ्ख्या दिनप्रतिदिन बढ्दो छ । त्यसमध्ये एउटा म पनि हुँ । तर, तिमी गाउँमा नबस्नेलाई के थाहा ?” हरेरामले किञ्चित् रुष्ट भएर भन्यो, “त्यसैले तिमी एउटा पटमूर्खले ऊ प्रश्न गरिरहेछौ, को हुन् ज्वाइँबाबा ? हरे ! हरे !”

“हरेराम ! हरेराम !” मैले थपेँ ।

“मसँग ठट्टा नगर तिमी । यति ठूलो पापी भइसकेछौ तिमी भनेर मलाई थाहा थिएन । तिमीलाई बालसखा भन्न मलाई सङ्कोच भइरहेछ । कसरी भन्ने ।” “नरिसाऊ हरेराम !”

“किन नरिसाउने ?” उसको आँखा ठूलो भयो ।

“ज्वाइँबाबाकी जय ।” मैले आवाजलाई सक्दो नम्र पारेर भनेँ, “तर यार हरेराम, यो ज्वाइँबाबा नाउँ केही विचित्र प्रकारको छैन ?” “कस्तो विचित्र !” ऊ फेरि जङ्गियो ।

“ज्वाइँबाबाकी जय !” मैले दोहोर्‍याएर भनेँ ।
“ज्वाइँबाबाकी जय !” हरेराम तृप्त भयो ।
“यार, यो ज्वाइँबाबा नाउँ कसरी रहन गयो ?” मैले बिस्तारै सोधेँ । उसले मतिर हेर्‍यो । दुवै आँखा बन्द गर्‍यो । केहीबेर विचार गर्‍यो । आँचा खोल्यो । तत्पश्चात् गम्भीर भएर भन्यो, “हेर यार, यसको लामो कथा छ । सुन्ने इच्छा छ भने भन्छु । फुर्सद छ ?” मैले स्वीकृतिमा कटू टाउको हल्लाएको देखेर उसले भन्यो, “ज्वाइँबाबाको घर यहाँ होइन, सीमापारि हो । उहाँ धेरै पहिले हामै गाउँमा बस्नुहुन्थ्यो । तर, कसैले उहाँलाई चिन्न सकेन । हामीहरू घोर अज्ञानी हौँ । धिक्कार छ हामीलाई । त्यस बखत ज्वाइँबाबाको नाउँ अर्कै थियो ।” एकाएक हरेराम जोडले करायो, “बम्बम् !”

“बम्बम् !” छेउबाट एक हूल भक्तगण मठभित्र प्रवेश गर्‍यो । मैले उत्सुकताले भरिएको स्वरमा भनेँ, “अनि हरेराम ?”

हरेरामले अघिको प्रसङ्गलाई जोडेर भन्यो, “तिमीलाई छेदन बनियाँको सम्झना छ ? लोहारपट्टीको छेदन । पोटेबाबुको छिमेकी । हो, त्यसैको घरमा ज्वाइँबाबा डेरा गरेर बस्नुहुन्थ्यो । त्यस बखत उहाँको नाउँ थियो- कुमार कार्तिकेय स्वामी । उहाँ त्यसताका गाँजासाँजा यताउता गर्ने काम गर्नुहुन्थ्यो । हरेरामले एकछिन रोकिएर भन्यो, “तिमीलाई पनि थाहा होला, छेदन बनियाँकी एक छोरी दिई । सुन्दरतामा नामुद । चम्पु । किन थाहा नहुने ? तिमी पनि त लाइन मार्न लोहारपट्टी गइरहन्थ्यौ । तिमी के, गाउँका सकल युवाजन चम्पुको हावभावमा मुग्ध थिए ।”

“हो, हो चम्पु !” मैले पुरानो कुरा सम्झेर भनेँ, “तर यार हरेराम, म लाइन मार्नेमा थिइनँ । शीघ्र भूल सुधार गर ।”

हरेराम हाँस्यो । निकैबेर हाँसि नै रह्यो । अनि भन्यो, “तर एक दिन गाउँका सारा युवाहरूलाई मात गरेर छेदन बनियाँकी सुन्दरी छोरी चम्पुलाई कुमार कार्तिकेय स्वामीले भगाएर लग्नुभयो । पहिले त छेदनले निकै रोइकराइ गयो । पुलिस केस पनि भयो । तर, चम्पुसहित ज्वाइँबाबा सीमापारि । त्यसैले उहाँलाई ज्वाइँ स्वीकार गर्न छेदन बनियाँलाई करै लाग्यो । अरु कुनै उपाय थिएन । यही हो ज्वाइँबाबाको संक्षिप्त कथा ।” हरेरामले प्रतिक्रिया बुझ्न मेरो अनुहारमा हेर्‍यो, “कस्तो लाग्यो त कथा ?”

“बडो राम्रो साथै ज्ञानवर्द्धक पनि, आनन्द प्राप्त भयो”, मैले प्रसन्नमुद्रामा भनेँ, “तर यार हरेराम, गाउँकै चेलीबेटी भगाउने ज्वाइँबाबा हाम्रो गाउँमा यति धेरै प्रख्यात कसरी भए ? यो बुझ्ने क्षमता ममा छैन । तिमी नै केही भन । र, तिमीजस्तो जब्बर भक्तको प्राप्ति उहाँलाई कसरी भयो ? यसको पनि त कुनै भन्न र सुन्नलायक उपकथा होला । कसो ?”

“अवश्य, अवश्य ।” हरेरामले एउटा घाघडान कथावाचकको भङ्गिमा धारण गरेर भन्यो, “यहाँबाट चम्पुलाई भगाएर लगिसकेपछि उहाँ सीमापारि नै आफ्नो कार्यमा व्यस्त रहनुभयो । अर्थात् गाँजाको काम । परिणामस्वरूप एक दिन उहाँ पुलिसको चङ्गुलमा फस्नुभयो । उहाँलाई जेल भयो । यसले उहाँलाई कुनै घाटा भएन । जेलमा एकसेएक सिद्ध बाबासँग सङ्गत भएर हाम्रा ज्वाइँबाबा पनि सिद्ध हुनुभयो । अहिले ज्वाइँबाबा तन्त्रमन्त्रमा पोख्त हुनुहुन्छ । ज्योतिषको त भीषण जानकार । भूत, वर्तमान र भविष्यको गजबको ज्ञाता । निःसन्देह एक चमत्कारी बाबा । जेलबाट निवृत्त भइसकेपछि उहाँ ससुराली फर्कनुभयो । हाम्रो गाउँ । यो गाउँलाई उहाँले आफ्नो कर्मस्थल बनाउनुभएको छ । धन्य हाम्रो भाग्य ! र ज्वाइँबाबा भनेर प्रसिद्ध हुनुभएको छ । हाम्रो गाउँ मात्र होइन, वरिपरिका दस गाउँसम्म ज्वाइँबाबाको प्रसिद्धि फैलिएको छ । ज्वाइँबाबा एक महान् पुरुष हुनुहुन्छ ।”

“अनि चम्पुको के हालखबर छ ?” मैले एकाएक चम्पुलाई सम्प्रेर भनेँ । “कुनै खबर छैन । कोही भन्छन् बम्बईमा । तर, यो दुष्टहरूका कुरा हो । जीवित अवस्थामा नरहेको पनि भन्छन् । कुन्नि, यथार्थ के हो ? यसबारे ज्वाइँबाबा मौन हुनुहुन्छ । सम्भवतः यसको पनि कुनै पवित्र कारण होला । हामीले जान्ने भएर उहाँजस्तोसँग किन सोध्ने ?” हरेरामको भक्तिभाव चरममा थियो ।

“बम्बम् !” अघिको भक्तगण ज्वाइँबाबाको दर्शन गरेर बाहिर निस्किरहेका थिए ।
“बम्बम् !” मलाई त्यहीँ छाडेर हरेराम पनि भक्तहरूसँग सम्मिलित भयो ।

०००
६ मङ्सिर, २०५९
छेउको बधशाला (२०६१)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
छेपाराख्यान

छेपाराख्यान

विमल निभा
जुत्ता

जुत्ता

विमल निभा
जुत्ता

जुत्ता

विमल निभा
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी
दिग्भ्रमित यात्रा

दिग्भ्रमित यात्रा

श्रीप्रसाद पाेखरेल
पोइटिङ्ग्री

पोइटिङ्ग्री

गाेपेन्द्रप्रसाद रिजाल
कान्छाबाका तीन दारी

कान्छाबाका तीन दारी

मुक्तिनाथ शर्मा