विमल निभाएक जोडी पाउजेब
एक पटक आ–आफ्ना छातीमा हात राखेर भन अहिले कहाँ छ हराएको छ कहाँ छमछम–छमछम छमछम–छमछम सुन्दर पयरको एक जोडी निर्दोष पाउजेबको मर्म र ध्वनि ?

विमल निभा :
ससाना सुन्दर पयरमा
के तिमी सुनिरहेका छौ
पाउजेबको आवाज ?
हलुका–हलुका ध्वनि
छमछम–छमछम
छमछम–छमछम
सँगसँगै अस्फुट स्वर
केके, केके, केके…
अलिकति हाँसो मिश्रित
अनि चुराको बोली
छनछन–छनछन
छनछन–छनछन
एउटा अन्तरालमा सुनिन्छ
मन्द–मन्द पदचाप
थपथप–थपथप
थपथप–थपथप
र सुन
सुन फेरि
कलिलो पाउजेबलाई
छमछम–छमछम
छमछम–छमछम
हो, झन्डै एक दशकअघिको
यो पाउजेबको आवाज
छमछम–छमछम
छमछम–छमछम
कहाँ हराएको छ ?
छिमेकी हिन्दुस्तान र पाकिस्तानको
मुम्बईको कमाठीपुरामा
या लाहोरको हीरामण्डीमा ?
कहाँ–कहाँ हँ ?
अथवा केही परको
कुनै अरब नगरीमा ?
दुबईको गोल्डेन सैंड्स होटलमा
या दोहाको रेडलाइन क्लबमा ?
एक जन्मदाता पिता
र सहोदर दाजुभाइहरू हो
एक पटक आ–आफ्ना छातीमा
हात राखेर भन
अहिले कहाँ छ
हराएको छ कहाँ
छमछम–छमछम
छमछम–छमछम
सुन्दर पयरको एक जोडी
निर्दोष पाउजेबको
मर्म र ध्वनि ?
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest








































