विमल निभापाखण्ड प्रकाशन
र दुई, सरकारको शरीर छाडेर अन्त डेरा सरेको आलस यताउता घुमफिर गरेर फेरि सरकारको शरीरमा प्रवेश गर्यो । निकै आराम छ ।

विमल निभा :
निष्क्रिय सरकारको शरीरमा आलस प्रवेश गर्यो। निकै आराम थियो । एक दिन बस्दाबस्दै आलसलाई पनि अल्छी लाग्यो । बोर भएर उसले निर्णय गर्यो-अब अन्तै डेरा सर्नुपर्छ। अतएव उसले सरकारको शरीर त्याग गयो। यसले सरकार एकाएक फुर्तिलो देखियो । र ऊ व्यापारीहरूको गोदाममा छापा मार्ने महान् अभियानमा निस्क्यो ।
साक्षात् सरकारलाई आफ्नो गोदामको मूल द्वारमा उभिएको देखेर कालाबजारी उस्क्यो । सशङ्कित भयो। त्यसपछि आतङ्कित पनि। अनि सोच्यो यो आज अचानक यहाँ किन? चुनावताका प्रशस्त चन्दा दिइएकै हो। पक्कै बाटो बिराएको हुनुपर्छ । अन्य कारण हुन सक्दैन। कालाबजारीले विनीत मुद्रामा भन्यो, “सरकार, किन पाउकष्ट गर्नुभएको आज ?”
सरकारले सगर्व घोषणा गर्यो, “तिम्रो गोदाममा म छापा मार्न चाहन्छु । म सरकार हूं। मैले यस्तो कार्यक्रम बराबर चलाइरहनुपर्छ। यही मेरो कर्तव्य हो । त्यही गर्न आएको । गोदाम खोल । छिट्टै ।”
“मकहाँ त्यस्तो के छ र? जनाउ दिनुभएको भए म स्वयं सम्पूर्ण विवरण लेखेर पठाइदिन्यें। के गाह्रो छ फेरि हामीबीच परस्पर सहयोगको बाचा छदै छ। के बिर्सनुभयो सरकार” कालाबजारीले सरकारलाई पुरानो कुरा स्मरण गरायो ।
“अँ, त्यो सम्झौता मैले बिर्सेको छैन। तर म एक जननिर्वाचित सरकार हूँ। जनतालाई केही गरेर देखाउनै पर्यो। अन्यथा मेरो छवि बिग्रने डर हुन्छ। त्यसैले म छापा मार्न आएको हुँ। गोदाम खोलेर देखाऊ। केके छ यहाँ ?” सरकारले कडिकडाउ भाषामा भन्यो ।
“जो आज्ञा सरकार ।” अन्ततः कालाबजारीले निहुरिनै पन्यो । गोदामको ताल्चा खोलियो । भित्र सयौ, हजारौं, लाखौं बोराहरू थिए। चाङका चाङ। यो देखेर सरकार प्रसन्न भयो। भन्यो, ‘के छ यसमा ?”
“आफै खोलेर हेर्नोस् सरकार। जे छ, अघिल्तिर नै छ। म के भन्न सक्छु ?” कालाबजारीले मसिनो स्वरमा भन्यो ।
बोराहरू खोलेर हेरियो । त्यहाँ महंगी नै महंगी थियो । सयौं बोरा महँगी। हजारौं बोरा महँगी। लाखौं बोरा महँगी। महँगीले गोदाम टन्न भरिएको थियो । यो देखेर सरकार उदास भयो। सोच्यो केके न होला भन्ने ठानेको थिएँ, यहाँ त महँगी नै महँगी मात्र रहेछ । बल्ल बुड़ें। गोदामबाट सोकै महँगी बजार पुग्दो रहेछ । बजारमा जति पनि महंगी उपलब्ध छ । के छापा मार्नु ?
सरकारलाई उदास देखेर कालाबजारीले भन्यो, “सरकार, किन उदास हुनुभएको ? यसरी दुःखी नहुनुहोस् । महँगी राम्रो कुरा हो । यसलाई हेरेर चित्त दुखाउनु हुन्न । यो हामी सबैका लागि लाभदायक हुन्छ । महँगीको बदलामा म सरकारलाई टक्याइहाल्छु । किन मुख अँध्यारो पार्नुहुन्छ ?”
“के ?” सरकार तुरुन्तै सजग भयो ।
“महँगीको बदलामा के हुन्छ ? त्यही भ्रष्टाचार । लिनोस्, हजुरलाई कति भ्रष्टाचार चाहिन्छ ? भनेजतिकै भ्रष्टाचार हाजिर छ ।” कालाबजारीले फुर्तीसाथ उत्तर दियो ।
तत्पश्चात् सरकार र कालाबजारीबीच पुनः नयाँ सम्झौता भयो । सहयोगका लागि सङ्कल्पको आदानप्रदान गरियो । दुवैले एकअर्कासँग हात मिलाए। काम फत्ते गरेर सरकार फर्थ्यो ।
भोलिपल्ट दुई काम सम्पन्न भयो । एक, रेडियो, टेलिभिजन र अखबारमा सूचना प्रकाशित भयो- सरकार सक्रिय छ । जनाताले चिन्ता लिनु पर्दैन । सब थोक दुरुस्त छ । र दुई, सरकारको शरीर छाडेर अन्त डेरा सरेको आलस यताउता घुमफिर गरेर फेरि सरकारको शरीरमा प्रवेश गर्यो । निकै आराम छ ।
९ जेठ, २०५३
०००
छेउको वधशाला (२०५८)
Subscribe
Login
0 Comments
Oldest








































