दाह्री र राजनीति
‘हेर्नोस्, अहिले मलाई हतार छ पछि कुराकानी गरौँला । गिरिजाबाबु मलाई विदेश पठाउँदै छन् । म राजदूत भएर जाँदै छु ।’ त्यसपछि उनले क्लिन सेभ अनुहारलाई दाहिने हातले बिस्तारै मुसारे र मलाई अवाक् अवस्थामा छाडेर फटाफट अघि बढे ।
विमल निभा :
वि.सं. २०३०
उनी दाह्रीवाल बुद्धिजीवी हुन् । एक थान चर्चित दाह्रीका धनी । पूरै मुख- प्रदेशमा फैलिरहेका काला घाँसहरू । परैबाट उनलाई चिन्न सकिन्थ्यो । सबै चिन्थे पनि । केही गाह्रो थिएन । दाह्रीसम्बन्धी उनको निजी दर्शन थियो जसको व्याख्या उनी बराबर गरिरहन्थे ।
‘बुझ्नुभो, यो दाह्री मैले त्यसै बढाएको होइन । यसको राजनैतिक कारण छ । दाह्री र राजनीतिमा परस्पर गहिरो सम्बन्ध छ । नपत्याए हेर्नोस् मेरो दाह्री ।’ विषयको गहनतालाई ध्यानमा राखेर उनी फेरि भन्थे, ‘बन्धु, यो फासिस्ट पञ्चायती व्यवस्थालाई नफालेसम्म म यो दाह्री खौरन्नँ । यो मेरो भीष्मप्रतिज्ञा हो । तपाईं यसलाई दाह्री-प्रतिज्ञा पनि भन्न सक्नुहुन्छ । केही फरक पर्दैन । मेरो यो दाह्रीलाई केवल दाह्री अथर्थात् दाह्री मात्र सम्झनु भूल हुनेछ ।’
‘किन गुरु ?’
‘सङ्घर्षको आआफ्नो शैली हुन्छ । मेरो पनि छ । म दाह्री मार्फत् सङ्घर्षरत छु । म संसारसामु यो अनुपम उदाहरण प्रस्तुत गर्न चाहन्छु । दाह्रीको सहयोगले पनि राजनैतिक लडाइँ लड्न सकिन्छ । जस्तो कि म लडिरहेछु ।’
वि.सं. २०३४
उनीसँग मेरी यदाकदा सम्पर्क भइरहन्थ्यो । सभा, सेमिनार, जुलुस, भेला, गोष्ठी आदि स्थानहरूमा । उनको दाह्रीको घनत्वले थाहा हुन्थ्यो, उनी मोर्चामा डटेका छन् ।
‘के हाल-खबर छ गुरु ?’
‘यो देशमा अन्याय र भ्रष्टाचार निकै बढिरहेछ । त्यसैले त्यही अनुपातमा मेरो दाह्री पनि बढ्दै छ । म युद्धबाट पलायन हुने व्यक्ति होइन । मेरो यो दाह्री विद्रोहको सशक्त सिम्बोल हो ।’
उनको दाह्री अनियन्त्रित झ्याङ झै बढिरहेको थियो । स्पष्ट छ, देशको अवस्था निकै नाजुक छ । उनको दाह्री हेरेर म सहज अनुमान लगाउँथे ।
वि.सं. २०३८
उनलाई देखेर म चकित भएँ । उनको दाह्रीको साइज घटिसकेको थियो । लघु रूप । मैले सोधेँ, ‘गुरु दाह्रीको संक्षेपीकरण किन ?’ बन्धु, देशमा सीमित मात्रामा भए पनि प्रजातन्त्र भित्रिएको छ । यो पुरानो पञ्चायती व्यवस्था हो । जनमत सङ्ग्रहमा अनुमोदित । त्यसैले दाह्रीको मैले काटछाँट गर्नुपर्यो । अब पनि पुरानै खालको दाह्री किन राख्ने तर मैले दाबी पूरै मिल्काएको छैन । सुधारले गर्दा यही व्यवस्थामा पूणर् प्रजातन्त्र आउनेछ । त्यसपछि दाह्री त्याग गर्नेछु ।’ उनले प्रफुल्ल भावमा आफूलाई अभिव्यक्त गरे ।
गोरखापत्र हेरेपछि थाहा भयो, उनी पनीजाँबुस (पञ्चायत नीति तथा जाँचबुझ समिति) मा गइसकेका रहेछन् । एक प्रखर बुद्धिवादीको हैसियतले । पञ्चायती दर्शनलाई नयाँ आयाम दिन । र, आपनो राजनैतिक दाह्रीको सदुपयोग गर्न ।
विसं २०४६
नयाँ सडक । अकस्मात् उनीसँग भेट भयो । फ्रेन्चकट् दाह्रीमा थिए । मलाई देख्नासाथ लगभग उत्तेजित स्वरमा भने, ‘यो आन्दोलनको आवश्यकता छ बन्धु ? यही व्यवस्थामा पूर्ण प्रजातन्त्रको प्राप्ति गर्न सकिन्छ । म यही दिशामा कार्यरत थिए तर कम्युनिष्ट र कांग्रेसहरूले सबै बिगारे । अब फेरि पञ्चायत पुरानै समयमा फर्कन बेर छैन । त्यस्तो भए मैले पुनः दाह्री बढाउनुपर्नेछ । बहुदलवादीहरू मेरो दाह्रीको विरोधमा छन् ।’
वि.स. २०४७
जनआन्दोलनपश्चात् उनको छवि नेपाल टेलिभिजनमा देखियो । कांग्रेसमा प्रवेश गर्दै गरेको । चिउँडोमा एक टुक्रा दाह्री विद्यमान थियो । एक समारोहमा उनीसँग साक्षात्कार हुँदा मैले भनेँ, ‘गुरु प्रजातन्त्र आइसकेपछि त दाह्री कटाउनोस् । अब पनि यो दाह्रीमोह किन ? ब्लेड किन पठाउँ ?’
‘किशुनजीको आग्रहले गर्दा मैले कांग्रेसमा पस्नुपर्यो । प्रजातन्त्र आयो । यो खुशीको कुरा हो । तर अहिले पनि थुप्रै विसङ्गति र विक्तिहरू बाँकी छन् । अन्तरिम पिरीयड पनि हो । अब तपाईं नै भन्नोस् म कसरी दाह्रीमुक्त होउँ ? मेरो दाह्रीको प्रजातन्त्रप्रति केही दायित्व छ । त्यो पूरा नभएसम्म मेरो दाह्रीसाधना समाप्त हुने छैन ।’ उनले अब्बल दर्जाको गम्भीरता धारण गरेर भने ।
विसं २०४९
एकाएक सिंहदरबारको गेटमा मैले उनलाई देखेँ । क्लिन सेभ थिए । पूरै दाह्रीविहीन । चिल्लो र चम्किलो अनुहार । म उनलाई हेरेको हेर्यै भए । केही क्षणपश्चात् भनेँ, ‘गुरु तपाईंको दाह्रीलाई के भयो ? के प्रजातन्त्रका सबै खराबीहरू हटे ?’
‘हेर्नोस्, अहिले मलाई हतार छ पछि कुराकानी गरौँला । गिरिजाबाबु मलाई विदेश पठाउँदै छन् । म राजदूत भएर जाँदै छु ।’ त्यसपछि उनले क्लिन सेभ अनुहारलाई दाहिने हातले बिस्तारै मुसारे र मलाई अवाक् अवस्थामा छाडेर फटाफट अघि बढे ।
०००
काठमाडौं
‘आधुनिक नेपाली हास्यव्यङ्ग्य’ (२०६०)
Subscribe
Login
0 Comments
Oldest