विमल निभाआलुको नाक
बेलुकीपख नयाँबानेश्वरको संविधानसभा भवनमा पुगेर आलुका नाक भएका माननीय दंग परे । किनभने समितिको बैठकमा उपस्थित सबै (पक्ष र विपक्ष) माननीय सभासदका नाक भएको ठाउँ खाली थियो । अर्थात् त्यहाँ नाक थिएन ।

विमल निभा :
एकाबिहानै टुथब्रस गर्दागर्दै संविधानसभाका छ सय एक सभासद मध्येबा ए एक माननीयको आँखा ऐनामा गयो । उनी एकाएक झस्किए । किनभने माननीयको लामो एवं चुच्चो नाक यथास्थानमा थिएन । त्यहाँ एक प्रकारको खोपिल्टो थियो । उनी एउटा हातले अनुहार छोप्दै बाथरुमबाट बाहिर निस्किए ।
‘के भयो हजुर ?’ किचेनबाट निस्कँदै गरेकी पत्नीको प्रश्न थियो।
‘केही होइन ।’
‘अनि अनुहार किन छोप्नुभएको हजुरले ?”
‘केही होइन भनिहाले नि ।’ उनको स्वर अनावश्यक ढंगले चर्कियो।
यसको प्रत्युत्तरमा माननीय पत्नीले केही भन्न खोजेकी थिइन्, तर चुप लागेर अर्ध छोपिएको मुखमण्डललाई विचित्र नजरले नियाल्दै भर्याङ उक्लिन थालिन् ।
‘कफी बनाएर राखिदिएकी छु। केही समयपछि माथिबाट पत्नीको आवाज आयो ।
एक दिन अघिसम्म त नाक यहीं थियो, माननीयले कोरिडोरमा उभिएर आफैसँग मनमनै सोधे, त्यसो भए कहाँ गयो त मेरो नाक ? उनी एकतमासको आश्चर्यमा परेर सोचिरहेका थिए ।
हिजो रातिको एम्बेसीको डिनरमा उनको प्रतिपक्षीहरूसँग नराम्रो ठाकठुक परेको थियो । केही बेरमै ठाकठुक बढेर हात हालाहालसम्म पुग्यो । (क्यारे !) कतै त्यसैबेला त केही भएन ? माननीयलाई केही पनि सम्झना भइरहेको थिएन । वास्तवमा त्यसबखत उनी बिलकुलै सामान्य अवस्थामा थिएनन् । सायद दस-एघार पेगजति ब्लाकलेभल हिवस्की लिइसकेका थिए तैपनि बेहोश भने थिएनन् । त्यही समय त्यो धम्मरधुस विरोधी नेतासँग अहिलेसम्म नबनेको संविधानबारे भनाभन आरम्भ भयो ।
हुन त एम्बेसीका गोरा अधिकारीहरूले (महामहिम राजदूत पनि) मैत्रीपूर्ण वातावरण बिगार्ने चर्काचर्की मिलाउन नखोजेका होइनन्, तर कुरो कहाँसम्म पुग्यो भने विरोधी नेतासँग उभिएको एक दादा टाइप केटोले पैन्टको गोजीबाट हतियारजस्तो केही निकालेको थियो । अलिअलि याद भइरहेको छ । धारिलो चक्कुसक्कु हुनुपर्छ । त्यसैबाट मेरो नाक चटक्क काटिएको हो कि ? माननीय गहिरो सोचबाट निस्किएर यो चिसोको मौसममा पनि पसिना पसिना भए ।
यही भयको मुद्रामा उनी यन्त्रचालित ढंगले छेउको किचेनमा छिरे । डाइनिङटेबुलमा रहेको तात्तातो कफीको वाष्पसुगन्ध (छोपिएको भए तापनि) ले आमन्त्रित गरिरहेको थियो । उनी स्ट्रङ कफीको स्वाद लिंदै पुनः हराएको नाकको विषयमा गहन चिन्तनमनन गर्न थाले । आफ्नो लामो एवं चुच्चो नाकमा माननीयलाई गर्व थियो । अत्यधिक गर्व । कहाँसम्म भने उनलाई यो वा त्यो नाक सिंगो नेपालकै नाकजस्तो लाग्थ्यो । नेपाल राष्ट्रको गौरवशाली नाक । एक पूर्णतया राष्ट्रिय चरित्र बोकेको नाक । अर्थात् राष्ट्रवादी नाक ।
पुरानो, सिलसिलेवार र लामो परम्परादेखि चलिआएको महत्त्वपूर्ण नाक बेपत्ता थियो आज । उनले एकपटक अनुहारको नाक भएको (हाल नभएको) ठाममा सुस्तरी छामे ।
तत्पश्चात नाकहीनताले उत्पन्न अत्यन्त निराशासहित सोच्ने काम छाडेर त्यसै टोलाइरहे ।
केही समयपछि माननीयको खाली मगजमा अपर्भाट एउटा गजबको विचार आयो । र उनले झटपट सामुन्नेको तरकारी-सरकारी राख्ने प्लाष्टिकको डालोबाट एउटा ठिक्क साइजको आलु झिकेर अनुहारको नाक नभएको स्थानमा याने अढाई इन्ची खोपोमा सावधानीपूर्वक फिट गरे ।
मध्यान्हतिर यही आलुको नाकसँगै माननीय आफ्नो बंगलाभन्दा चार फैलङ परको पार्टी अफिसमा पुगे । यो उनको नियमित दिनचर्या थियो । तर आज उनी नितान्त नयाँ हेतुले पार्टी अफिस आएका थिए । वस्तुतः माननीय आफ्नो हराएको नाकको खोजी गर्न चाहन्थे ।
‘सलाम साब ।’ उनलाई कारबाट ओर्लदै गरेको देखेर पालेको कालो बुट भुइँमा बेस्सरी बजारियो । यसको अटोमेटिक उत्तरमा भादगाउँले ढाकाटोपी हल्लाउँदै अघि बढे उनी ।
चेम्बरमा हतार-हतार प्रवेश गरेर माननीयले सर्वप्रथम आफ्ना गोप्य तथा निजी ड्रयरहरू फुर्तीसाथ खोले, नाक थिएन । त्यसपछि विरक्तिएको भावमा टेबुलमा छरिएका कागजपत्रहरू ओल्टाइपल्टाइ गर्न थाले । यहाँ पनि नाक नपाइएकोले उनले खुइय सुस्केरा हाले । र कुर्सीबाट एक्कासी उभिएर स्टील दराज खोतलखातल गर्न थाले। केही पुराना फाइल झिकेर टेबुलमा राखे। अनि टाइम लगाएर पुरै सजगताका साथ हेरे । कतै पनि लामो एवं चुच्चो नाक फेला परेन ।
‘कहाँ गएको होला मेरो नाक ?’ यस्तो स्वागतका साथ अँध्यारो मुख लाएर माननीय फेरि आफ्नो आसनमा प्रकृतिस्थ भए ।
एकछिनपछि हात नाकमा लगे, तर त्यहाँ आलुको नाक भएकोले खिन्न भए ।
घरिघरि लामो एवं चुच्चो नाकमा हात लगेर प्रेमपूर्वक सुमसुम्याइरहने माननीयको अचम्मको स्वभाव थियो । यसको असम्य, अप्रगतिशील २ अप्राकृतिक बानी भनेर पार्टीको एक वृत्तमा हलुका-हलुका आलोचना नभएको होइन । तर पार्टीको एक उच्च पदाधिकारीसमेत रहेका माननीयसामु बोल्ने कसैको साहस थिएन । तथापि उनको (उनीजस्ता अरू पनि) नाकलाई लिएर पार्टीमा अदृश्य विभाजन भइसकेको थियो ।
‘साले गुटबाजहरू ।’ उनले आफ्नो लामो एवं चुच्चो नाकको विरोध गर्नेलाई सस्वर गाली गरे । तर के फाइदा, उनीसँग लामो एवं चुच्चो नाक थिएन ।
धन्य, कम्तीमा आलुको नाक त थियो ।
‘जयनेपाल माननीयज्यू ।’ एक भूतपूर्व माननीयको कोठामा प्रवेश भयो ।
‘जयनेपाल माननीयज्यू ।’ उनले हत्तपत्त आलुको नाक छोप्न खोजे।
‘के समाचार छ, माननीयज्यू ?”
‘उही त हो नि माननीयज्यू ।”
‘केही हुनसकेको छैन ?’
‘अहँ, केही छैन ।’
यसरी कसरी चल्छ त माननीयज्यू ?” ‘खोइ, म के भनु माननीयज्यू ।”
‘आज संविधानसभामा जानु छैन ?”
‘जानु छ ।” उनले अप्ठ्यारोसँग भने, ‘समितिको बैठक छ।”
‘आफ्नो कुरा नछाड्नोस्, मानननीयज्यू ।’ भूतपूर्व माननीयले वर्तमान माननीयको आलुको नाकमा हेरे । ‘हुन्छ, माननीयज्यू ।’ उनले हात लगेर आलुको नाक सुमसुम्याए ।
बेलुकीपख नयाँबानेश्वरको संविधानसभा भवनमा पुगेर आलुका नाक भएका माननीय दंग परे । किनभने समितिको बैठकमा उपस्थित सबै (पक्ष र विपक्ष) माननीय सभासदका नाक भएको ठाउँ खाली थियो । अर्थात् त्यहाँ नाक थिएन ।
त्यसकारण परम सन्तुष्ट मुद्रामा आलुको नाक सुमसुम्याएर माननीय आफ्नो आसनमा बस्दा भए ।
०००
व्यङ्ग्यविनोदी कथाहरू (२०८१)
Subscribe
Login
0 Comments
Oldest








































