विमल निभाघर फर्कने आह्वान
महासचिव कमरेडभन्दा कमरेड ओलीको वरदान दिने क्षमता बढी छ भनिन्छ । हो, भक्ति चाहिँ निरन्तर गरिरहनु अनिवार्य छ । त्यस उसले कमरेड ओलीको घरमा फर्कनु पनि मेरो लागि घाटाको कारोवार हुने छैन ।

विमल निभा :
एमालेका नेताहरूले घर फर्कने आह्वान गर्नुभएको छ । विहानैदेखि सोचिरहेछु, म पनि घर फर्कूँ । तर कुन चाहिँ घर फर्कने त्यहाँ घरहरू धेरै छन् । एकसे एक घरहरू । भाँति-भाँतिका घरहरू गजब-गजबका घरहरू । उदाहरणको लागि कमरेड माधवकुमार नेपालको घर, कमरेड खडगप्रसाद ओलीको घर, कमरेड भलनाथ खनालको घर, कमरेड भरतमोहन अधिकारीको घर कमरेड मोदनाथ प्रश्रितको घर इत्यादि । एमाले पार्टीमा घरहरूको के अभाव छ ? यतिका घरहरू भएकाले म साह्रै अल्मलिएको छु । मैले कुन घरमा फर्कनु राम्रो होला ?
यही सिलसिलामा मेरो मनमा केही प्रश्नहरू उब्जिाएका छन् । महासचिव कमरेड माधवको घर राम्रो वा अन्य कमरेडहरूका घर । कमरेड भरतमोहनको घरमा बढी कोठाहरू छन् वा कमरेड महासचिवको घरमा ? कमरेड ओलीको बाथरूम र कमरेड भरतमोहनको बाथरूममा कुन चाहिँ ठूलो ? कसको ड्राइङ्ग रूम सबभन्दा आकर्षक लाग्छ ? कमरेड ओलीको अचवा कमरेड झलनाथको ? बेडरूम, किचेन, बाल्कोनी, भर्याङ्ग सर्वेन्ट क्वाटर पूजाकोठा, स्टोररूम आदिको भव्यतामा कमरेड झलनाथ र कमरेड प्रश्रितको घरमा कुन चाहिँ घर अगाडि छ ? के कमरेड प्रश्रितको घर अथवा अन्य कमरेडहरूका पर ? सबै कमरेडहरूका घरको विषयमा म गम्भीरतापूर्वक चिन्तन-मनन गरिरहेछ । घर फर्कनु भन्दा अघि यो आवश्यक छ । केही थाहा नपाएर त्यसै घर फर्कनु बुद्धिमानी हुँदैन । म कुनै मूर्ख होइन । भूतपूर्व एमाले हुँ ।
म कमरेड झलनाथको भखरै धुमधामले निर्माण गरिएको घरको छेउमा बस्छु । एउटै टोल हो । डल्लु टोल । अतः मलाई उहाँकै घरमा फर्कनमा सुविधा छ । बेसी परिश्रम गरिरहनु पर्दैन । बीस-पच्चीस पाइला हिँड्यो घर ट्याक्कै आइहाल्छ । कमरेडको घर पनि भव्य छ । आकर्षक झ्यालहरूमा बेल्जियमको सीमा फिट गरिएको छ । त्यो दामी सीसाबाट हेर्दा संसार कस्ता देखिन्छ के पूरै वर्गमुक्त ? अथवा अति सुन्दर एवम् शान्त द्वन्द्वरहित देखिन्छ कि ? सबै प्रकारका सङ्घर्षदेखि अलग- अलग ? अहिले त म कल्पना मात्र गर्न सक्छु । त्यहाँ गएपछि थाहा होला । त्यसो भए के म कमरेड झलनावकै घरमा फर्कूँ ?
हुन त कमरेड प्रश्रितको घर पनि त्यति पर छैन । उहाँको घर पनि यतै छ । यसो अनि झट्केर हिँड्ने हो भने पाँच-दश मिनेटमै पुग्न सकिन्छ । कमरेड प्रश्रित एक प्रगतिशील साहित्यकार । गोलघरको सन्देशको चर्चित रचयिता । अचेल आफ्नै नयाँ घरको सन्देश दिनमा अहोरात्र व्यस्त हुनुहुन्छ । सेठ-साहुकारहरूसँग सापटी कुन्नि फर्काउनु पर्छ अथवा पर्दैन । लिएर बनाइएको घर । यस सम्बन्धमा उहाँले एउटा लेख नै लेख्नु भएको थियो । निकै मनोरञ्जक थियो । म पनि साहित्यकै एक बटुक भएकोले कमरेड प्रश्रितकै घरमा फर्कनु उपयुक्त होला । उहाँको घरको नाम मलाई मन पर्छ । गौँथलीको गुँड । तर उहाँको उन्नत कायाले गोँथलीको आभास दिँदैन । जेहोस् सिमेन्ट इँट बालुवा र छडले निर्मित यो दुनिको एकमात्र गौँथलीको गृह हो । म कमरड प्रश्रितकै घरमा फर्कन्छु ।
तर घर फर्कर्ने हो भने महासचिव कमरेड माधवकुमारको घरमा किन नफर्कने ? चानचुने नेताहरूका घरमा फर्कनु भन्दा उहाँकै घरमा फर्कनु बेस । केही टाढा अवश्य छ । त्रिपुरेश्वर, माइतीघर र नयाँ बानेश्वर नाघेर कोटेश्वरसम्म पुग्नुपर्छ । ट्रलिबसको प्रयोग गरे पनि हुन्छ । कमरेडको अर्को घर रौतहटमा पनि छ । अन्त पनि हुनसक्छ । तर म त्यति झन्झट गरिरहने पक्षमा छैन । कोटेश्वरको घर नै ठीक छ । उहाँको घर बाहिरबाट जस्तो देखिएता पनि भित्रबाट शानदार छ । यो उहाँकै एक भित्री कमरेडको भनाइ हो । त्यसैले विश्वास गर्नैपर्यो । उहाँ अर्थात भित्रि कमरेड सधैँ बिहान-बिहान महासचिव कमरेडको घरमा पुग्ने गर्नुहुन्छ । यसका दुई फाइदा छन् । एक मर्निङ वाक भयो, स्वास्थलाई उत्तम र दुई, महासचिवको दिव्य मुहारका नित्यदर्शन पनि भइगयो । यसले राजनैतिक स्वास्थलाई सुधार्ने ग्यारेन्टी छ । यस्तो उच्च कोटीको फाइदा हुने भएकोले मैले पनि महासचिव कमरेड माधवकुमार नेपालको घरमा फर्कनु पर्ला । यही गर्वथा उचित हुनेछ ।
कमरेड ओलीको घरको विषयमा मलाई त्यस्तोविधि आइडिया छैन । कुन्नि राजधानीको कुन क्षेत्रमा अवस्थित छ ? कति तलाको छ भट्ट हेर्दा कस्तो देखिन्छ ? कुन ठेकेदारले बनाएको हो ? डिजाइन कस्तो छ ? वास्तवमा मलाई केही थाहा छैन । तर उहाँको घरको गोप्य गोप्य कक्षको पनि विशद् जानकारी राख्नेहरू एमालेमै मौजूद छन । यस्ता भीषण ज्ञानीहरू, कमरेड ओली कुन कोठामा सुत्नु हुन्छ, स्वाप्न कस्तो देख्नु हुन्छ र कति बजे ब्युझन हुन्छ, सबै सहजै भन्न सक्छन् । त्यसैले कमरेड यस्तालाई असाध्यै मनपराउनु हुन्छ । यो मायाको एमालेमा गहिरो अर्थ छ । महासचिव कमरेडभन्दा कमरेड ओलीको अरदान दिने क्षमता बढी छ भनिन्छ । हो, भक्ति चाहिँ निरन्तर गरिरहनु अनिवार्य छ । त्यस उसले कमरेड ओलीको घरमा फर्कनु पनि मेरो लागि घाटाको कारोवार हुने छैन । उहाँको घरले एमालेमा तीर्थस्थलको हैसियत राख्छ । म एक धार्मिक व्यक्ति हूँ । भजन मेरो स्वभाव हो ।
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































