सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भ्रष्टहरूको हड्ताल

‘अरुहरूले त हड्ताल गर्ने गर्थे, अब यी साले भ्रष्टहरूले पनि हडताल गर्न थाले’ साना पुलिसहरू दिक्क थिए, ‘साले भ्रष्टहरूले गर्दा ड्युटी बढ्ने भयो । आफै त विद्रोहीहरूले गर्दा आपत् थियो, अब यी भ्रष्टहरूले हामीलाई ओभरटाइम गराउने भए ।’

Nepal Telecom ad

विमल निभा :

एक दिन मुलुकका तमाम भ्रष्टहरूले एकाएक हड्ताल गर्ने निश्चय गरे । नेपाल भ्रष्ट सङ्घको अगुवाइमा यो हुने भयो । यसमा प्रजातान्त्रिक भ्रष्ट समाज, प्रगतिशील भ्रष्ट युनियन र राष्ट्रवादी भ्रष्ट सङ्गठनको पनि समर्थन थियो । तथ्य के हो भने भ्रष्टहरूप्रति जनघृणा बढेकोमा भ्रष्टहरू असन्तुष्ट थिए । “के हामीहरू यही व्यवस्थाको एक महत्त्वपूर्ण अङ्ग होइनौँ ?” यो प्रश्नलाई केन्द्र बनाएर भ्रष्टहरू अभूतपूर्व एकताका साथ हडतालमा ओर्लने भएका थिए । भोलि जुलुसको कार्यक्रम थियो, जहाँबाट हडताल आरम्भ भएको घोषणा हुने भएको थियो ।

यो खबर सरकारसमक्ष पुग्यो । केही मन्त्रीहरूले यसको तत्कालै समर्थन गरे । र, भ्रष्टहरूका कदम जायज भएकाले आफूहरूले पनि साथ दिने बताए । यसको विरोधमा अन्य मन्त्रीहरूले आवाज उठाए । तर्क के थियो भने, “भ्रष्टहरूको हडताल न्यायसङ्गत भए पनि सरकारले साथ दिनु उचित हुँदैन । यसले हाम्रो छवि बिग्रन्छ ।” यो सुनेर भर्खरै मन्त्रिमण्डलमा सामेल भएका एक अपेक्षाकृत कम उमेरका मन्त्री तातिए, “हाम्रो छवि कसरी बिग्रन्छ ? हामी सबैको छवि पनि त्यस्तै हो नि । अब के बिग्रन्छ ? त्यसैले हामीहरूले भ्रष्टहरूको साथ दिनै पर्छ ।” वातावरण बिग्रिएकाले एक वरिष्ठ मन्त्रीले आखिरीमा यसरी सपारे, “होइन, हामीहरूले सोकै भ्रष्टहरूको समर्थन गर्नु हुँदैन । यो हाम्रो सिद्धान्तसँग मेल खाँदैन । बरू अगाडि विरोध गरेजस्तो गरेर पछिल्तिरबाट समर्थन गर्नुपर्छ। कसो ?” यसमा सबै सहमत देखिए । प्रधानमन्त्रीले केही बोलेनन् । उनकै अध्यक्षतामा यस प्रकार बैठक समाप्त भयो ।

भ्रष्टहरूद्वारा गर्न लागिएको हडतालले बजारमा हल्लीखल्ली मच्चियो । साहूमहाजनहरू भयभीत भए । यस विषयमा चेम्बरको मिटिङ बस्यो । त्यहाँ सबैको एउटै चिन्ता थियो, ‘अब हाम्रो कामको के हुन्छ ?’ किनभने भ्रष्टहरूकै सहयोगले ठूलाबडाहरूको व्यापार-व्यवसाय चलिरहेको थियो । यो अनर्थलाई रोक्ने सन्दर्भमा एक पाका व्यापारीले सल्लाह दिए, “हाम्रो एक डेलिगेसन गएर भ्रष्टहरूलाई हड्ताल नगर्न अनुरोध गरौँ । सायद, हाम्रो भनाइलाई उनीहरूले स्वीकार गर्नेछन् ।”

केही दिनअघि चेम्बरको चुनावमा थोरै मतले हारेका एक व्यापारीले यसमा विमति जनाए, “हाम्रो अनुरोध भ्रष्टहरूले मान्ने नै छन् भन्ने के ग्यारेन्टी छ ?” यसको जबाफ उनै पाका व्यापारीले दिए, “तपाईंहरूलाई थाहै छ, साहूमहाजनहरूको अनुरोधमा कति वजन हुन्छ । वजनको विषयमा तपाईंहरू आफै अनुभवी हुनुहुन्छ । पहिले पनि भ्रष्टहरूले हाम्रो कुरा मानेकै थिए । फेरि पनि मान्नेछन् भन्ने मलाई पूरा विश्वास छ ।” सबैले परर्र ताली बजाए । हड्ताल सुरु हुनु भन्दा अगावै भ्रष्टहरू कहाँ डेलिगेसन जाने प्रस्ताव सर्वसम्मतिले पास भयो ।

नेपालका भ्रष्टहरूले हड्ताल गर्न लागे भन्ने सुनेर विदेशीहरूले पत्याएनन् । चीन, जापान, अमेरिका, फ्रान्स, निदरल्यान्ड, भारत, बेलायत, स्विट्जरल्यान्ड, जर्मनी, नर्वे, क्यानडा आदि देशका दूतावासहरूले यसलाई हल्ला ठाने । तर खबर साँचो हो भन्ने गुप्तचरहरूले पुष्टि गरेपछि सबै चकित भए र सोच्न थाले, “यस्तो हाम्रो मुलुकमा कहिल्यै भएको थिएन । यो त गजबकै देश रहेछ । पत्याउनै गाह्रो, जहाँ भ्रष्टहरूले समेत हडताल गर्ने गर्छन् ।” यसले उत्साहित भएर केही पश्चिमी देशका कूटनीतिज्ञहरूले “नेपाल प्रजातान्त्रिक देश होइन भन्न मिल्दैन । यो हामीभन्दा बेसी प्रजातन्त्र भएको ठाउँ हो । कारण, भ्रष्टहरूले हडताल गर्न पाउनु प्रजातन्त्रको पराकाष्ठा हो” भन्ने ठोकुवा गरे । अमेरिकी दूतावासबाट ह्वाइटहाउसमा फ्याक्स पठाइयो, “नेपाललाई सहयोग पठाउनुपर्‍यो । यहाँ उच्चस्तरको प्रजातन्त्र छ । भ्रष्टहरूले हडताल गर्न लाग्नु यसको बलियो प्रमाण हो ।” एक रात्रिभोजमा सबै विदेशी कूटनीतिज्ञहरूले यससम्बन्धमा गफ चल्दा नेपालको मुक्तकण्ठले प्रशंसा गरे ।

भोलि भ्रष्टहरूको जुलुस निस्कँदै छ भन्ने सुनेर पुलिस डिपार्टमेन्ट सजग भयो । ‘मजदुर, किसान, महिला, विद्यार्थी आदिको जुलुसमा त मजाले डन्डा बर्साइन्थ्यो, अब भ्रष्टहरूको जुलुसमा के गर्ने ?’ एस्. पी., डी. एस्. पी. र इन्स्पेक्टरसाहेवहरू अन्योलमा थिए । ‘अरुहरूले त हड्ताल गर्ने गर्थे, अब यी साले भ्रष्टहरूले पनि हडताल गर्न थाले’ साना पुलिसहरू दिक्क थिए, ‘साले भ्रष्टहरूले गर्दा ड्युटी बढ्ने भयो । आफै त विद्रोहीहरूले गर्दा आपत् थियो, अब यी भ्रष्टहरूले हामीलाई ओभरटाइम गराउने भए ।’ पुलिस डिपार्टमेन्टको वातावरण तनावपूर्ण थियो । भोलि जुलुस सुन्धारा, नयाँसडक, इन्द्रचोक, असन, भोटाहिटी, रत्नपार्क हुँदै खुलामञ्चमा गएर आमसभामा परिणत हुने भएको थियो । अतएव दुई भ्यान पुलिस भ्रष्टहरूको जुलुस पछि पछि तैनाथ गरिने टुङ्गो लाग्यो ।

०००
‘छेउको वधशाला’ (२०६१)

Fitkauli Publication Books comming soon
Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
शुकदेव उपाध्याय
शुकदेव उपाध्याय
1 month ago

कडा एवं समसामियक व्यङ्ग्य।

Nepal Telecom ad
टोयलेट मोड़ (९)

टोयलेट मोड़ (९)

कृष्ण प्रधान
खोपडी खेल

खोपडी खेल

नन्दलाल आचार्य
खोपडीको घनत्व

खोपडीको घनत्व

शेषराज भट्टराई
विदा गराउने शोक

विदा गराउने शोक

हरिशंकर परसाईं
1
0
Would love your thoughts, please comment.x
()
x