काशीनाथ मिश्रितवरिष्ठ जुवाडे
हाम्रा नेताहरूलाई जोकर भन्नु पर्ने त्यसले ! हेर न तासको जोकर र हाम्रा नेताहरूमा तिमीले फरक देख्छौ त ? उनले मलाई नै प्रश्नको वाण तेर्स्याए । मैले के उत्तर दिने ? नभएको कुरा भए पो ।

काशीनाथ मिश्रित :
मैले आजभोलि प्रायः हरेक तह -तप्का तथा पेशा-व्यावसायका विभिन्न पदहरूमा वरिष्ठ शब्दको उपाधि जोड्ने गरेको सुन्छु । शब्दै वरिष्ठ परेपछि कसैका अगाडि जोड्न नमिल्ने कुरो पनि त भएन । जोड्नै पाइन्न भनेर को आउँदो रहेछ, लौ आओस् ! म आफै वरिष्ठ शिक्षक हुन हुन आँटेको हुनाले यो कुरा उठाएको हुँ, कसैलाई चित्त बुझेन भने वरिष्ठबाट घटुवा गरिदिए पनि मेरो चित्त दुखाइ रहने छैन ।
आफूलाई भारेभुरेको सङ्गतै गर्न मन लाग्दैन । झारेझुरेसित बोल्नै मन लाग्दैन । वरिष्ठहरूको सङ्गत गर्नु है बाबु ! सानातिनाको सङ्गतले सानै भइन्छ मति भ्रष्ट हुन्छ भनेर बाले अर्ति दिएका हुनाले बाको अर्ति मान्न करै लाग्यो । आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको भन्ने उखान मलाई याद छ । आजकल पो बुढाबुढीलाई वृद्धाश्रममा राख्ने चलन छ र ! हाम्रा पालामा त यो चलन आएकै थिएन । के थाहा मेरा बा पनि आजसम्म बाँचेको भए मैले पनि वृद्धाश्रममै लैजान्थेँ कि ? आखिर म पनि वरिष्ठ न परेँ ।
मन नलागी नलागी पनि वरिष्ठहरूको सङ्गत गर्न थालेको छु बाले भनेको हुनाले । मेरो सङ्गतमा आजकल जो छन् सबै वरिष्ठ नै छन् । पेशा व्यावसाय नै बताइदिने हो भने लौ सुन्नुहोस् कान टट्टाउन्जेल ! वरिष्ठ नेता मात्र कहाँ हो र ? वरिष्ठ नेताका वरिष्ठ चाकडीवालको सङ्गत पनि छ । तिनका वरिष्ठ झोले र छोलेका आशामा पछि पछि लाग्ने झोलेकै ‘हस् बोले’हरूमा समेत वरिष्ठ नै खोज्ने गरेको छु । वरिष्ठ कवि, वरिष्ठ गायक, वरिष्ठ वकिल, वरिष्ठ व्पापारी, वरिष्ठ ड्राइभर, वरिष्ठ खलाँसी, वरिष्ठ किसान को को हो को को । यति मात्र कहाँ हो र, बाको अर्ति शिरोपर गर्दै मैले झिनामसिनाहरूसित सङ्गतै गर्न छोडिसकेँ । वरिष्ठ पत्रकार मात्र हैन वरिष्ठ अलपत्रकारको पनि उत्तिकै सङ्गत गरेको छु । त्यस्तै वरिष्ठ चोर, वरिष्ठ ठग, वरिष्ठ जँड्याहा, वरिष्ठ गँजडी सबैसित मेरो उत्तिकै सम्बन्ध छ, सम्पर्क छ । त्यसैले त अरु कसैले नभने पनि म आफैले आफैलाई वरिष्ठ भनिरहेको छु । गीतामा कृष्णले सम्पूर्ण वरिष्ठहरूलाई ‘म नै हुँ’ भने झैँ हो क्या !
अहिलेसम्म मैले जुवाडेको सङ्गत गरेको थिइनँ । यसो सम्झँदा बाले भनेको झट्ट याद भयो । बाले भनेका थिए, ‘हेर् छोरा जुवाडेको सङ्गत गरिस् भने पनि वरिष्ठ जुवाडेको गरेस् है सानातिनाको होइन ।’ के सनक चढ्यो कुन्नि, जुवाडेको सङ्गत गर्न मन लाग्यो र लागेँ एक दिन सुटबुट कसेर जूवाअड्डातिर । त्यसलाई क्यासिनो भन्दा रहेछन् । म जस्तो वरिष्ठलाई त्यति पनि थाहा थिएन आजसम्म ।
अँ त जूवा अड्डा छिर्न पाउने सम्पूर्ण प्रक्रिया पूरा गरी भित्र पसेँ । त्यहाँको एक जना कारिन्दालाई वरिष्ठ जुवाडेसित भेट गराइदिन आग्रह गरेँ । उसले मलाई त्यस नौतले भवनका हरेक कोठामा घुमाउँदै लग्यो । हेर्छु, दामका लाखलाखका बिटा राखेर कतै कौडा हानिरहेछन् त कतै तास फिटिरहेछन् । अचम्म ! तिनीहरूलाई जूवा खेल्न त्यत्रो पैसा कहाँबाट आउँछ होला ? मैले केही सोच्नै सकिनँ । जति माथि चढ्दै गयो त्यति महँगा महँगा खेलाडीहरू देख्दै गएँ मैले । बाफ रे ! खालमा त दाम मात्र हैन, सुनका गरगहना पनि राख्दारहेछन् । ठुला अस्पतालमा जाँदा संसारका सबै मान्छे बिरामी छन् भन्ने भान भए जस्तो जूवाअड्डामा छिर्दा यो संसारका सबै मान्छे जुवाडे नै हुन् भन्ने भान पर्दोरहेछ ।
यिनै होलान् वरिष्ठ जुवाडे भनेर सोधेको त होइन पो भन्छ बा ! अझ माथिल्लो तलामा हिँड्नुहोस् भन्दै उसले मलाई वरिष्ठ जुवाडेहरूसित भेट गराउन लग्यो । यसो हेर्छु, पैसासैसा केही छैन । अलिकति मकैका दाना राखेर मजाले तास खेलिरहेछन ! ल यहाँहरू नै हो सबभन्दा वरिष्ठ जुवाडे हुन्- उसले भन्यो । मलाई खुलदुली लागेर सोधिहालेँ, – ‘पैसा पनि नराखी मकैका दाना मात्र राखेर खेल्नुभएको छ । तपाईंहरू कसरी वरिष्ठ हुनुभयो ?’ जवाफमा एउटाले भन्यो, – ‘हेर्नुस् बाबु ! तपाईंको जूवा भनेको पनि राजनीति जस्तै नशा हो । नेताहरू तपाईंको सत्ता मात्र पल्टाउँछन् । हामी त एक्का दुक्कीदेखि लिएर तपाईंको मिस्सी बास्सा जम्मै पल्टाइदिन्छौँ । जहाँसम्म तपाईंको मकैका दानाको कुरो छ, धन-सम्पत्ति त तपाईंको जूवा खेलेरै सिद्धियो । लत लागेपछि तपाईंको मनले मान्दैन अनि तपाइँको खेल्न मन लाग्छ । यस अड्डामा तपाइँको हामीभन्दा वरिष्ठ अरु छैनन् ।‘
‘नखेल्नु जूवा र तास धनको नाश जीवनको वनवास !’ यस बोलको गीतमा सांस्कृतिक कार्यक्रममा नाचेको झल्झली याद छ मलाई म सानै छँदा । बाले मलाई यही शिक्षा दिन वरिष्ठ जुवाडेको सङ्गत गर्न भनेका रहेछन् भन्ने मेरो गिलो गिदीले थाहा पाउन बेर गरेन । दिमागमा बत्ती बलेपछि त्यो जूवाघर अँध्यारो लाग्न थाल्यो र हिँडिहालेँ त्यहाँबाट । तर जुवाडेसमेतले नेतालाई घोच्न बाँकी नराख्दा भने कता कता मनलाई च्वास्स घोच्यो टिमुरको काँढाले झैँ । जस्ताको पनि सङ्गत गर्नुपर्ने रहेछ केही सिक्नका लागि भन्ने पनि गिदीमा गड्यो । छ सातमा पढ्दा अन्ताक्षरी खेल्न बुद्धिचानकबाट घोकेको यो सिलोक पनि झट्ट याद भयो –
‘फोहोरदेखिन् पनि सुन झिक्नू
क्वै नीचदेखिन् पनि शास्त्र सिक्नू
विषबाट होस् अमृत काढिलिनू
पटमूर्खको सङ् कहिल्यै नलिनू ।’
नेताहरू सत्ता पल्टाउने खेलमा मात्र नलागेको भए त्यस जुवाडेले त्यसाे भन्ने हिम्मत कहाँ गर्थ्यो र ! हाम्रा वरिष्ठ नेताहरू र यी वरिष्ठ जुवाडेहरूमा मैले भिन्नता फेला पार्न सकिनँ । जुवाडेहरूले झै नेताहरूले पनि त सत्ता पल्टाइरहेछन् । मौकामा चौका हानेर गोजी ढड्याइरहेछन् । पञ्जामा च्याप्न पाए भने खालमा देशलाई च्याँखे थापेर छक्का हानिरहेछन् । आफू विदेशीको गुलाम बनेर हिँडेको जनताले थाहा पाउँदा पनि वादशाह बन्न खोज्ने मुर्ख्याइँ गरिरहेछन् । जुवाडेहरूले बरु आफ्नै सम्पत्ति नाश गरेहोलान् यिनीहरूले त सारा देशको सम्पत्ति नाश गरिरहेछन्, देशलाई पनि मकैका गेडा गन्नुपर्ने अवस्थामा लगिरहेछन् । तब त कुरा काट्छन् जुवाडेहरूले पनि ।
लम्केको हात्तीलाई भेट्न चम्केको घोडा दौडेभन्दा बढ्ता मेरो मन दौडिरहेको थियो बाटामा । ‘कता हो एकोहोरिएर भाइ ?’ तल्लारे माइलाले लगाम तान्दा म झस्केँ । उनी मेरा मनपेट मिल्ने मान्छे ! मैले बेलिबिस्तार लगाएँ । ‘तिमीले सोझै बताएका रहेछौ, मैले त बाङ्गो पो बुझेँछु भाइ ।’ तल्लारे माइलाले मेरो कुरा सुनेपछि भने । हैन भन्या म जूवा अड्डाबाटै आउँदै छु क्या ! सत्ते रामराम । संसद भवनबाट आएको भन्ठानेछन् उनले । खासै सोझो नबोल्ने भएर उनले मेरो कुरालाई पनि बाङ्गै बुझेका रहेछन् । मेरा सबै कुरा सुनेर उनले मलाई वरिष्ठप्रतिको आफ्नो असन्तुष्टि ओकल्न थाले ।
हुन त वरिष्ठ भन्नासाथ सर्वश्रेष्ठ, उत्तम, सबैले मान्ने भन्ने बुझिनु पर्ने हो तर सबैतिर हेर्यौं भने यस्तो देखिँदैन । मनमा लोभले नछोडेको र गरिपुर्याउने खुबी नभएकोलाई नै आजकल वरिष्ठ भनिन थालेको छ । नपत्याए हरेक पार्टीका वरिष्ठ नेताहरूलाई सम्झ न । अध्यक्ष भइसकेको व्यक्ति अबदेखि अध्यक्षको दाबी गर्न नआओस् भनेर वरिष्ठ नेता घोषणा गरिन्छ । वरिष्ठहरूमा तिमीले भेटेको जुवाडे झैँ तलतल चाहिँ मेटिएको हुँदैन । पाँच पाँच पटक प्रधानमन्त्री भएकाले अझै चाहना राख्नु वरिष्ठताको पराकाष्ठा हो । हैन एउटा वरिष्ठ प्रधानमन्त्री भन्ने पद पनि राखिनुपर्ने हाम्रो देशाँ । वरिष्ठ राष्ट्रपतिको पनि व्यवस्था गरिनु पर्ने ! यी जुवाडेहरू… हत्तेरी हाड नभएको जिभ्रो लटपटिएछ क्या ! नेताहरूले बेलामा बुद्धि पुर्याएनछन् । नत्र त वरिष्ठ उपाध्यक्ष, वरिष्ठ उपमहासचिव जस्ता पदहरू बनाउन जान्नेले वरिष्ठ उपप्रधानमन्त्री अनि वरिष्ठ उपराष्ट्रपति किन नबनाएका होलान् हँ ?
माइलाको कुरो अझ चाख लाग्दो हुँदै गयो । उनले थप्दै गए, मैले होमा हो मिलाउँदै गएँ । तिमीसित जुवाडेले जोकरको कुरै गरेनछ भाइ ! तासमा जोकर भन्ने पत्ति पनि हुन्छ । त्यो जुनसुकैसित पनि मिल्छ । त्यसलाई न रङ चाहिन्छ न जात । कालोमा मिलाए पनि हुने रातोमा मिलाए पनि हुने । हाम्रा नेताहरूलाई जोकर भन्नु पर्ने त्यसले ! हेर न तासको जोकर र हाम्रा नेताहरूमा तिमीले फरक देख्छौ त ? उनले मलाई नै प्रश्नको वाण तेर्स्याए । मैले के उत्तर दिने ? नभएको कुरा भए पो । होमा हो मिलाउन र अँ भन्न मैले छोड्नै परेन ।
पार्टीको नेतृत्व सम्हालेको चालिस वर्ष पुगे पनि वरिष्ठ अध्यक्ष बनाउन किन आपत्ति भएको हो कुन्नि । अरु अरु पदमा वरिष्ठ थप्दा फरक नपर्ने तर मुख्य पदमा वरिष्ठ थप्न नमिल्ने के रहेछ त्यस्तो ! मलाई अचम्म लाग्छ । जालझेल तिगडम जे गरेर हुन्छ सत्ता पल्टाउने दाउ खोज्नेहरूले आफू जोकर मात्र भएको कहिले थाहा पाउने हुन् ? हेर न अरु देशमा सत्ताका लागि जोकर बनेको कहीँ देखेका छौ ? छ छवटा उपप्रधानमन्त्री बनाएको इतिहास सबैले जानेका छन्, कसैले ट्युसन पढाउन पर्दैन । संसद भवनमा जुहारी खेलिरहेछन्, कसैले देखाउनु पर्दैन । मामाकी घोडी मेरी हीही छ यिनीहरूलाई । स्वास्नीको तिलहरी बेचेर जूवा खेल्ने जुवाडे र विदेशीसित रिन काढेर देश चलाउने नेतामा मैले त भिन्नता देखेकै छैन । त्यसैले तिमीले जुवा अड्डाबाट आउँदै छु भन्दा मलाई संसद भवनबाटै आएको भान भएको हो भाइ ! मेरो एकोहोरो फतफतले दिक्क लाग्यो कि ?
दिक्क भन्दा पनि गजब पो लागेको छ मलाई त । म पनि वरिष्ठ शिक्षक हुन हुन आँटेको हुनाले उनको कुरालाई नकार्न सकिनँ । सुरु सुरुमा विद्यार्थीहरूलाई पढाउन सिकाउन कति जाँगर चल्थ्यो । आजकल त जति पढाए पनि त्यस्तै रहेछ भनेर खासै वास्ता गर्दिनँ । कहिलेकाहीँ त ‘पढेर हात्ती ठुलो भएको हो र ?’ पनि भनिदिन्छु । त्यसैले आफूलाई अब वरिष्ठ शिक्षक घोषणा गरिदिउँ जस्तो लागिरहेछ । तल्लारे माइलासित कुरा चुँडालेर म घरतिर लाग्दा ठुलाबडाकै सङ्गत गर्नुपर्ने बुद्धिचानकको अर्को सिलोक पनि झ्वाट्ट आइहाल्यो –
‘जानू बडाकै घरमा असल छ
छोटाकहाँ जानु अयोग्य हुन्छ
वीर सिंहकाहाँ गजमोति मिल्छ
भेटिन्छ स्यालका घर वत्सुपुच्छ ॥’
‘हैन आज हाम्रा स्वामी महाराज त वरिष्ठ बाबाजीको सङ्गत गर्न गए जस्तो छ है ! सिलोक गुनगुनाउँदै आउनुभा’छ त ।’ मेरी वरिष्ठ धर्मपत्नीले मेरो एकाग्रता भङ्ग गरिदिइन । आफू मात्र कति वरिष्ठ बन्न खोज्नु । लौ आजैदेखि श्रीमतीलाई पनि वरिष्ठताको दर्जा दिइहालौँ न, के फरक पर्छ र । विवाह गरेको अढाई दशक बितिसक्दा पनि मैले उनलाई वरिष्ठ श्रीमतीको दर्जा दिन किन कन्जुस्याइँ गरुँ ?
०००
२०८१ वैशाख १ गते
फोक्सिङ, गुल्मी
Subscribe
Login
0 Comments
Oldest







































