साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रज्ञाको मौसम

मलाई एक मोडल ठान्नोस् । यस्तो छ, यो मोडलको हालत ! यस्तोको लुलो टाइप कमजोर हातमा मुलुकको साहित्य, कला, संस्कृति आदि सुम्पे के हुन्छ ? जेसुकै होस्, मलाई जसरी भए पनि प्राज्ञ हुनुछ । नेपाल प्रज्ञा-प्रतिष्ठानको लोभलाग्दो कुर्सीमा पुग्नुछ ।

Nepal Telecom ad

यो कुन समय हो ? १४ गते चैत महिना वि.सं. २०७० साल । होइन, मेरो मतलब कुन मौसम हो ? वसन्तको मौसम हो यो । ऋतुराज वसन्तको मौसम । यतिले पनि कुरा स्पष्ट भएन जस्तो छ । म एक साहित्यिक फाँटको व्यक्ति भएकोले सोही अनुरुप भन्छु- यो प्रज्ञाको मौसम हो । अझ प्रज्ञा-प्रतिष्ठानको मौसम हो । नेपाल प्रज्ञा-प्रतिष्ठान, कमलादी, काठमाडौं, नेपाल । कसरी ?

यो अगाडि खुल्नेछ ।

मुलुकमा निर्दलीय खिलराज रेग्मी सरकार गएर दलीय सरकार आएको छ । यो सरकारमा दुई ठूला दल सामेल छन् । नेपाली काँग्रेस पार्टी र नेकपा एमाले । अब धमाधम नयाँ नियुक्ति हुने पक्का छ । सरकारी नियुक्ति । कुनै पनि सरकार आइसकेपछि सबभन्दा पहिले गर्ने काम नै यही हो । आफ्ना नजिकका नातेदार, साथीभाइ, कार्यकर्ता, पिछलग्गु, सेवक आदिलाई ठाउँ-ठाउँमा फिट गर्नु । जस्तै- नेपाल वायुसेवा निगम, नेपाल आयल निगम, नेसनल ट्रेडिङ लिमिटेड, राष्ट्रिय बिमा संस्थान, नेपाल चिया विकास निगम, राष्ट्रिय वाणिज्य बैंक, नेपाल राष्ट्र बैंक, सहकारी विकास बोर्ड, चलचित्र विकास बोर्ड, राष्ट्रिय नाचघर संस्थान, नेपाल खेलकुद परिषद, जनक शिक्षा सामग्री केन्द्रर, त्रिभुवन विश्वविद्यालय, टिचिङ हस्पिटल, नेपाल विज्ञान प्रतिष्ठान, नेपाल प्रज्ञा-प्रतिष्ठान इत्यादि ।

अहिले यस्तै नियुक्तिको मौसम हो । यसैलाई साहित्यकरण गरेर साहित्यिक भाकामा प्रज्ञाको मौसम भनेको हुँ । संयोगले कमलादीस्थित नेपाल प्रज्ञा-प्रतिष्ठानमा कुलपति, उपकुलपति, प्राज्ञ आदिका कुर्सी खाली रहेका छन् । एक-दुई जनाचाहिँ त्यहाँ किन चपक्क टाँसिएर बसिरहेका छन्, यो बुझिनसक्नु छ । यसबारे प्राविधिक कारण बताइन्छ । ती प्राविधिक प्राज्ञ हुन् । जे होस्, नेपाल प्रज्ञा-प्रतिष्ठानको उनान्सय प्रतिशत ठाउँ भरिन बाँकी छ । त्यतैतिर मेरो एकजोर आँखा गएको छ । म पनि एक साहित्यकार हुँ । नेपाली साहित्यकार माझ एउटा वाक्य निकै चलेको छ- “राज्यले हामीलाई केही दिएन ।” यसमा अलिक हेरफेर गरेर “हामीलाई” को ठाउँमा “मलाई” गर्नुपर्छ । हो, राज्यले मलाई केही दिएको छैन । अब दिने बखत आएको छ ।

हामीकहाँ थरीथरीका साहित्यकार छन् । छायावादी साहित्यकार, स्वच्छन्दतावादी साहित्यकार, प्रकृतिवादी साहित्यकार, अध्यात्मवादी साहित्यकार, फ्रायडवादी साहित्यकार, प्रगतिवादी साहित्यकार, उत्तरआधुनिकतावादी साहित्यकार, शून्यवादी साहित्यकार, विसङगतिवादी साहित्यकार इत्यादि । यसमा नयाँ वादी थपिएको छ । दलवादी साहित्यकार । दलवादी साहित्यकार अन्तर्गत नेपाली काँग्रेस साहित्यकार, नेकपा एमाले साहित्यकार, एमाओवादी साहित्यकार, राप्रपा नेपाल साहित्यकार, राप्रपा साहित्यकार, मधेसी फोरम साहित्यकार पर्छन् । एकाध नेकपा सीपी साहित्यकार पनि छन् । मैले भेटेको छु । कुनै दलको नभएर अब साहित्यकार हुन गाह्रो छ । कम्तीमा नेमकिपासम्मको साहित्यकार भए पनि हुन्छ । नत्र साहित्यमा काम चलाउन सकिँदैन ।

कुनै समयमा म नेकपा एमालेको साहित्यकार थिएँ । अहिले छु या छैन, यसलाई सस्पेन्समै रहन दिनोस् । यो सस्पेन्सबाट ठिक्क मौकामा पर्दा हट्नेछ । मलाई कुनै हतार छैन । अरु केही नभए पनि म एक पुरानो एमाले साहित्यकार त जरुर हुँ । भूतपूर्व एमाले साहित्यकार । यो पनि के कम हो ? त्यसैले नेकपा एमालेतिर मैले लोभ-लालचले भरिएको आँखाले हेर्न मिल्छ ।

नेकपा एमालेसँग आफ्नै खाँट्टी साहित्यकार नभएको होइन । उदाहरणका लागि दुई प्रदीपहरूलाई अघि सार्न सकिन्छ । एक, कमरेड प्रदीप नेपाल र अर्को कमरेड प्रदीप ज्ञवाली । पहिलो प्रदीप कमरेड प्रदीप नेपाल एमालेका ठूला साहित्यकार हुन् । उनले के लेखेका छन् भन्ने भन्दा पनि केचाहिँ पो लेखेका छैनन् भन्ने गरिन्छ । भर्खरै एक उपन्यासको उपप्रधानमन्त्री कमरेड वामदेव गौतमले विमोचन गरेका छन् । कुनै बेला कमरेड प्रदीप नेपालले कमरेड वामदेवलाई टुँडिखेलको खुलामञ्चबाट “भ्रष्टाचारी नम्बर एक” भनेर घोषणा गरेका थिए । अहिले आफ्नो किताबको उनैबाट विमोचन गराइरहेका छन् । यो “यो दुई नम्बरी भ्रष्टाचार” भएन र ? होइन, सायद उपन्यासको प्लट भ्रष्टाचारसम्बन्धी होला । मैले पढ्न भ्याएको छैन । अब पढ्नेछु ।

कमरेड प्रदीप नेपाल एमालेका ठूला साहित्यकार हुन् । अर्का प्रदीप कमरेड प्रदीप ज्ञवाली पनि एमालेका साना साहित्यकार होइनन् । उनको साहित्यबारे एमाले बाहिरकालाई त्यति थाहा छैन । भ्यागुता जाति शीतकालमा जमिनमुनि महिनौं भूमिगत रहन्छ । यस्तै कमरेड प्रदीप ज्ञवालीको भूमिगत साहित्यिक नाम हो- शीतबिन्दु । मैले भ्यागुतासँग कमरेड प्रदीप ज्ञवालीलाई दाँज्न खोजेको होइन । अहिले उनी “भ्यागुते हाइबरनेस” मा छैनन् । शीतबिन्दु उर्फ कमरेड प्रदीप ज्ञवाली एमालेका ठूला साहित्यकार हुन् । म उनलाई मान्छु ।

नेकपा एमालेमा यस बाहेक पनि अन्य ठूला साहित्यकार छन् । यसको अध्यक्ष कमरेड झलनाथ खनाल पनि एक साहित्यकार हुन् । कविवर जेएन हिमाली । यही उनको साहित्यिक उपनाम हो क्यारे ! कमरेड झलनाथ खनाल एमालेका पदेन ठूला कवि हुन् । त्यसैले मेरा निम्ति त उनी महाकवि नै हुन् । महाकवि अध्यक्ष कमरेड झलनाथ खनाल । केही महिना अघि कवि स्नेह सायमीको अगुवाइमा केही युवाकवि कमरेड झलनाथलाई कविता सुनाउन उनको डल्लु, चागलको घरमा गएका थिए । कवि झलनाथले ती कविहरूलाई घन्टौं आफ्नो कविता सुनाएर पठाइदिए ।

मैले यहाँ नेकपा एमालेका ठूला साहित्यकारहरूका सविस्तार उल्लेख किन गरेको हुँ भने यिनीहरूले सिफारिस नगरेसम्म नेपाल प्रज्ञा-प्रतिष्ठानको प्राज्ञ हुन सकिँदैन । अझ कमरेड माधवकुमार नेपाल, कमरेड खड्गप्रसाद शर्मा ओली, कमरेड वामदेव गौतम, कमरेड ईश्वर पोखरेलजस्ता नेकपा एमालेका ठूला असाहित्यकारहरूका सिफारिस लिनसके झन् राम्रो ! विना सिफारिस नेपाल प्रज्ञा-प्रतिष्ठानको प्राज्ञ हुनेतिर फिटिक्कै नसोचे हुन्छ । भानुभक्त आचार्य, लक्ष्मीप्रसाद देवकोटा र गोपालप्रसाद रिमाल जिउँदा भएका भए पनि प्रतिष्ठानको प्राज्ञ हुन सिफारिस चाहिने थियो । चाहे नेपाली काँग्रेस पार्टीको होस् अथवा नेकपा एमालेको । कुनै एक दलको तगडा सिफारिस भानुभक्तहरूलाई पनि नभई नहुने थिएन ।

म जस्तो साहित्यकारको के कुरा ? त्यसैले कुनै पनि ठूला साहित्यिक-असाहित्यिक एमाले कमरेडलाई सामुन्ने देख्नासाथ मलाई के हुन्छ-हुन्छ ! एक्कासी अघि बढेर खुट्टा नै समातूँ जस्तो लाग्छ । होइन, के भएको हो यो, मजस्तो एक इमानदार साहित्यकारलाई ? असलमा म एक प्रतिनिधि पात्र हुँ । नेपालको कम्युनिस्ट पार्टी र प्रगतिशील साहित्यिक आन्दोलनले मिलेर जन्माएको । मलाई एक मोडल ठान्नोस् । यस्तो छ, यो मोडलको हालत ! यस्तोको लुलो टाइप कमजोर हातमा मुलुकको साहित्य, कला, संस्कृति आदि सुम्पे के हुन्छ ? जेसुकै होस्, मलाई जसरी भए पनि प्राज्ञ हुनुछ । नेपाल प्रज्ञा-प्रतिष्ठानको लोभलाग्दो कुर्सीमा पुग्नुछ ।

त्यसैले नेकपा एमालेका सिफारिसकर्ता ठूला कमरेडहरूकाे जय होस् ! कृपया मलाई नेपाल प्रज्ञा-प्रतिष्ठानको कुलपति र उपकुलपतिमध्ये एउटा बनाउनोस् । यो नभए सदस्य सचिव बनाउन सकिन्छ । थोरैमा साधारण सदस्यसम्म त बनाउनैपर्छ । नेकपा एमाले जिन्दावाद ! हो, यो के भएको हो कविजी ? म आफैंतिर हेरेर हाँस्दै भन्छु- यो त पूरै व्यक्तिवाद भएन र ? भए होस् । माक्र्सवादभन्दा व्यक्तिवाद ठूलो हुन्छ । यो एकपटक फेरि प्रमाणित भएको छ ।

मलाई बेलाबखत यस्तो सोध्ने गरिन्छ- “के तपाईं नेकपा एमालेको साहित्यकार हो ?” यसको जवाफ सिम्पल छ । म आफ्नो ओँठमा एउटा चतुर खालको छली मुस्कान ल्याएर भन्ने गर्छु- “नेकपा एमालेले मलाई सिफारिस गरी नेपाल प्रज्ञा-प्रतिष्ठानमा लगे म एमाले साहित्यकार हुँ । यदि त्यहाँ नलगेको खण्डमा एमाले साहित्यकार होइन ।”

०००
‘कान्तिपुर’ २०७१ जेठ ९

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आलुको नाक

आलुको नाक

विमल निभा
आलुको नाक

आलुको नाक

विमल निभा
कुखुरी काँ

कुखुरी काँ

विमल निभा
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x