सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

चिबे-नकटोलाई कन्याउँदा

प्रस्तुत कृति पढ्दै गर्दा एक प्रकारले समाजमा कतिपयले भन्न चाहेर, गर्न चाहेर पनि नसकेका विषयको प्रतिविम्ब प्रतीत भएको पाइन्छ । यस कृति जति हास्यव्यङ्ग्यले पूर्ण छ त्यति नै बोधगम्य पनि छ । सरल तर गहन र सजीव लेखन पोखरेलको विशेषता हो ।

Nepal Telecom ad

खेमनाथ दाहाल :

एकाबिहानै कृतिकार दाजु लेखनाथ पोखेलले- ‘भाई ! चिबे-नकटोको पाण्डुलिपि तयार भयो भनेर फोन गर्नुभयो । मैले खुसी हुँदै तुरुन्त बधाई दिएँ र भनेँ- ‘ल, कोरोना सोरोनाले बाँच्ने-मर्ने टुङ्गो छैन, चाँडै छपाउन पर्छ ।’ उहाँले हाँस्दै भन्नुभयो- ‘छाप्ने कुरा त भाइको हातमा छँदैछ, भाइले कति दिन लगाउने आफैँ टुङ्गो गर्नू !’ उहाँको यो भनाइमार्फत मैले छनक पाएँ- उहाँले आफ्नो अडान छाड्नुभएको छैन । उहाँको पहिलो कृति फकलीको गाउँ (नियात्रा- सङ्ग्रह, २०७८) को भूमिका लेखेपछि दोस्रो कृति मार्बल हाउसकी शालिनी (कथा-सङ्ग्रह २०८७) को भूमिका नलेख्ने भन्दाभन्दै पनि अन्ततः दाजुका अगाडि मेरो केही लागेको थिएन । यो कृति चिबे-नकटोको छपाइको कुरा उठ्दादेखि नै दाजुलाई दुई-चारजना साहित्यकारको नाम सुझाएर भूमिकाको लागि अनुरोध गरौँला भनेको थिएँ । तर उहाँले तिमीले नै लेख भन्नुभयो । मैले ‘पूर्वप्रकाशित कृतिमा लेखिसकेकोले नलेखौँ’ भनेँ । मित्र भाइ कृष्ण भुसालजीले पनि मेरो अनुरोधमा ‘सबै कृतिमा एकैजनाले लेख्नुभन्दा यसमा पृथक् विचार राख्न पाए अझ राम्रो हुन्थ्यो भनेर कुरा राख्नुभयो तर लेखकले आफ्नो अडान छाड्नुभएन । अन्ततः मैले लेख्नै पर्ने भयो । नचाहँदानचाहँदै लेख्न थालेँ तर लेख्तै गर्दा सात-आठ महिनाको अन्तरालमा तीनै विधाका कृतिमाथि भूमिका लेख्न लगाएर दाजुले मेरो लेखाइलाई परिस्कृत पार्ने अवसर त दिनुभएको होइन ? भन्ने भाव उत्पन्न भयो र म दाजुप्रति अनुगृहीत बन्न पुगेँ । यो अवसरको लागि मनमनै धन्यवाद दिँदै लेख्न अग्रसर भएँ ।

हास्यव्यङ्ग्य एकै शब्दजस्तो लाग्ने यी पृथक् शब्द भए पनि कताकता हामीलाई अन्योन्याश्रित सम्बन्ध भएको शब्दको अनभूत हुन्छ । तर, यी दुई शब्द सुन्दा एकै शब्द अनुभूत भए पनि हास्य र व्यङ्ग्य यी शब्द भने पृथक् हुन् । साहित्यमा हास्य रस हो भने व्यङ्ग्य उसँग जोडिएर आउने व्यञ्जना हो । हास्यमा मानवीय विकृतिबाट हासो उमार्ने काम गरिन्छ भने व्यङ्ग्य एक प्रकारले अर्कालाई दुःखी बनाउन, नीच देखाउन घोचपेच गर्न वा विपरीतार्थ बोधक भाव प्रकट गरिने शब्द हो । हास्य स्वतन्त्र शब्द हो भने व्यङ्ग्य हास्यमा मिश्रित भएर आउने शब्द हो । भरतमुनिको कथनअनुसार रसको प्रादुर्भाव वेदसँग गाँसिएको छ । हास्यरसको विष्लेषण गर्दै उनी हास्यलाई पनि दुई भागमा विभक्त गर्छन् आत्मस्थ र परस्थ भनेर । मुनिको कथनअनुसार आत्मस्थ भनेको स्वयं हाँस्नु हो र परस्थ भनेको अर्कालाई हँसाउनु हो । यसको प्रष्ट व्याख्या गर्न उनले रङ्गमञ्चको उदाहरण दिँदै विदूषकको हँसाइ र नाटक हेरिरहेकी नारीको हँसाइको उपमा दिएका छन् ।

हास्यरसका सन्दर्भमा साहित्य-दर्पणमा ‘हास्यो हासस्थायिभावः श्वेतः प्रमथदैवतः’ अर्थात् हास्यरस हास्य स्थायीभावका लागि मात्र हुने गहन अर्थ नहुने हुनाले श्वेत अर्थात् सत्यवाणी (शुद्ध उच्चारण) नै पहिलो देवता हो भनेर भनिएको छ । व्यङ्ग्य व्यञ्जनामार्फत प्रकट हुने हुनाले जब हास्य मा व्यङ्ग्यको मिश्रण हुन्छ तब यो आफैँमा ओजपूर्ण बन्दछ । हुन त हास्यव्यङ्ग्यलाई कतिपयले ठट्टा र रमाइलो रूपमा लिने गर्दछन् भने कतिले कसैलाई गाली गर्ने साधनका रूपमा ग्रहण गर्दछन् तर यो निर्मल पानीमा देखिने छायाजस्तो समाजको यथार्थको प्रतिविम्ब हो । समाजले व्यक्त गर्न नसकेका यथार्थतालाई उजागर गर्ने एउटा पहरेदार र कसौटी पनि हो । व्यञ्जना भन्नु विचार, भाव प्रकट गर्ने प्रभावशाली शैली नै हो ।

नेपाली साहित्यको इतिहास हेर्दा एघारौँ शताब्दीदेखि प्राचीन नेपाली भाषाको सुरुवात भएको देखिए पनि यसको आरम्भ भने लगभग दुई सय पचास वर्षअगाडिदेखि मात्र गतिशील भएको देखिन्छ र एकीकरणपश्चातका पृथ्वीनारायण शाहको दिव्योपदेश (१८३१) भानुभक्तको हितोदेश मित्रलाभ (सं.१८३३) शक्तिवल्लभ अर्यालद्वारा संस्कृतमा लिखित र पछि नेपालीमा अनुदित हास्यकदम्भ (वि.सं. १८५५) आदिलाई नै यसको प्रस्थानबिन्दु भनिन्छ ।

यस कृतिका रचनाकार लेखनाथ पोखरेलको जन्म २००४ साल चैत्र २ गते खोटाङ जिल्लाको रावा खार्पामा माता रमादेवी र पिता कृष्णप्रसाद पोखरेलका नौ सन्तानमध्ये माहिलो छोराका रूपमा भएको हो । २०२५ सालदेखि २०६२ सालसम्म निजामती सेवामा ओभरसियर र इन्जिनियरको पदमा रहेर नेपालका ७० भन्दा बढी जिल्लाको भ्रमण गरिसकेका लेखककले आफ्ना बाल्यकालदेखि आजपर्यन्त देखेका भोगेका तर समाजमा दम्भीत विसङ्गती र बेथितीहरूलाई यस कृतिमार्फत प्रकट गरेका छन् । कृतिकारका रूपमा नयाँ देखिए पनि विभिन्न पत्र-पत्रिकाका माध्यमबाट पाठकबीचमा भने परिचित नाम हो, लेखनाथ पोखरेल । उनका कथा, नियात्रा र परिस्थितिजन्य व्यङ्ग्यात्मक लेख-रचनाहरू मिलाप मासिक, हिमालय टायम्स दैनिकलगायतका विभिन्न पत्रपत्रिकामा चार-पाँच वर्षदेखि नियमित रूपमा प्रकाशित भएका देखिन्छन् । भरखरै मात्र फकलीको गाँउ नियात्रा-सङ्ग्रह लिएर नेपाली साहित्याकाशमा भुल्किएका लेखनाथ पोखरेलले कथा विधाको मार्बल हाउसकी शालिनी नयाँ कथा कृतिका रूपमा प्रकाशमा ल्याइसकेका छन् । केवल छ महिनाको अन्तरालमा दुई कृति पस्केका पोखरेलका पुनः यो कृति चिबे-नकटो नयाँ विधामार्फत कृतिका रूपमा भुल्कँदै छन् नेपाली साहित्यिक जगत्मा । हिजो उनको पहिलो कृति फकलीको गाउँले उनलाई नियात्राकारका रूपमा साहित्यको क्षेत्रमा प्रस्तुत गरेको थियो भने दोस्रो कृति मार्बल हाउसकी शालिनीले उनलाई कथाकार व्यक्तित्वका रूपमा प्रस्तुत गरेको थियो । अब यस कृतिले उनलाई हास्यव्यङ्ग्यकारको रूपमा नयाँ परिचय दिएको छ । उनका व्यङ्ग्यात्मक लेख, कथा र नियात्रा पढ्दा उनमा कथा, नियात्रा र हास्यव्यङ्ग्यका विधा (अन्तर्विधा)को त्रिवेणी झिल्को पाइन्छभन्दा अतिशयोक्ति नहोला ।

अहिले नेपाली साहित्याकाशमा जिउने क्रममा आफूले देखेका, भोगेका, अनुभूत गरेका कुरालाई समेटेर जीवनी, स्मरण, हास्यव्यङ्ग्य आदि प्रकाशित गर्ने प्रचलन शृङ्खलाबद्ध रूपमा बढेको छ । त्यसमा पनि राष्ट्रसेवक कर्मचारीको बीचमा होड नै चलेको आभास हुन्छ कृतिहरूको प्रकाशन हेर्दा । प्रकाशित कृतिहरू हेर्दा कतिपयमा राजनैतिक, सामाजिक विकृतिका कारण बाध्य भएर हिजो आफूले भोग्नुपरेका कुकृत्यहरूले पोलेर त्यस पोलाइलाई शमन गर्नका लागि कृतिकार/लेखक बनेको छनक पनि पर्याप्त पाइन्छन् । यस कृतिभित्रका केही व्यङ्ग्य पढ्दै गर्दा लेखक पोखरेलले पनि हिजो आफू सरकारी जागीरमा बस्ताको पीडा त पन्छाएका होइनन् भन्ने आभास हुन्छ कता कता ।

यस हास्य-निबन्ध कृतिमा उनन्तीस गुच्छाको शीर्षकमा समेटिएका गुच्छाहरू रोचक र सारगर्भित छन् । लेखकका कृतिहरूको विष्लेषण गर्ने क्रममा मुख्यतः निम्न चार सन्दर्भमा टेकेर लेखकले रचना तयार पारेको देखिन्छः

१. जागिर सन्दर्भ,
२. बाल्यकाल सन्दर्भ,
३. सामाजिक सन्दर्भ,
४. अन्य विविध सन्दर्भ ।

‘हस् हाकिमसाब’, ‘बाफरे बाफ’, ‘मेरा गुरु साह्रै सिपालु आदि हास्यव्यङ्ग्यहरू लेखकका जागिरको पृष्ठभूमिबाट तयार भएको आभास लेखमा छरिएको छ । ‘हस् हाकिमसाब ।’ लेखमा ‘टूच्च’ तान्ने कुरामा त मलाई कुनै समस्या थिएन । तर मन्त्रालय र विभागबाट आउने मन्त्री, टाउके हाकिम र उनका चम्चाहरूलाई रिझाउनको लागि भने म सधैँभरि फत्र्र्‍याक-फत्र्र्‍याक पर्ने गर्थे । साँझ पर्न नपाउँदै काठमाडौंका गल्लीको भट्टीमा छिरेर ठर्रा दन्काउने माथिका भनिने हाकिमको जिल्लामा पुग्दाको फाइँफुट्टी सानो हुँदैन । जिल्ला टेक्ने बित्तिकैदेखि खुट्टा नबटारिउन्जेलसम्म तिनले तान्नुपर्ने महँगो स्कच र ८/१० परिकार मासुको व्यवस्था मिलाउनुपर्ने बाध्यताले जिल्लाको हाकिम बनेको मेरो मथिङ्गल र गलफुलो चर्किने गन्थ्यो । होटेलमा जम्मा भएका बीसजना धतुङ्गाहरूको हुलले दिउँसो दुई बज्दासम्म मासु र ड्राइफ्रूटसँग स्कच स्विस्की र बियर त कति धोके कति । हिसाब नै भएन । यति धोकेपछि मन्त्रीदेखि कार्यकर्ता र हाकिमसम्म सबैको खुट्टा र जिब्रो लड्खडाउनु, लर्बराउनु स्वाभाविक थियो । “त्यस्तै भयो । दुई बजे खानाखाने तयारी गर्दासम्म मन्त्रीजीलाई बोकेर गाडीमा हाल्नुपर्ने अवस्था आइलाग्यो । लर्‍याङ र बर्‍याङ गर्ने हाकिमलाई डोर्‍याएर गाडीसम्म पुर्‍याउन तीनजनाले तीनतिरबाट टेको लगाएझै थाम्नुपरेको थियो (पोखरेल पृष्ठः २९, ३१) ।

देश भ्रष्टाचारमय छ भन्ने कुराको एउटा ज्वलन्त प्रमाण पढ्दा रोचक भए पनि मन भने अवश्य घोच्छ पाठकको । देशको उल्फन देशको समस्याका रूपमा विकसित भइरहेको अराजकतामा मुख्य रूपमा मन्त्रीदेखि ठूला कर्मचारी कसरी लिप्त छन् ? यसको नमूनाको रूपमा यो आलेखलाई आत्मसात गर्नुपर्ने हुन्छ । यो अहिलेको तितो सत्यलाई व्यङ्ग्य गरेझै गरेर सायद आफ्नै मनको तिक्तता पोख्न हो कि साविति बयानकै भाकामा पोखेका छन् लेखकले । यथार्थमा यसरी अव्यक्त कुरालाईलाई व्यङ्ग्यमार्फत पोखेका लेखकले भ्रष्टाचारको विलुप्त पारिने विम्बलाई ऐनामा देखाएका छन् ।

‘कुराउनीको कोसेली, सिँगटीघरको रेडियो’, ‘भाइचा’ चिबे- नकटोलगायत अन्य केही शीर्षकका व्यङ्ग्य लेखहरूमा सामान्य हिसाबले बाल्यकालमा गरिने उट्पट्याङ कर्महरू पछि आफैँमा हास्यस्पद हुन पुग्दछन् र कतिपय संवेदना भएर पनि व्यङ्ग्यमा परिणत हन पुग्दछन् भन्ने प्रयोगलाई नै विषयवस्तुका रूपमा प्रस्तुत गरेका छन् । कतिपय कृतिमा लेखहरू स्मरण आलेखजस्तो लागे पनि त्यसलाई लेखकले हास्यव्यङ्ग्य बनाएर सिँगार्ने प्रयत्न गरेका छन्- चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी भनेझैँ बैनीको कोसेली तह लगाउन भान्सामा छिरेको म भारु सिरियलको प्रतापले नभन्दै राम्रो भान्सेमा पो परिणत भएँ । मैले भान्साको जिम्मा लिएपछि बुढीमाउ खुसी नहुने कुरै भएन । हाइसञ्चोका दिन आएको कुरा बुझेर भित्र-भित्र दङ्ग परेकी उनको समय आराम गर्ने र सिरियल हेर्नेमा बित्न थालेको थियो (पोखरेल पृष्ठः ५३-५४ ) ।

कृतिमा केही व्यङ्ग्यमार्फत लेखकले वर्तमान परिप्रेक्ष्यमा समाजमा भइरहेको बेथिति र भाँडभैलोप्रति असन्तुष्टी प्रकट गर्न गुल्टनहरू जस्ता पात्रलाई अघि सारेर समाजमा फैलिएको त्यस्ता विकृति र विसङ्गतीको फण्डाफोर गरेका छन् । साक्ष्यको रूपमा उनको भनाइ यहाँ पस्कँदा उचित नै होला- “मैले बीस वर्षअगाडिका उसका सबै कृत्य र उपनामहरू बिर्सिएझै गरी सोधेँ- ‘के गर्छौ भाइ आजकल ?’ उसले तत्काल जबाफ दियो- ‘प्रेत लेखकको पर्यायवाची भएको छु दाइ म आजकाल । मैले केही बुझिनँ । त्यसैले फेरि सोधेँ- ‘त्यो भनेको के ?’ उसले हाँस्दै भन्यो- ‘दाइ, यो देशको परिपाटीबाट निकै टाढा हुनु भएजस्तो छ । काठमाडौंमा बसेर जिगोलो र प्रेत लेखक (Ghost Writer) को बारेमा थाहा नहुनु भनेको त अनौठो कुरा मानिन्छ आजकल ।’

ऊ रक्सीले मात्तिन लागिसकेको थियो । मेरो कुरा सुनेर मज्जाले हाँस्यो र भन्यो- ‘दाइ, यो देशमा धन कमाउने भनेका ४/५ थरी मान्छे मात्रै छन्- भन्दै औंला भाँची-भाँची मलाई गिन्ती सुनाउन थाल्यो । ‘एक नम्बरमा, चौबीसै घण्टा आँ… गरेर मुख खुलै राखेर बस्ने घोरमुखा नेता । दोस्रोमा, त्रिभुवन विमानस्थलमा सुन खान पल्केका छाडा साँढे । तेस्रो नम्बरमा प्रेतलेखक । चौथोमा जिगोलो । यो देशमा यिनीहरूबाहेक कसैले पनि मोजमस्तीसहितको सजिलै रुपैयाँ कमाउन सक्दैनन् । (पोखरेल पृष्ठः ३७, ४१ ) ।

समाजको विकृतिको सन्दर्भमा उनको चोटिलो प्रहार पण्डितजीको पटियाला पेग पनि हो । यो लेखले फार-फारु गरेर कपटरहित व्यङ्ग्यको आस्वाद चखाउन पुग्दछ । यसप्रकार पण्डितजीको पाण्डित्यबाट- कक्टेलको पहिलो घुट्को पेटमा छिरेसँगै एक पटक उनले पानी छम्केर पर्सिएको बोकोलेकै छन्मन गर्दै आफ्नो मुन्टो बेस्सरी हल्लाए । त्यसपछि भने- ‘स्कच रहेछ, गजब भइहाल्यो नि । यस्ता खानपिनको बास्ना निमोठ्नको लागि त मसँग माउथ स्प्रे र चुइगम छँदैछ नि !’ खप्पिस रहेछन् पण्डितजी । त्योसँगै सुरू भएको थियो उनको हँसिलो र रसिलो प्रवचन ।’ (पोखरेल पृष्ठः २११ )

यस कृतिमा समावेश भएका पोखरेलका अन्य हास्यव्यङ्ग्यहरूः भाउँतो पो आइलाग्यो, बाफ रे बाफ !, दशा बिग्रिएपछि !, दोषी सपना, सुर्तीको फुर्ती ।, वैशाखनन्दनका कथा, अब बाजे भने फरक पर्दैन, रानीमत्ताको लेक, पुर्पुरोमा हात, सगोत्रीको मोह !, प्रवृत्ति, म त ट्वाँ परेँ नि । म बुढो भएँ अरे !, साहेब ध्यानमा होइसिन्छ, नबल्किएको च्याँखे, व्योमवाला, टाइमपास, सम्पन्न नेपाली, कोरोनाकाललाई केलाएर हेर्ने हो भने चकलेट मुखमा हालेर बस्ता मुखमा मन्दमन्द मृदु स्वादले आल्हादित बनाए खित्का छोडी छोडी हँसाउने खालका नभए पनि सम्फिसम्झी मन्दमुस्कानमा रुमलिने अवस्था भने अवश्य सिर्जना हुन्छ ।

अन्त्यमा, यस कृति चिबे-नकटोका लेखक लेखनाथ पोखरेलले आफ्ना बाल्यकालदेखि आजसम्म उनले व्यहोरेका अनुभूत र समाजभित्रका विकृति र विसङ्गतिलाई हास्यव्यङ्ग्यका मालामा उनेर यो कृति तयार पारेका छन् । प्रस्तुत कृति पढ्दै गर्दा एक प्रकारले समाजमा कतिपयले भन्न चाहेर, गर्न चाहेर पनि नसकेका विषयको प्रतिविम्ब प्रतीत भएको पाइन्छ । यस कृति जति हास्यव्यङ्ग्यले पूर्ण छ त्यति नै बोधगम्य पनि छ । सरल तर गहन र सजीव लेखन पोखरेलको विशेषता हो । समाजमा रहेका रितिथिति र विकृतिको अत्यन्तै सरल भाषा र पठनीय शैलीमा उनले कृतिमा समेटेका छन् । जागिरमा जीवनयापन गरेका कर्मचारीले यति सारपूणर् पठनीय र मननीय कृति पस्किनु आफैंमा स्तुत्य कर्म हो । कृतिको लागि पोखरेललाई धन्यवाद दिँदै उनका प्रकाशोन्मुख अन्य कृतिहरू चाँडै पढ्न पाउने अपेक्षाका साथ यो कृतिको सफलताको हार्दिक कामना गर्दछु ।

०००
९ माघ २०७८

चिबे-नकटो (२०७८)
सनराइज होम्स कोलनी, बालकुमारी ललितपुर, ९

Fitkauli Publication Books comming soon
Nepal Telecom ad