नगिता लेप्चा राईगुठ्का
जब क्यासन्सरले सताउँछ त्यति बेला मात्रै आकाशको राहु पातालको केतु, एक फेर नपरेसम्म कसरी चेतुँ ? उखानले गिजाउँदा मात्र होस खुल्छ । तब मर्ने बेलामा औषधि सेवन गरेर के गर्नु ?

नगिता राई लेप्चा :
खैनी, तमाखु, गाँजा, भाङ, पान, अफिम, चरस, धतुरोलाई पनि हिजोआज गुठ्काले उछिनेको छ । जहीँ पनि हेर्नुहोस्, प्रत्येक मान्छेले आफ्नो गिजा र दाँतको चेपमा राखेर गुठ्काको आनन्द लिइरहेका हुन्छन् ।
गुठ्का भारतमा मात्र बनिन्छ । यो एकप्रकारको धुँवा बेगरको तमाखु हो । अहिले गुठ्का पूरै एसिया महादेशसम्म व्यापक रूपमा प्रयोगमा आएको देखिन्छ । तमाखु, धूलो पारिएको सुपारी, मसाला र अन्यान्य सामग्री मिसाइएर तयार पारिएको हुन्छ । गुठ्कामा निकोटिन र केही हानीकारक, क्यान्सर जन्माउने रसायन मिसाइएको हुन्छ । यो नियमित सेवन गर्दा वा च्याप्ने बानी लागेपछि आँठ, मुख, जिब्रो, घिच्रो बाहेक पनि अन्नप्रणालीमा क्यान्सर हुने सम्भावना देखिन्छ । यसमा गिलास पाउडर (काँचको धूलो) पनि मिसाइन्छ । गुठ्का प्रयोग गर्नेहरूमध्ये धेरैको ज्यान गइसकेको छ ।
कतिले गुठ्कालाई विषालु मान्छन्, हो पनि यो विषालु पदार्थ नै हो । जति नै विषालु भए पनि गुठ्का सेवन गर्ने अधिकांश नै देखिन्छ । गुठ्का यस्तो वस्तु हो गाँस छोड़्न सकिन्छ तर गुठ्का छोड़्न सकिँदैन । गुठ्का छैन भने फिटिफिटि परिन्छ । कतिलाई गुठ्का सेवन नगरी राति निद्रै पर्दैन भने बिहान एक फ्वाँक गुठ्का नच्यापिकन फ्रेस नै हुन सकिँदैन ।
गुठ्काले मित्रता बढाउँछ । बाटामा वा बस वा ट्रेनमा गुठ्का नभए छेवैको सहयात्रीलाई एक फ्वाँक गुठ्का मागेर परिचय बढाइन्छ । गुठ्काले कुनै जात हेर्दैन, कुनै वर्ग हेर्दैन । तलतल मेट्नलाई स्वीपरको हातबाट पनि एक फ्वाँक गुठ्का पाए ज्यान बाँच्छ ।
भन्नु नै हो भने, गुठ्का हाम्रो शत्रु हो । तर पनि यो बिना चल्दैन । गुठ्का हुनैपर्छ । भनिन्छ नि, पायरियाले दाँत खायो, खैनीले दाँत हल्लायो, डाइरियाले भुँडी हल्लायो तर गुठ्काले गिजा भत्कायो कसैले भन्दैनन् । गिजा भत्कोस् कि दाँत… वास्तै छैन गुठ्का गिजा र दाँतको चेपमा हुनैपर्छ । तब मात्र मुड आउँछ । तब मात्र जोश चल्छ । हिजोआज सबैको निम्ति गुठ्का सञ्जीवनी भएको छ । गुठ्का छैन जिन्दगी छैन । एक छाक भात नहोस्, बिरामीको लागि औषधि नहोस्, घरमा प्याज नहोस् कि ग्यास नहोस् तर गुठ्का हुनैपर्छ । भोक भन्दा पनि गुठ्काको तलतलै मिठो ।
गुठ्का आफूसित मनग्गे छ भने भइगयो । अरु केही चाहिँदैन । तर गुठ्का नभए त्यो जस्तो विस्वादको कुरा अरु केही हुनै सक्दैन । गुठ्का छैन भने कस्तो गुठ्का खानु मन लाग्छ । तलतलले फिटिफिटि पार्छ ।
गुठ्का सेवन गर्नु स्वास्थ्यको निम्ति हानिकार हुँदा हुँदै पनि हामी गुठ्का सेवन गर्छाैँ… तर जब क्यासन्सरले सताउँछ त्यति बेला मात्रै आकाशको राहु पातालको केतु, एक फेर नपरेसम्म कसरी चेतुँ ? उखानले गिजाउँदा मात्र होस खुल्छ । तब मर्ने बेलामा औषधि सेवन गरेर के गर्नु ? यसैले म ता भन्छु, गुठ्कादेखि आज नै टाढिएको राम्रो ।
०००
खोलाचन्द फाप्री, जलपाईगुडी (भारत)
Subscribe
Login
0 Comments
Oldest






































