भरत गुरागाइँ बर्बरिकनयाँ क्यालेन्डर
बतास कुनै सुरुङमा छिरेर हराएको हुनेछ वनस्पति झुल्दै-झुल्दै खेलेको हुनेछैन हरियो हराएको हुनेछ बालाहरू झुलेका हुने छैनन् मान्छेहरू मान्छे जस्ता देखिने छैनन् कविले कविता लेख्न छोडेको दिन ।

भरत गुरागाईं बर्बरिक
यो भित्तोमा
पोहोर साल झुन्डिएको क्यालेन्डरबाट
एक-एक गर्दै
दिनहरु झर्दै गए,
हप्ता र महिनाहरु झर्दै गए,
भित्तोमा अडिन नसकेपछि
गए राति क्यालेन्डर नै भुइँमा झर्यो,
हामीले देख्नु पर्नेछ –
यो भित्तोमा आज फेरि
अर्को क्यालेन्डर झुन्डिनेछ ।
अब झुन्डिने नयाँ क्यालेन्डरमा
पोहोर-परारको क्यालेन्डरमा जस्तै
अबोध बच्चाहरुको फोटो राखेर
कुनै स्कुलले गर्नेछ आफ्नो गुणस्तरको विज्ञापन,
अथवा
मिसावट गर्ने कुनै समाजसेवी व्यापारीले
कर छल्ने कुनै नामी उद्योगीले
मर्न बाध्य पार्ने कुनै अस्पतालले
चर्को ब्याज असुल्ने कुनै सहकारीले
रातारात छाप्नेछ रङ्गिन क्यालेन्डर र
पुर्याउनेछ भित्ता-भित्तामा ।
पोहोरजस्तै जागिरेहरुले
रातो थोप्ला भएका
बिदाका दिनहरु गन्नेछन् ,
संघीय सरकारले दिने बिदा
प्रदेश सरकारले दिने बिदा
पालिका सरकारले दिने बिदा
वडा सरकारले दिने बिदा
जात, वर्ण र सम्प्रदायका
छुट्टाछुट्टै बिदाहरुको ठूलो पोको बोकेर
अब अर्को क्यालेन्डर
यो भित्तोमा फेरि झुन्डिनेछ ।
नयाँ क्यालेन्डरका पत्र-पत्र पानाहरुमा
त्यो तिथि र बार
कसैले देख्न सक्ने छैन–
जहाँ…. पर….
अर्कै संसार जस्तो बुझिने
जुम्लाको बच्चालाई ज्वरो आउँदा
सिटामोल खान पाउने दिन
लेखिएको हुनेछैन,
भेरी नदीको किनारमा
जातीय अहमको आगोले पोलेर मारेको
नवराज विश्वकर्माको प्रेमले
न्याय पाउने मिति लेखिएको हुनेछैन,
परिवारबाट दपेटिएर
बृद्धाश्रममा पुग्न विवश
आमा-बा घर फर्किने मिति
लेखिएको हुनेछैन,
न्यायको मेरुदण्ड भाँचेर
जेल परेका अमानवहरु छुट्ने
“गणतन्त्र दिवस” ठुला अक्षरमा
लेखिएको हुनेछ नयाँ क्यालेन्डरमा ।
नयाँ क्यालेन्डरमा
दुर्गमको कुनै बच्चाले स्कुल जाँदा
तुइन चढ्नु नपर्ने दिन
लेखिएको हुनेछैन,
सृष्टि सम्हालेकी भाउजूले
छाउगोठ जानु नपर्ने दिन
लेखिएको हुनेछैन,
भ्रष्ट नेता सत्तामा नपुग्ने
चुनावको मिति लेखिएको हुनेछैन,
परिवार पाल्नकै लागि
किड्नी बेच्न विवश
प्राइभेट हस्पिटलको गेटमा उभिएको
तन्नेरी युवा हाँस्न पाउने मिति
लेखिएको हुनेछैन ।
अनुहारभरि मुजा परेकी आमा
छातीभरि अभिशप्त घाउ बोकेर,
मुटुभरि प्रेम बोकेकी नवयौवना
हृदयभरि पीडाका पिरा सुस्केरा बोकेर
सरकारले कृपासाथ बनाइदिएको
भ्यू टावरमा स्वाँस्वाँ गर्दै चढ्नेछन् र
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा
रातो बाकसमा भरिएर आएको आफ्नो मान्छेलाई
आधामासु मन बोकेर पर्खिनेछन् ।
अहँ नयाँ क्यालेन्डरलाई यो सब
केही थाहा हुनेछैन ।।
०००
मोरङ
Subscribe
Login
0 Comments
Oldest






































